संगीत : अबिराम यात्रामा शान्ती

अनि बन्यो सम्हाली राख र अरु…

अनि बन्यो सम्हाली राख र अरु…

नेपाली चलचित्रकी पहिलो महिला संगीतकार शान्ती ठटाल । तस्बिर : टंक ढकाल/देश सञ्चार

काठमाडौँ – छर्लङ सचित्र खुल्छन् सबै सम्झनाहरु । बाँचेको जीवनको फेर लामो भइसक्यो । उमेरले धेरै उकालो चढिसक्यो ।

तर यो उकालो सुरु गरेको फेदिको खुड्किलो अझै उस्तै ताजा । मन आलो छ, जीवन पाको बने पनि ।

विज्ञापन

अनुहारको नापनक्सामा धेरै फेरबदल भयो, थपिए धेरै धर्साहरु । चाउरियो केही, तर मनमा न धर्सा परेको छ न चाउरी ।

हिँड्न भर चाहिन्छ, लौरीसँगै साथमा कोही हुनै पर्छ । शरीर न हो आडको खोजी जावानीमै त हुन्छ भने बुढेसकाल त्यो पनि उमेरले ८० नाघ्ने हुँदा भरको खोजी हुनु अस्वभाविक होइन । त्यसमाथि छ हड्डीको समस्या, खिइएको ।

तर मन खिइएको छैन । कतै खैइ पनि लागेको छैन । सग्लो बाँचेको छ, धेरै टुक्रामा बाँडिँदै । सिंगो उभिएको छ, धेरै खुड्किला चढेर पनि । यो सजीव जिन्दगी बाँच्ने हुन्, शान्ती ठटाल ।

मेची पारीकी नेपाली छोरी, अर्थात जन्म घर र नागरिक भारतकी तर मन र त्यसले रोजेको अनि उनमा बाँचेको कर्म नेपाली । नेपाली संगीतको भरिलो, रसिलो फल शान्ती, नेपाली चलचित्रकी पहिलो महिला संगीतकार, शान्ती ठटाल ।

अस्पष्ट आवाज, स्पष्ट सपनाको सुरुवात


देख्दा मुलायम तर केही घुम्रिएको कपाल । सेतो होइन तर गोरो छाला, बाटुलो अनुहार । नाकमा अडिएर आँखालाई भर दिएको चस्मा । तर अनुहारको चमक तेजिलो । अनुहारको चमक जस्तै छ बोल्दाको तेज पनि ।

सारो मन पर्ने संगीत, यसको कुराले पनि तान्छ उनलाई । तर अन्तर्वाता भन्यो कि जीवनकै कठिन काम जस्तो लाग्छ ।

तर यसपटक दार्जिलिङकी नेपाली छोरी (अविवाहित शान्ती बुहारी कैतैकी भइनन्) अभिनन्दित हुन नेपालको सुन्दर शहर पोखरा आएकी थिइन् । थाहा पाएर पुगेको त्यहाँसम्म । सुरुमा आनाकानी गर्दै थिइन्, भन्दैथिइन्, ‘सारो गाह्रो लाग्छ नि मलाई, छोटो है ।’

कुरोको सुरुवात भयो नेपाल पहिलोपटक आएको सम्झनाबाट । उनी सन् १९६५ मा तत्कालीन राजा महेन्द्रको जन्मोत्सवमा गीत गाउनका लागि अरुणा लामा, गोपाल योञ्जन, कर्म योञ्जनसहितका कलाकारसँग पहिलो पटक नेपाल आएकी थिइन् ।

त्यसपछि दार्जिलिङ्गे छोरी शान्तीलाई नेपाली संगीतले झन आफ्नो बनायो । उनी रमाइन्, कहिले यता, कहिले उता दार्जिलिङ । तर रमाउने माध्यम सधैँ एउटै, संगीत ।

यो संगीतसँगको लगाव अहिलेको होइन । ‘मलाई त लाग्छ कि म जन्मौँ जन्मदेखि संगीतमै थिएँ ।’ उनले कुराको मेसो बसाल्दै भनिन्, ‘नत्र भए अरु मैले केही नजान्दा पनि संगीतले तान्थ्यो । खेल्दा पनि म गीत गाउँथेँ ।’

घरमा न रेडियो थियो न अरु कुनै गीत सुन्ने माध्यम । चोक चौतारो, छरछिमेक अनि पसलजाँदा त्यहाँ बजेका गीतले उनलाई तान्थ्यो । सबैभन्दा बढी बाँध्यो लता मंगेशकरका गीतले ।

एकपटक मधुरो वा अस्पष्ट सुनेको गीतको ‘ट्युन’ नपक्डिएसम्म उनको दिमागमा चस्का पसिरहन्थ्यो । अस्पष्ट आवाजलाई स्पष्ट ट्युन समात्ने माध्यम बनाउँदै उनी गीतमा रमाउन थालिन् ।

