मुख्यमन्त्रीले भने, संसारभरिका बुद्धिस्टले लुम्बिनीमा आएर सन्तान जन्माऊन्

सबै तस्बिरहरु: देशसञ्चार

नेपालगञ्ज – मुख्यमन्त्री शंकर पोखरेलले धार्मिक सम्पदाको ‘मार्केटिङ’ मात्रै गर्नसके पाँच नम्बर प्रदेश समृद्ध हुने बताएका छन्।

लायन्स क्लब अफ इन्टरनेसनल डिष्ट्रिक ३२५ बी २ को छैँटौँ राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले लुम्बिनी, तिलौराकोट, जीतगढीलगायत यहाँका ऐतिहासिक सम्पदालाई मार्केटिङ गर्न सके पाँच नम्बर प्रदेश समृद्ध हुने बताए।

‘तिलौराकोटमा उत्खनन् गर्दा बुद्धको समय भन्दा सात सय वर्षअघिको शहर फेला परेको छ। अंग्रेजको ठूलो फौजलाई पराजित गरेको जीतगढी किल्ला र विश्वमै परिचित लुम्बिनी यही प्रदेशमा रहेको छ, मुख्यमन्त्री पोखरेलले भने, हामीले अहिलेसम्म यी सम्पदाहरुको मार्केटिङ गर्न सकेका छैनौ।’

उनले विश्वभरका बौद्धिष्टहरुलाई लुम्बिनीमा आएर सन्तान जन्माउन आग्रह गर्नुपर्ने बताए।

मुख्यमन्त्री पोखरेलले अहिलेसम्म राज्यले लुम्बिनीलाई पर्खालबाहिर ल्याउन नसकेको र निजी क्षेत्रले पनि पर्यटकका लागि आवश्यक सुविधाहरु उपलब्ध गराउन नसकेको बताए। ‘सरकारले प्राचीन सम्पदाको मार्केटिङ गरेर पर्यटक भित्र्याउँछ । निजी क्षेत्रले उनीहरुलाई सुविधा दिने वातावरण बनाउनु पर्छ, पोखरेलले भने।

हालै प्रधानमन्त्री केपी शर्मा ओलीले सात वटै प्रदेशका मुख्यमन्त्रीलाई काठमाडौंमा बोलाउँदा अरु प्रदेशका मुख्यमन्त्रीले आफ्ना क्षेत्रको एउटा/एउटा विशेषता बताएर त्यसको विकासको कुरा गरेको उल्लेख गर्दै पोखरेलले आफूले भने पाँच नम्बरमा सबै प्रदेशको विशेषता मिसिएकाले यसको विकास गर्दा नेपालकै विकास हुने स्मरण गराएको जानकारी दिए।

मुख्यमन्त्री पोखरेलले परम्परागत सोचलाई बदलेर देशलाई समृद्ध हुने दिशामा सबै अघि बढ्नु पर्ने बताए। ‘७० प्रतिशत जनता कृषिमा लागेका छन् । तर, खेत बाँझै छ । यस्तो तरिकाले देश विकास हुँदैन, पोखरेलले भने, उद्यमशीलताको विकास गर्नुपर्छ । फजुल खर्चमा प्रतिस्पर्धा गर्ने बानी हटाउनु पर्छ।’

मुख्यमन्त्री पोखरेलले यो विकास र समृद्धिको समय भएको उल्लेख गर्दै सरकारले निजी क्षेत्रलाई लगानीको वातावरण सिर्जना गर्ने र संरक्षण गर्ने बताए। उनले लायन्स क्लवमा लागेकाहरुले देशलाई समृद्ध गर्ने अभियानमा सरकारसँग हातेमालो गर्दै अघि बढ्नु पर्ने बताए ।
लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का गभर्नर मधुसुदन शर्माले नेतृत्व विकास र समाजसेवामा लायन्सले उत्तिकै काम गरिरहेको बताए।

राष्ट्रिय अधिवेशनमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो। उद्घाटन अघि नेपालगञ्ज बजारमा हात्तीसहितको प्रभातफेरि निकालिएको थियो । त्यसमा विभिन्न जातजातीका झाँकीहरु थिए।

चैत १७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्