राजपाको संसदीय दलको नेता ठाकुर कि महतो?

राजेन्द्र महतो र महन्थ ठाकुर।

काठमाडौंँ- प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अरु दलले संसदीय दलको नेता चयन गरिसके पनि राष्ट्रिय जनता पार्टीले अझै दलको नेता चुनेको छैन।

नेता चयनका लागि पार्टीमा अनौपचारिक छलफल भए पनि नेता चयनका लागि प्रक्रिया अघि बढ्न सकेको छैन। संसदीय दलको नेता बन्नका लागि अध्यक्ष मण्डलका सबै ६ जनाले नै इच्छा देखाएका छन्। तर, राजपा स्रोतका अनुसार दलको नेताका लागि अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोबीच प्रतिस्पर्धा हुने देखिएको छ।

राजपा निकट स्रोतका अनुसार पार्टी अध्यक्षका हैसियतले ठाकुर आफैं दलको नेता बन्न चाहिरहेका छन्। अध्यक्ष मण्डलका सदस्य महतो पनि दलको नेता बन्न आन्तरिक गृहकार्य गरिरहेका छन्। स्रोतका अनुसार राजपाका १७ जना सांसदमध्ये महतो पक्षका ९ जना छन्।

तराई केन्द्रीय ६ वटा दल मिलेर बनेको राजपाबाट प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा सदभावना पृष्ठभुमिका नेताहरु धेरै निर्वाचित भएका छन्। राजपाका एक नेताले देश सञ्चारसँग भने, ‘संसदीय दलमा आफ्नो स्पष्ट बहुमत भएकाले महतोजी नै दलको नेता बन्ने पक्का जस्तै छ । औपचारिकताका लागि भने केही समय लाग्न सक्छ।’

चैत १७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्