उमा सिंह स्मृति पत्रकारिता पुरस्कार देशसञ्चारकी दीपा दाहाललाई

दीपा दाहाल।

काठमाडौँ- रिपोर्टस क्लब नेपालले यस वर्षको पत्रकार उमा सिंह स्मृति पत्रकारिता पुरस्कार देशसञ्चार डटकमकी वरिष्ठ संवाददाता एवं संयोजक दीपा दाहाललाई प्रदान गर्ने भएको छ।

रेडियो भेरी, जागरण एफएम सुर्खेत हुँदै काठमाडौंस्थित रेडियो कान्तिपुर र अन्नपुर्ण पोस्ट् राष्ट्रिय दैनिक लगायतमा काम गरिसकेकी दाहाललाई व्यवसायिक पत्रकारिताका माध्यमबाट लोकतन्त्र, शान्ति र सुंसगठित समाज निर्माणमा योगदान पुर्‍याएको भन्दै शुक्रबार १५ हजार रुपैयाँ राशीसहित उक्त पुरस्कार दिने निर्णय गरिएको हो।

नाै वर्षअघि हत्या गरिएकी जनकपुरकी पत्रकार उमा सिंहको सम्झनामा उक्त पुरस्कार स्थापना गरिएको हो।

क्लबले यस वर्षको १ लाख रुपैयाँ राशीको गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर पब्लिकेशनको ‘साप्ताहिक’ का प्रधानसम्पादक सुवास ढकाललाई प्रदान गर्ने निर्णय गरेको छ ।

१ लाख रुपैयाँ राशिकै मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका प्रकाशक एवम् संस्थापक सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गर्ने निर्णय क्लवले गरेको छ।

त्यस्तै, २५ हजार रुपैयाँ सहितको वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार राजधानी दैनिकका कार्यकारी सम्पादक डिल्ली आचार्यलाई प्रदान गरिने भएको छ। पत्रकार शाहलाई सशस्त्र द्वन्द्वकालमा माओवादीले बन्दी बनाई हत्या गरेको थियो।

यसैगरी २५ हजार रुपैयाँकै कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कारका लागि नेपाल पत्रकार महासंघका उपाध्यक्ष एवम् नेपाल टेलिभिजनका सम्वाददाता दिलिप थापा मगरलाई छनौट गरिएको छ।

क्लवले २० हजार रुपैयाँ सहितको कृष्णसेन ईच्छुक स्मृति पत्रकारिता पुरस्कार द हिमालयन टाइम्सका विशेष सम्वाददाता रेवती सापकोटा, सर्वोत्कृष्ट युवा पत्रकारिता पुरस्कार अन्नपूर्ण पोस्ट् दैनिकका बरिष्ठ सम्वाददाता नरेन्द्र साउद, बाबुछिरी फोटो पत्रकारिता पुरस्कार नागरिक दैनिकका फोटो पत्रकार विजय राईलाई प्रंदान गर्ने निर्णय गरेको छ।

१० हजार राशीसहितको उत्कृष्ट युवा पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकका समाचारदाता भउचप्रसाद यादवलाई प्रदान गरिने भएको छ।

पुरस्कार शनिबार क्लबको बीसौं वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजना गरिने विशेष समारोहमा प्रमुख आतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गर्ने छन्।

चैत १६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्