
नाबेल शान्ती पुरस्कार विजेता मलाला युसुफजाई तालिबान बिद्रोहीले आक्रमण गरेपछि पहिलोपटक अहिले पाकिस्तानमा छिन् । उनी बिहीबार पाकिस्तान पुगेकी हुन् । उनी पहिलोपटक पाकिस्तानको उत्तर पश्चिममा रहेको आफ्नो गृहनगर स्वात गएकी छन् ।
जहाँ उनीमाथि सन् २०१२ मा आक्रमण भएको थियो । अहिले बेलायतमा बस्दै आएकी मलाला सन् २०१२ मा आक्रमण भएयता पहिलोपटक पाकिस्तान अनि पहिलोपटक नै गृहनगर स्वात पुगेकी हुन् ।
अहिले २० वर्षकी भएकी मलालालाई झण्डै ६ वर्षअघि सन् २०१२ मा बालिका शिक्षाको पक्षमा बोलेको भन्दै तालिबान बिद्रोहीले आक्रमण गरेको थिए ।
So much joy seeing my family home, visiting friends and putting my feet on this soil again. #Home #Pakistan pic.twitter.com/B8VN5Odd27
— Malala (@Malala) March 31, 2018
१५ वर्षको हुँदा मलालालाई उनकै स्कूलमा तालिबानले आक्रमण गरेका हुन् । उनी अहिले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययनरत छिन् । उनको गृहनगर स्वात एक समय बिद्रोहीको कब्जामा थियो ।
उनी शनिबार हेलिकप्टर मार्फत स्वात गएकी हुन् । मलाला उनको पारिवारिक घर रहेको मिनगोरा गाउँ नजिकै पुगेकी हुन् । उनको भ्रमणका लागि सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
उनले त्यहाँ छात्रहरुको एक विद्यालयमा विद्यार्थीसँग कुराकानी गरेकी थिइन् । उनले भनिन्, ‘निकै खुशी लागेको छ । आफ्नो घर फर्किन पाउँदाको आनन्द बेग्लै छ । धेरैको अधक प्रयासपछि स्वातमा शान्ती फर्किएको छ । खुशी छु ।’

उनले बिबिसीसँगको कुराकानीमा सानो हुँदा प्रधानमन्त्री बन्ने रहर भए पनि अहिले विश्वका धेरै नेतालाई देखेपछि काम गर्न प्रधानमन्त्री वा राजनीतिमै लाग्नु पर्छ भन्ने नलागेको र आफ्नो ध्यान मलाला फण्ड मार्फत नै बालिका शिक्षाको पक्षमा काम गर्नेमा रहेको बताएकी छन् ।
तालिबान बिद्रोहीको आक्रमणपछि देश बाहिर रहँदै आएकी मलालाले घटनापछिको पहिलो भ्रमणमा पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासीसँग भेटवार्ता गर्ने सम्भावना छ ।
मलाला चार दिनसम्म पाकिस्तानमा रहने र उनको साथमा मलाला फाउण्डेशन समूहका अधिकारी पनि रहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।
मलालाले ११ वर्षको हुँदादेखि बिबिसी उर्दुलाई तालिबानको शासनमा आफ्नो जीवनको अवस्था बारे पत्र लेख्न थालेकी थिइन् । उनले बालिका शिक्षालाई जोड दिने गरेकी थिइन् । यसबाट उनीमाथि तालिबानको धम्की आउन थाल्यो ।
१५ वर्षको हुँदा उनीमाथि स्कूल बसमा रहेका बेला आक्रमण भयो र उनी अन्तर्राष्ट्रिय स्तरमा आइन् । गम्भीर चोटबाट बाँचेर आएकी मलालाले आक्रमणपछि आफ्नो आवाजलाई झन बुलन्द बनाएकी छन् ।
आक्रमणपछि उनलाई उपचारका लागि बेलायत लगिएको थियो र उनको परिवार त्यसबेलादेखि त्यहिँ बस्दै आएको छ ।
मलालाले सन् २०१४ मा भारतका कैलाश सत्यार्थीसँगै संयुक्त रुपमा नोबेल शान्ती पुरस्कार पाएकी थिइन्।