बाटो छेउमा जीविका चलाउने ‘पार्वती र सुन्दरी’ हरु

बाटो छेउमा नाङ्ग्ले पसल राखेकी पार्वती थापा । तस्बिर : बिन्दु शर्मा/देश सञ्चार

काठमाडौं – चैतको महिना, बिहान–बेलुका हल्का चिसो, दिनमा टनटलापुर घाम अनि धुलाम्मे सडक । सडकको छेउमा फोहोरै फोहोर तर त्यही फोहोरको वरपर आफ्नो जीविकोपार्जनका लागि संघर्ष गरिरहेकी ४२ वर्षीया पार्वती थापा ।

नयाँ बानेश्वरस्थित पिपलबोट नजिकै सडक पेटीमा बिहान ६ बजेदेखि नै बिस्कुटका प्याकेट, चाउचाउ, चकलेट, चुरोट अनि अरु सामान । सामान त्रिपालमा असरल्ल छन् । ग्राहकको प्रतिक्षामा पार्वती ।

आफूले राखेका सामान किन्छन् कि भनेर उनी घरी गुडिरहेको गाडीतिर हेर्छिन्, घरी दुवै हात चिउँडोमा राखेर टोलाउँछिन् । आँखा बुटुवासम्म पनि पुग्छ, सामान किन्छन् कि भन्ने आशले ।

पुर्ख्यौली घर इलाम बताउने उनले यसरी नै जीवन गुजारेको २० वर्ष भैसक्यो । ११ वर्षको हुँदा दार्जिलिङमा भएको गोरखा मुक्ति आन्दोलनमा आमाबुवा गुमाएपछि मामाघर इलाम हुँदै उनी २ सय रुपैयाँ मात्र लिएर काठमाडौं पसेकी हुन् । त्यतिबेला काठमाडौं आउँदा उनीसँग पर्याप्त पैसा थिएन, बसको भाडा तिर्न समेत त्यही बसमै गीत गाएर पैसा जम्मा गरेको उनले बताइन् ।

कति दिन त काम नपाएर सडकमा अरुले खाएर फालेको मकैको खोयामा बाँकी रहेको मकै खाएर जीवन धानेकी थिइन् उनले ।

होटलमा काम माग्न जाँदा पाइनन् । धन्न त्यसबेला होडिङबोर्ड टल्काउने काम गर्न थालिन् । तर त्यो पनि उनले काम गरेको केही महिनामै बन्द भएपछि उनी गाडीको सहचालक भएर २ वर्ष काम गरिन् ।

नागरिकता नहुँदा पर्‍यो अप्ठ्यारो


अब उनलाई गाडी चलाउने मन भयो । साथीहरुले पनि गाडी चलाउ, लाइसन्स बनाउन भन्न थाले । तर उनीसँग नागरिकता थिएन । नागरिकता बनाउन प्रयास गरिन्, सनाखत गरिदिने व्यक्ति नहुँदा उनी अहिलेसम्म पनि नागरिकता बिहीन छिन् । नागरिकता नहुँदा उनको गाडीक चालक बन्ने सपना पनि अधुरै छ अहिलेसम्म । उनी बाटोको छेउको छेउमै छिन् ।

आमाबुवा दुवैको निधन भएकाले उनलाई नागरिकता बनाउन अप्ठ्यारो भएको हो । नागरिकता बनाउन दौडधुप गर्दा गर्दै उनलाई गाडीले ठक्कर दियो । दुर्घटनापछि उनका दुवै खुट्टा काम गर्न नसक्ने भए । अहिले उनी दुई हातको भरमा जीविका चलाइरहेकी छन् ।

राम्रोसँग औषधि उपचार नपाएकाले आज पनि उनका हात खुट्टामा समस्या बाँकी नै छ । बेला बेला सहनै नसक्ने गरी दुख्छ । तर खाना जुटाइदिने कोही छैनन्, बाटो छेउमा सामान नफैलाई सुखै छैन ।

गुनासो गर्दै उनले भनिन्, ‘यो बाटोमा धेरै आन्दोलन भए । त्यसको साझी म पनि छु । धेरैको जीवन फेरियो । तर मेरो अवस्था जहिले उस्तै । बरु मिचिने डरले भयो ।’

आँखाभरि आँसु पार्दै उनले भनिन्, ‘नागरिकता नभए पनि म यो देशको नागरिक होइन र ? के मैले गरेर खान पाउने अधिकार छैन र ? मलाई पनि बाँच्ने अधिकार हुँदैन र ?’

दोलखाकी सुन्दरी


पार्वती मात्रै होइन दोलखाको मैनापोखरीकी सुन्दरी खत्रीको पीडा पनि उस्तै उस्तै छ । नाम जस्तो सुन्दर छैन उनको जीवन । आश त उनलाई पनि थियो सुन्दर जीवनको । नयाँ बानेश्वरमा रहेको अहिलेको संसद भवनको तीन नम्बर गेट अघिको सडक पेटीको भरमा छ ४६ वर्षे सुन्दरीको जीवन ।

दोलखाकी सुन्दरी खत्री । तस्बिर : बिन्दु शर्मा/देश सञ्चार

सडक पेटीको नाङ्ले पसल उनको जीविकाको आधार हो । नाङ्ग्लोमा जीवन थापेको पाँच वर्ष जति भयो । सजिलो भने जस्तो छैन, अप्ठ्यारा आइरहन्छन् ।

बिहानै बाटो छेउ पुग्ने उनको दिन त्यहिँ बित्छ । उनले बेच्ने पनि पार्वतीले जस्तै चकलेट, चाउचाउ, पानी, चुरोट, च्युइङ्गम र अरु यस्तै चिज हो ।

सुन्दरीका लोग्नेले काम गर्दैनन् । उनीसहित दुई सन्तानको जिम्मा पनि सुन्दरीको नाङ्ग्ले पसलकै आयमा छ ।

उनी भन्छिन्, ‘बाटोको छेउमा पसल छ । तर संसदको बैठक हुँदाको दिन राख्न दिँदैनन् । गरी खान अन्त कता जाने ? ठाउँ छैन । सारै असजिलोमा छौँ हामी ।’ मागेर खानु भन्दा काम गरेर खानु राम्रो भनेर गरेको कामले पनि जीवन धान्ला जस्तो नलागेको उनले बताइन् ।
पार्वती र सुन्दरी प्रतिनिधि पात्र मात्रै हुन् ।

काठमाडौं अनि देशका अरु शहरमा यस्तो धेरै जीवन छन्, जो सडक पेटीको भरमा छन् । तर उनीहरुको अवस्था सुधारका लागि वा व्यवस्थापनका लागि सरोकारवालाको चाहिने जती ध्यान पुग्न सकेको छैन ।

चैत १७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्