कविता

छुटिएर बिर्सनेहरु

छुटिएर बिर्सनेहरु

 

विज्ञापन

 

 

आश निराश भए, पराइ खास पनि भए
देख्नलाई त एक्लै देखेको हो सपना
जोडिएर गल्लिहरु, विपना एक सास भए
सँगै बढ्दा नि बाटा, उल्टिए जीवनका पाटा
ए छुटिएर बिर्सनेहरु
यहीँ पर्खौं ! पछाडि त कसरी फर्कौं !

अघि गएकाहरु अघि छन्, पर्खन्नन् ।
पछि भएकाहरु हिँड्न छाडे
आफ्ना सपनाहरु पनि किन्न थाले
यसै गन्तव्य पुग्छन्, सके किन्छन्, नसके बिक्छन् ।
ए मझधारमा छोड्ने साथी
बस्दा बस्दै थाकेको छु
यहीँ पर्खौँ ! पछाडि त कसरी फर्कौँ !

सपना देखेर निदाइयो यही संघार
कोही आएर धकेलिदिए हुने
कोही आएर तानिदिए हुने
तँ अझै छस् ठानिदिए हुने
कसैले आफ्नै मानिदिए हुने
बस्दा बस्दै थाकेको छु
यहीँ पर्खौं ! पछाडि त कसरी फर्कौं !

एकै ठाउँ हुँदा झनै थाकिने रहेछ
विस्तारै विस्तारै भएपनि बढ्नु पर्ने
ओर्लिएका बाटा उक्लनु पर्ने ।
चढ्दा चढ्दै झर्न जान्नुपर्ने
झर्दा झर्दै चढ्न जान्नुपर्ने
म त बस्दा बस्दै थाकेको छु
यहीँ पर्खौँ ! पछाडि त कसरी फर्कौं !

– ऋग्वेद शर्मा

चैत्र १७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्