गाउँघरमा भजनकिर्तन, सभासमारोहमा स्वागत गीत सबैमा उनी अघि सर्न थालिन् । उनलाई पढाई भन्दा गीतले तान्यो । त्यसैले उनको अहिले बाँचेको विपनाको त्यसबेला स्पष्ट सपना बसालेको हो जस्तो लाग्छ उनलाई ।

सुर थाहा थिएन, तर पुगेँ रवीन्द्र भारती विश्वविद्यालय


‘दार्जिलिङको कलामन्दिरमा आबद्ध थिएँ । संगीतको प्रशिक्षण लिएको होइन । तर गीत राम्रो गाउँथेँ होला, सबैले त्यसै भन्थे ।’

संगीतको औपचारिक शिक्षाको सुरुवातको कुरा उप्काउँदै शान्तीले भनिन्, ‘पढ्नमा अलि कमजोर थिएँ, १६ वर्षको हुँदा ८ कक्षामा पुगेकी म । कला मन्दिरका मानव घोष भन्ने संगीतकर्मीले मेरो लगाव देखेर कलकत्ताको रवीन्द्र भारती संगीत विश्वविद्यालय पठाउने व्यवस्था मिलाए ।’

सुन्दर पहाड दार्जिलिङ छोडेर उनी संगीतको औपचारिक यात्राका लागि कलकत्ता लागिन् । साथमा थिइन् आमा चन्द्रमाया ठटाल । आमा पढेलेखेकी होइनन्, तर शान्तीको लगाव देखेर उनी आफै गइन् छोरीसँग कलकत्ता ।

‘संगीतको अ पनि जान्दिन थेँ । त्यहाँ गएको सबै बाजा दामी । देखेर उत्साहित त भएँ तर डर पनि थियो । मेरो अन्तर्वाताका लागि ‘भेट्रान’ बसेका रहेछन् । भजन गाएँ ।’

शान्तीले भनिन्,

‘उनीहरुलाई मन परेछ क्यारे क्लासिकल सङको मुखडा गाउन भने । आफूलाई थाहा थिएन मुखडा भनेको के हो, तर एक पटक करमतुल्लाकी सहयोगी गायिका उमा डेले सिकाएको गीतको स्थायी गाएँ । म छानिए छु ।’

शान्ती औपचारिक संगीत शिक्षाका लागि छनौट त भइन् तर आमा चन्द्रमायालाई डर थियो, कतै छोरीको राम्रो स्वर बिग्रिन्छ कि भन्ने । शान्तीले आमाको डरलाई वास्ता गरिनन्, आमाले पनि उनलाई छोडेर आइन् ।

त्यसपछि सुरु भयो उनको संगीतको वास्तविक यात्रा । ‘पहिलो कक्षा तान्सेन पाण्डेको । सबैलाई सा रे ग म… गाउन लाउँदै थिए । मैले भने अहिलेसम्म सा रे ग म… गाएकै थिइन् । डरले छाती फुल्यो ।’

शान्तीलाई त्यो दिनको सम्झना अझै उस्तै छ, ‘मेरो पालो आयो, थाहा छैन कहाँबाट आयो, मैले आँखा चिम्लेर गाएँ । आँखा खोल्दा गुरुले भने, इसका गला अच्छा है, त्यसपछि बिस्तारै शान्त हुँदै गएँ ।’

अनि बन्यो सम्हाली राख र अरु…


कलकत्तामा संगीतको औपचारिक शिक्षा सके लगतै शान्ती दार्जिलिङको लोक मनोरञ्जन शाखामा महिला गायिकाको रुपमा आबद्ध भइन् ।

त्यहाँ थिए, सिनियर म्युजिसिनको रुपमा अम्बर गुरुङ, बाध्यबादनमा गोपाल योञ्जन अनि पुरुष गायकमा अम्बरका मितज्यू इन्द्र थपलिया ।

यो टोलीले दार्जिलिङका बस्ती अनि कमानमा गएर धेरै सांगीतिक कार्यक्रम गरे । कमानमै गएका बेला अम्बर गुरुङले एउटा ट्युन बनाए ‘सम्हाली राख…’ । शान्तीलाई सुनाए तर उनलाई मन परेन ।

‘मलाई त सारो मन परेन हो, भनिदिएँ–मन परेन । राम्रो संगीतकारका रुपमा नाम बनाइ सकेका अम्बरलाई सायद रिस उठ्यो पनि होला तर देखाएनन् ।’

शान्तीले अम्बरसँगको सांगीतिक सम्बन्धको कुरा निकाल्दै भनिन्,

‘इन्द्र दाइ भने मितज्यूले बनाएको गीत राम्रो छ भन्दै थिए । म बाहिर निस्किएँ । केही बेरमा फेरि बोलाए । त्यसपछिको ट्युन पो हो त अहिले सुन्ने गरेको सम्हाली राख…। पहिलो पनि राम्रो थियो तर खै किन मलाई मन परेन ।’

शान्तीले सम्हाली राख मात्रै होइन मेरो दुःखी मन, आकाश झुक्यो धर्ती उठ्योसहितका धेरै गीत गाइन् त्यसपछि ।

