डिपिएल क्रिकेट आजदेखि, उद्घाटन खेलमा धनगढी र काठमाडौं खेल्ने

काठमाडौं – धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको दोस्रो संस्करण शनिबारदेखि सुरु हुँदैछ । धनगढीको संघीय प्रहरी कार्यालयको मैदनमा खेल हुनेछ । धनगढी क्रिकेट एकेडेमीको आयोजनामा हुन लागेको प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही र सहभागी ६ वटै टोलीका कप्तानले शुक्रबार संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका थिए ।

प्रतियोगितामा टिम धनगढी, कञ्चनपुर युनाइटेड, सिवाईसी अत्तरीया, काठमाडौं गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स र विराटनगर किङ्गसले प्रतिस्पर्धा गर्दैछन् ।

१५ दिनसम्म चल्ने लिगमा सहभागी हुन सबै टोली र खेलाडी धनगढी पुगिसकेको छन् । लिगको शनिबार दिउँसो युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन खेलमा साबिक विजेता टिम चौराह धनगढी र काठमाडौं गोल्डेन्सबिच प्रतिस्पर्धा हुने छ ।

३ करोड लागत अनुमान गरिएको प्रतियोगिता चैत ३० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख पाउने छन् । तेस्रो हुने टोलीलाई तीन र चौथो हुने टोलीलाई २ लाख नगद दिइने आयोजकले जनाएको छ।

चैत १७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्