
युद्धग्रस्त सिरियाको पूर्वी गुटामा सरकारी सेनाले बिद्रोही विरुद्धको कारवाही अभियान अन्तिम चरणमा पुगेको सरकारी पक्षले बताएको छ ।
सन् २०१३ देखि बिद्रोहीको कब्जामा रहेको पूर्वी गुटाको अधिकांश भूभागमा सरकारी सेनाले आफ्नो नियन्त्रण कायम गरेको छ ।
राजधानी दमासकसको बाहिरी क्षेत्रमा पर्ने पूर्वी गुटाको डुमा शहरमा मात्रै अहिले बिद्रोहीको नियन्त्रण कायम छ । त्यहाँ पनि रुसको सहयोगमा सिरियाली सेनाले कारवाही अभियानलाई निरन्तरता दिएको छ ।
डुमामा रहेका बिद्रोही र सरकारी सेनाबिच त्यहाँ रहेका गम्भीर घाइतेलाई सुरक्षित रुपमा बाहिर निकाल्ने सहमति भएको छ । रुस, नागरिक अगुवा र तथा ब्रिदोही समूह जैश अल–इस्लामबिच भएको वार्तामा यस्तो सहमति जुटेको बिबिसीले उल्लेख गरेको छ ।
गम्भीर घाइते भएकालाई इड्लिब लिगिने छ । इड्लिब अहिले पनि बिद्रोहीको कब्जामा छ । डुमामा रहेका दशौँ हजार सर्वसाधारण नागरिकलाई बाहिर पठाउन त्यहाँको बिद्रोही समूह राजी भएको छैन ।
तर गम्भीर घाइतेलाई बिद्रोहीकै कब्जामा रहेको इड्लिब लैजान भने उनीहरु सहमत भएका हुन् । इड्लिबमा घाइतेले स्वास्थ्य सेवा पाउने अपेक्षा छ ।

रुसी सेनासँग शनिबार भएको सहमतिमा घाइतेलाई सुरक्षित रुपमा बाहिर लैजाने सहमति भएको समाचार संस्था रोयटर्सले जनाएको छ । ६ हप्ता भन्दा बढी समयदेखि जारी हिंसाको क्रममा पूर्वी गुटाबाट अहिलेसम्म हजारौँ बिद्रोही तथा उनीहरुका परिवारका सदस्य सुरक्षित रुपमा इड्लिब गएका छन् ।

सिरियाली सेनाले डुमामा रहेका बिद्रोहीलाई कि त्यहाँबाट अन्यत्र जान नभए कारवाही भोग्न चेतावनी दिएको छ । बिद्रोहीका परिवारसहित सर्वसाधारण नागरिक पनि पूर्वी गुटा छोडेर बाहिर गएका छन् ।
पूर्वी गुटामा गएको फेब्रुअरीदेखि सुरुभएको आक्रमणका कारण अहिलेसम्म १६ सय भन्दा धेरै सर्वसाधारण नागरिक मारिएका छन् ।