सुरुभयो संगीत रचना यात्रा


गायिकाका रुपमा स्थापित भएकी शान्तीले सन् १९६५ देखि संगीत रचना सुरु गरेकी हुन् । शशी ठटालको शब्दमा साहित्याकाशमा उदायी भानु तथा अम्बर गुरुङको शब्दमा म अचानक नै अडेँ बोलका गीत उनले संगीत गरेको सुरुका गीत हुन् ।

त्यसपछि उनमा गायिकाको भन्दा संगीतकारको परिचय झन फैलिएर आयो । उनी संगीत रचनामा रमाउन थालिन् । ईश्वर वल्लभको कविता एउटा नीलो सूर्यास्तले उनलाई संगीतकारका रुपमा स्थापित गर्‍यो । यसैले उनलाई नेपाली चलचित्रको पहिलो महिला संगीतकार बन्ने आधार बनायो ।

स्वर रुखो भएजस्तो लाग्दै गएपछि उनी संगीत सिर्जनामा होमिएकी थिइन् । सायद उनका लागि तय भएको बाटो यहि थियो ।

प्रताप सुब्बाले निर्देशन गरेको परालको आगो चलचित्रमा उनले संगीत भरिन् । परालको आगोका सबै गीत राम्रा छन्, त्यस मध्ये ‘उडी जाउँ भने…’ अहिले पनि जो कोहीले गुन्गुनाउने गीत बनेको छ, उनको संगीत अनि अरुणा लामाको स्वरमा ।

‘परालको आगोगमा संगीत गर्ने आधार एउटा नीलो सूर्यास्तले दिएको हो ।’ शान्ती भन्छिन्, ‘त्यसपछि बाँच्न चाहनेहरुसहितका चलचित्रमा पनि संगीत गरेँ । तर यसअघि मैले धेरै गीतिनाटिका तथा नाटकमा पाश्र्व संगीत गरेकी थिएँ ।’

तारादेवीसँगको सपना अधुरै


शान्तीको संगीतमा नयाँ पुराना धेरै गायक गायिकाले गीत गाए । दार्जिलिङ, सिक्किम अनि नेपालमा उनको संगीत गुञ्जियो ।

तर उनको एउटा सपना थियो, तारादेवीलाई आफ्नो संगीतमा गीत गाउन लगाउने । त्यो भने पूरा भएन ।

‘तारादेवीको स्वर निकै राम्रो लाग्छ । उसलाई गीत गाउन लगाउने ठूलो रहर थियो । त्यो पूरा भएन’ शान्तीले भनिन् ।

मेहनत गर्छन् र अहिले ?


उमेरका ८० खुड्किला काटेकी उनले गरेको मेहनतको उकालो सारै अग्लो छ । आफूले लामो अनि ठाडै उकालो चढेकाले होला उनलाई अहिलेको पुस्ताले त्यति मेहनत गरे जस्तो लाग्दैन ।

यो पुस्ताको कुरा चल्दै गर्दा त्यसमा पनि मेहनतको कुरा आउँदा उनी भन्छिन्, ‘मेहनत गर्छन् र अहिले … ? मेहनत पहिले थियो । त्यसको स्वाद पनि मिठो लाग्थ्यो ।’

अहिलेको पुस्ताले संगीतमा नयाँ ‘रेसिपी’ पस्किन नसकेको उनी मात्रै होइन उनीसँग कुरा गर्ने अरु पनि बताउँछन् । ‘अहिले प्रविधिले साथ दिएको छ । सजिलो भएको छ । मेहनत हराएको छ । गर्न सकिने ठाउँ थियो । तर खै त्यसै अल्झिए जस्तो लाग्छ मलाई त ।’

चाहे दार्जिलिङ होस् वा यता । जता पनि पुरानै पुस्ताले जोडेको संगीतको खडेरीमा यो पुस्ताले घर बनाए जस्तो लाग्छ उनलाई । तर घर पनि बान्की परेको छैन । शैली हराइ सक्यो ।

आश मरेको छैन


मेहनत नदेखिए पनि दार्जिलिङ अनि यता सक्रिय पुस्तामा सम्भावना भने बलियो छ ।

‘जीवनले गति लिने आशको डोरीमा त हो, दार्जिलिङ ठाउँ सानो छ । स्रोत छैन । आफ्नै प्रयासमा काम गरिरहेका छन् । आश मार्ने अवस्था छैन’ उनी भन्छिन् ‘अलिकती मेहनत गर्ने हो भने ठूलो सम्भावना छ, उता पनि यता पनि ।’

सन् १९३८ को अप्रिल ४ मा दार्जिलिङको चोकबजारमा जन्मिएकी शान्ती ठटाललाई अहिले २०१८ मा आइपुग्दा पनि रहर भने उही पुरानो बेलाको लाग्छ ।

लाग्छ, यो पुस्तासँग त धेरै सजिलो छ, प्रविधि छ अनि सम्भावना पनि । थोरै मेहनत गरे नेपाली संगीतले अर्को सुनौलो युग पाउने थियो ।

चैत्र १७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू