सांकेतिक तस्बिर।

नेपालगञ्ज – बाँकेमा ९ र १२ वर्षका बालकले ७ सात वर्षीया बालिकालाई बलात्कार गरेको उजुरी आएको छ । घटना १४ गतेको हो । उजुरी आयो, १६ गते । घर जोडिएका छिमेकी दुई बालकले बालिकालाई बलात्कार गरेको अभिभावकको उजुरी रहेको छ ।

इलाका प्रहरी कार्यालय, कोहलपुरले घटनाको अनुसन्धान अघि बढाउने क्रममा अभियुक्त भनिएका दुई बालकलाई बालबालिका सेवा केन्द्रमा ल्याएर सोधपुछ गरिरहेको छ ।

‘अनौठो–अनौठो घटना आउँछन् । अनुसन्धानमा लागेका प्रहरी अधिकृतहरु भन्छन्, नसोचिएको मात्रै होइन, पत्याउनै मुश्किल पर्ने यस्ता घटनाले हाम्रो समाज कता जादैछ भन्ने संकेत गर्दछ ।’

चैत ११ गते कोहलपुरमै १० वर्षीया बालिकालाई स्कुटीमा घुमाउने बहाना भएर ३० वर्षीय थमबहादुर बुढाथोकीले बलात्कार गरे । होटलमा आइरहने बुढाथोकी चिनेजानेका भएकाले बालिकालाई घुमाउन लैजादा बालिकाकी आमाले त्यस्तो कल्पनासमेत गरिनन् ।

स्कुटी लिएर नास्ता खान साँझपख आएका बुढाथोकीले बालिकालाई घुमाउनु नौलो कुरा थिएन । तर उसले खराबमात्रै होइन, अपराधपूर्ण नियत बनायो ।

घरबाट टाढा एकान्तमा लगेर उसले बलात्कार गर्‍यो । राति एक बजे घर नजिक ल्याएर छोडेर भाग्यो । प्रहरीले उसलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ ।

फागुन २८ गते नेपालगञ्जमा १० वर्षीया बालिका खेल्नका लागि छिमेकी साथीको घरमा गइन् । घरमा साथी थिइनन् । उनका २६ वर्षीय बाबुले ती बालिकालाई बलात्कारको प्रयास गरे । छोरीसँग खेल्न आएकी बालिकालाई उसले अपराधपूर्ण सोच बनायो । बालिकाका घरपरिवारले उसको कुकर्म थाहा पाएर प्रहरीलाई खबर गरे ।

बाँकेमा बलात्कारका घटना दिन प्रति दिन बढिरहेको छ । चालु आर्थिक वर्षमा २२ वटा जबर्जस्ती करणी र १७ वटा जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । करणीमा १० वर्षभन्दा कम उमेरका तीनजना छन् । १६ वर्षमुनिका ५ जना र १६ वर्षमाथिका १४ जना रहेका छन् । करणी उद्योगमा दश वर्षमुनिको एक, १६ वर्ष मुनिको २ र १६ वर्षमाथिको १४ जना रहेका छन् ।

अपराधका घटनाहरु हेर्दा नानीहरुलाई साथीसंगीसँग खेल्न पठाउन, चिनेकासँग हेलमेल हुन दिन या छिमेकीको घरमा जादा समेत निगरानी राख्ने पर्ने अवस्था आएको छ । बाँकेमा केही वर्षअघि ७८ वर्षका बृद्धले बालिका करणी गरेका थिए । यसले ९ देखि ७८ वर्षका बृद्ध यस्तो कुकर्ममा लागेको देखाउँछ । जुन समाजका लागि हानिकारक हुन् ।

एकातिर साना नानीहरु असुरक्षित भइरहेका छन् भने अर्कोतिर घरेलु हिंसाले अपराधको रुपमा लिएको छ । एक दिनअघिमात्रै वनकट्टीमा सञ्जयकुमार बर्माले श्रीमती शान्तिदेवीको गोली नै हानेर हत्या गरे ।

श्रीमान–श्रीमतीको बेमेलका उजुरीमै प्रहरीको दिन बित्ने गरेको छ । पहिला पहिला मदिरा पिएर श्रीमानले कुट्ने, सासु ससुराले नसहनेजस्ता समस्या आउने गरेकोमा पछिल्ला दिनमा प्रहरीमा वैदेशीक रोजगारले परिवार बिखण्डन गरेका उजुरी बढी आउने गरेका छन् ।

प्रहरी महानिरीक्षक (आइजिपी) प्रकाश अर्यालका अनुसार, प्रहरीमा आउने ६५ प्रतिशत मुद्दा महिला तथा बालबालिकाको हुने गरेको छ ।

यी समस्याले नेपाली समाज कुन बाटोतिर गइरहेको छ भन्ने संकेत गर्दछ । दण्डहीनताले प्रश्रय पाउनाले पीडक बलिया भएका छन् । अपराधी मानसिकता भएका व्यक्तिलाई गलत गर्दा कारबाही हुन्छ भन्ने बोध हुन सकेको छैन । जानकारहरु कडा कारबाही र पीडकलाई उन्मुक्ति दिलाउन नेताहरु पछि नलाग्दा समाज बदलिन सक्ने बताउँछन् ।

चैत १७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्