‘महिला र बालबालिकाको मुद्दामा लापरबाही गर्नेलाई कडा कारबाही गर्छु’

नेपालगञ्ज-प्रहरी महानिरीक्षक (आइजीपी) प्रकाश अर्यालले महिला तथा बालबालिकाको मुद्दामा लापरबाही गर्नेलाई निर्दयीपूर्ण कारबाही हुने चेतावनी दिएका छन्। जिल्ला प्रहरी कार्यालय, बाँकेको नवनिर्मित महिला तथा बालबालिका सेवा केन्द्रको उद्घाटन गर्दै आइजीपी अर्यालले नयाँ भवनजस्तै सेवाहरु पनि उत्कृष्ट प्रदान गर्न मातहतलाई निर्देशन दिए। ‘यो भवनको सेवाले पीडितलाई आश र पीडकलाई त्रास हुनुपर्छ, आइजीपी अर्यालले भने ।

आइजीपी अर्यालले पछिल्ला दिनमा महिला तथा बालबालिकाका मुद्दा प्रहरीमा बढी आउने गरेको स्मरण गराउदै प्रहरीमा मुद्दा धेरै आउनुले समाज जागरुकता हुनुका साथै प्रहरीप्रति विश्वासको प्रतिक भएको बताए। ‘पीडितलाई न्याय र पीडकलाई कारबाही गर्न सके अर्का व्यक्ति त्यस्तो कर्म गर्न डराउँछ, आइजीपी अर्यालले भने।

आइजीपी अर्यालले अपराध नियन्त्रणमा नागरिक र प्रहरीको सहकार्य अत्यावश्यक रहेको बताए। ‘नागरिकसँग सहकार्य गरेर मात्रै प्रहरीले अपराध न्यूनीकरण गर्न सक्छ, अर्यालले थपे, नागरिक समाजले पनि गलतलाई गलत र सहीलाई सही भन्न सक्नुपर्छ।’प्रहरी संगठनले सीमित स्रोत र साधनबाट उत्कृष्ट कार्य गर्दै आएको भन्दै आइजीपी अर्यालले यस्ता महिला सेलहरु अत्याधुनिक हुँदा समाजका ६५ प्रतिशत समस्या समाधान हुने बताए ।

नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी) को संयुक्त सहयोगमा महिला तथा बालबालिका सेवा केन्द्र बनेको हो । बाँकेका प्रहरी प्रमुख एसपी टेकबहादुर तामाङका अनुसार, एक करोड ५६ लाख ३१ हजार ७ सय २४ रुपैयामा भवन निर्माणमा खर्च भएको छ । त्यसमध्ये ३७ लाख ३४ हजार ४ सय १८ अर्थात २३.८९ प्रतिशत नेपाल सरकार र बाँकी एक करोड १८ लाख ९७ हजार ३ सय ५ रुपैया एडीबीले सहयोग गरेको छ ।

दुई तले भवनमा पीडित महिला तथा बालबालिकाको अस्थायी आश्रय, किचन, शौचालय, इन्चार्ज आवास, ब्यारेक गरी १७ वटा कोठा रहेका छन् । भवनले एक रोपनी १० आना क्षेत्रफल चर्चेको छ।

महिला तथा बालबालिकाको विषयलाई बढी संवेदनशीलता मान्दै प्रहरी प्रधान कार्यालयले २०५२ साल फाल्गुन ८ गतेदेखि महिला तथा बालबालिका सेल गठन गरी २०६५ सालमा प्रहरी नायव महानिरीक्षक रहने गरी महिला तथा बालबालिका सेवा निर्देशनालय बनाएको थियो।

प्रहरी कार्यालयका अनुसार, शुरुमा पाइलट प्रोजेक्टको रुप्मा डोटी, जुम्ला, बारा, रौतहट र धनुषा जिल्लामा महिला तथा बालबालिका सेवा केन्द्र निर्माण गरिएकोमा हाल बाँके, सुर्खेत, बझाङ, रोल्पा, प्यूठान, गोरखा, तनहुँ, रसुवा, धादिङ, महोत्तरी, सिराह, सप्तरी, सिन्धुली र दोलखा जिल्लामा निर्माण भइसकेको छ।

नवनिर्मित भवनको उद्घाटनसँगै आइजीपी अर्यालले एक दर्जन संघ संस्थाका प्रतिनिधि र आधा दर्जन उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान गरेका थिए। महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधिहरु सम्मानित भएका हुन्।

सो अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापाले नयाँ भवनसँगै पीडितले न्याय र पीडकले उन्मुक्ति नपाओस् भनिन्। संघीय प्रहरी इकाईका प्रमुख एसएसपी महेशविक्रम शाहले पूर्वाधार र साधन स्रोतले सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गरे। आइजीपी अर्यालसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पंकज श्रेष्ठ र डिआइजी पुष्कर रेग्मी नेपालगञ्ज आएका थिए।

चैत १६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्