मोरङ ११ विराट गोल्डकपको क्वाटरफाइनलमा

विराटनगर- भुटानको थिम्पु फुटबल क्लबलाई दुई शून्यले पराजित गर्दै आयोजक रिजालको मोरङ ११ विराटनगरमा सुरु भएको विराट गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

विराटनगरको शहिद मैदानमा शनिबार सुरु भएको गोल्डकपको उद्घाटन खेलमा घरेलु टोली मोरङ ११ को जितमा भुवन बस्नेत र निशान लिम्बूले गोल गरे। काठमाडौं बाहिर पहिलोपटक फ्लडलाइट्समा आयोजित खेल रोमान्चक थियो।

पहिलो हाफमा थिम्पू क्लबले घरेलु टोलीलाई गोलरहित बराबरीमा रोक्न सफल भएको थियो।

पहिलोपटक नेपाली भूमिमा स्पर्धा गरेको पाहुना टोली थिम्पूले दोश्रो हाफमा भने लय गुमाएको थियो।

अर्कोतर्फ मैदानमा दर्शकको राम्रो साथ पाएको मोरङ ११ का लागि खेलको ६० औं मिनेटमा बस्नेतले गोल गरेका थिए।

डिबक्स भित्र थिम्पुका गोलरक्षक नवाङ टासीले बल क्लियर गर्न नसक्दा प्राप्त भएको रिबाउण्डमा बस्नेतले गोल गरेका थिए।

एक शून्यले हौसिएको मोरङका लागि ६७ औं मिनेटमा अग्रता दोब्बर बनाएको थियो।

मोरङले भित्राएको अफ्रिकी मूलका खेलाडी पियुषले एसिस्ट गरेको बलमा मोरङका स्ट्राइकर निशान लिम्बूले सुन्दर गोल गरे।

सो क्रममा उनी थिम्पूको गोलरक्षक टासीसंग वन भर्सेस वनको अवस्थामा रहेका थिए जसको फाइदा मोरङको टोलीलाई परेको थियो।

सो गोलसँगै जित हात पारेको मोरङको टोली क्वाटरफाइनलमा प्रवेश गरेको छ। सोमबार हुने उक्त खेलमा मोरङले डर्बी क्लब झापा एघारको सामना गर्नेछ।

प्रतियोगिताको उद्घाटन प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले गरेका थिए। त्यसैगरी प्रतियोगिताको दोश्रो क्वाटरफाइनलमा आइतबार पूर्व विजेता संकटा क्लबले भारतको महोम्मडेन स्पोर्टिङको सामना गर्नेछ।

१० टोलीको सहभागिता रहेको प्रतियोगितामा विजेताले १२ लाख ७१ हजार र उपविजेताले ५ लाख ५१ हजार रुपैयाँ हात पार्नेछ।

चैत १७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्