विराट गोल्डकपको उद्‌घाटन खेलमा थिम्पू र रिजालको मोरङ भिड्दै

मोरङ- विराट गोल्डकप फुटबल प्रतियोगिताको पाचौं संस्करणको उद्घाटन खेलका लागि भुटानको थिम्पू फुटबल क्लब तयार रहेको प्रशिक्षक जनचुक दोर्जीले बताएका छन्।

स्थानीय महेन्द्र मोरङ क्याम्पसको मैदानमा प्रशिक्षणमा उत्रिएको टोली शहिद मैदानमा हुने उद्घाटन खेलमा शतप्रतिशत नतिजा दिन तयार रहेको उनको दाबी छ।

उपाधि हात पार्ने लक्ष्य सहित प्रतियोगितामा समावेश क्लबले, घरेलु क्लब मोरङ ११ विरुद्ध हुन सक्ने दबावलाई चिर्ने जनाएको छ। प्रतियोगिताको पहिलो खेलमा शनिबार भुटानले घरेलु टोली रिजालको मोरङ ११ को सामना गर्दैछ।

शनिबार मैदानमा उत्रिने क्लबमा भुटानको राष्ट्रिय टोली खेलाडी भने छैनन्। युवा खेलाडीका साथ पहिलो विदेश भ्रमणमा आएको क्लबले खेलाडीको एक्सपोजर र जितलाई प्राथमिकतामा राखेको छ। क्लबको यो पहिलो विदेश भ्रमण हो। यसअघि ड्र्युक स्टार क्लब र ड्रयुक युनाइटेड क्बलले नेपाली भूमिमा प्रतियोगिता खेलिसकेका छन्।

थिम्पू फुटबल क्लब भुटानको युवराज्ञी आइसी यिवाङ पिन्दारिकाले अगुवाइ गरेको क्लब हो। थिम्पू फुटबल क्लब सन् २०१५ मा स्थापना भएको हो। सोही समय भुटानको बी डिभिजनबाट ए मा उक्लिएको क्लबले सोही सिजन २०१५÷१६ मा सम्पन्न ए डिभिजनमा उपविजेता भएको थियो।

मिडफिल्डमा सशक्त रहेको दाबी गरेको क्लब भुटानको राष्ट्रिय लिगको उपविजेता टोली समेत हो। सो समय थिम्पु सिटी एफसीले लिगको उपाधि चुमेको थियो। क्लबले यसअघि थिम्पु बाहिर दुइवर्षअघि सम्पन्न क्वीन्स ट्रफी जितेको थियो।

अर्कोतर्फ मोरङ ११ का प्रशिक्षक पारस चौधरीपनि पहिलो खेलमा जित दिलाएर घरेलु समर्थकलाई उत्साह दिलाउने बताउछन्। दिपक राईको कप्तानीमा मैदान उत्रिने टोलीमा अफ्रिकीमुलका तीन जना खेलाडीलाई समेटिएको छ।

जारी सिजनमा मोरङ ११ ले, पा“चथरमा सम्पन्न फाल्गुनन्द गोल्डकपको उपविजेता र सिमरा गोल्डकपमा सेमीफाइनलसम्मको यात्रा तय गरेको थियो।

शुक्रबार मकालु टेलिभिजनसंग कुरा गर्दै क्लबका प्रशिक्षक जनचुक दोर्जीले आफनो पहिलो प्राथमिकता पहिलो खेलमा घरेलु टोलीलाई पराजित गर्नु रहेको बताएका छन्। दुवैबीच पहिलो पटक भिडन्त हुन लागेको हो।

घरेलु मैदानमा घरेलु टोलीविरुद्ध पहिलो खेलमा हुन सक्ने दबाव बुझेका प्रशिक्षक दोर्जीले शतप्रतिशत नतिजा दिन टोली तयार रहेको बताएकाछन्। टोली युवा खेलाडीले भरिएको बताएका प्रशिक्षक दोर्जीले अनुभवको कमी नरहेको उल्लेख गरे।

भुटानकी युवराज्ञी आइसी यिवाङ पिन्दारिकाको थिम्पू फुटबल क्लब पहिलो पटक अन्र्तराष्ट्रिय खेलमा सहभागिता जनाइरहेको छ।

नेपाली भूमिमा आफूहरुको पहिलो खेल रहेको बताएका प्रशिक्षक दोर्जीले खेलाडीलाई एक्पोजरका लागि पनि महत्वपूर्ण रहेको जिकिर गरे।

चैत १६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्