शनिबारदेखि डिपिएल सुरु हुँदै, शुक्रबार ट्रफी सार्वजनिक

धनगढी- शनिबारदेखि धनगढीमा सुरु हुने धनगढी प्रिमियर लिगको ट्रफी सार्वजनिक गरिएको छ। डिपिएलको दोस्रो संस्करणको पुर्वसन्ध्यामा ट्रफी सार्वजनिक गरिएको हो।

खेल हुने संघीय प्रहरी कार्यालयको खेल मैदानमा आज एक कार्यक्रम गर्दै आयोजकले ट्रफी सार्वजनिक गरेको हो। आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाही र सहभागी ६ वटै टीमका कप्तानहरुले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्।

प्रतियोगितामा सहभागी साविक विजेता टीम धनगढीका कप्तान सोमपाल कामी, कञ्चनपुर युनाईटेडका कप्तान विनोद भण्डारी, सिवाईसी अत्तरीयाका कप्तान सुवाश खकुरेल, काठमाण्डौ गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्ल र विराटनगर किंग्सका कप्तान पारस खड्का सहित धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष शाहीले खेल मैदान ट्रफी सार्वजनिक गरेका हुन्।

ट्रफी सार्वजनिक कार्यक्रममा वोल्दै ६ वटै टीमका कप्तानहरुले धनगढी प्रिमियर लिगले नेपाली क्रिकेटको विकासमा योगदान गर्ने वताएका छन्। उनीहरुले नेपालले एकदिवसीय मान्यता पाएपछि पहिलो पटक हुन लागेको सर्वाधिक पुरस्कर राशीको क्रिकेट प्रतियोगिताले नेपाली राष्ट्रिय क्रिकेट टोली बलियो बनाउन सहयोग गर्ने विश्वास समेत लिएका छन्।

यता भोलीदेखि हुने धनगढी प्रिमियर लिग डिपिएलको तयारी पुरा भएपछि त्यसको उद्घाटनको व्यग्र प्रतिक्षा भईरहेको छ । लिगमा सहभागी हुने सवै टोली र टोलीका खेलाडीहरु धनगढी पुगिसकेको छन्।

लिगको दोस्रो संस्करणलाई भोली दिउँसो युवा तथा खेलकुद मन्त्री जगतवहादुर सुनारले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटन खेलमा साविक विजेता टीम धनगढी र काठमाण्डौ गोल्डेन्स भिड्दैछन। टीम धनगढीका कप्तान सोमपाल कामीले घरेलु टोली भएका कारण आफुहरुलाई दर्शकको राम्रो साथ पाईने वताए।

काठमाण्डौ गोल्डेन्स पनि उद्घाटन खेल जितेर सुखद सुरुवातको पक्षमा रहेको छ। टोलीका कप्तान ज्ञानेन्द्र मल्लले सवै खेलाडीहरु फिट भएकोले आफ्नो टिमले जित्ने दावी गरे।

३ करोड लागत अनुमान गरिएको प्रतियोगिता चैत ३० गतेसम्म सञ्चालन हुनेछ।प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख पाउने छन्। तेस्रो हुने टोलीलाई तीन र चौथो हुने टोलीलाई २ लाख नगद दिईने आयोजकले जनाएको छ।

चैत १६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्