नो नेइमार, नो टेन्सन : पिएसजीले जित्यो उपाधि

विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट आएका स्टार स्ट्राइकर नेइमार नभए पनि पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले घरेलु प्रतिस्पर्धामा आफ्नो दबदबा कायम राखिरहेको छ ।

लिग वानमा प्रभावशाली प्रदर्शन गरिरहेको पिएसजीले फ्रेन्च लिग कपको उपाधि लगातार पाँचौँ पटक उचालेको छ । शनिबार राति भएको फाइनलमा नेइमार बिहीन पिएसजीले मोनाकोलाई ३–० ले हराएर उपाधि उचालेको हो ।

पिएसजीको जितमा एडिसन काभानी, एन्जल डी मारियाले गोल गरे । ८ औँ मिनेटमा नै गोल गर्दै काभानीले पिएसजीलाई सुरुवाति अग्रता दिलाए । २१ औँ मिनेटमा डी मारियाले गोल गर्दै अग्रता दोब्बर पारे ।

मोनाकोका लागि राडामेल फाल्काओले हेडर मार्फत गोल गरेका थिए तर भिडियो एसिस्टेन्ट रेफ्री भिएआरबाट हेर्दा उनको गोलले मान्यता पाएन । पिएसजीका लागि खेलको अन्त्यतिर काभानीले व्यक्तिगत दोस्रो गोल गर्दै ३–० को जित दिलाए ।

योसँगै पिएसजीले पछिल्लो पाँच सिजनमा घरेलु लिगका मुख्य १३ मध्ये ११ वटामा ट्रफी जितेको छ । यस्तै यो सिजन लिग वानको उपाधि जित्ने होडमा छ ।

पिएसजी अहिले लिग वानमा दोस्रो स्थानको मोनाको भन्दा १७ अंकले अघि रहेको छ । स्टार स्ट्राइकर नेइमार चोटका कारण मैदान बाहिर रहेका छन् ।

चैत १८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्