कास्कीमा बन्यो एसियामै पहिलो अपांगमैत्री पदमार्ग

पोखरा – एसियामै पहिलो पल्ट कास्कीमा शारीरिक अपाङ्गमैत्री पदमार्ग संचालनमा आएको छ । नेपाल पर्यटन बोर्डको अगुवाईमा झण्डै साढे एक किलोमिटरको अपांगमैत्री पदमार्ग संचालनमा आएको हो ।
कास्कीको पोखरा लेखनाथ महानगरपालिका स्थित देउराली नौडाडामा झण्डै साढे १ किलोमिटर बाटोलाई शारीरिक रुपमा अपांगता भएकाको सहजतालाई मध्यनजर गरिएको हो ।
सो पद मार्गको सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंत्री रवीन्द्र अधिकारी एक कार्यक्रमबिच उद्घाटन गरेका छन् । उनले सुन्दर शहर पोखरामा अपांगमैत्री संरचनाले यसको सुन्दरता झन् थपेको बताए ।
एसियाकै पहिलो अपांगता मैत्री पदमार्गले नेपालको पर्यटनमा नयाँ आयामको सुरुवात भएको बताए । उनले भने ‘यो नमुना योग्य काम हो, यस पदमार्गलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउन सबै मिलेर लाग्नु पर्छ ।’
पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले भौगोलिक विकटता भएको देशमा पनि अपांगता भएकाहरुको पहुँचयुक्त पदयात्रालागि पदमार्ग निर्माणले अन्य गन्तब्यकालागि पनि थप प्रेरित गर्ने बताए ।
उनले भने ‘यो अपांगमैत्री संरचनाले पदमार्गमा रमाउन चाहनेका लागि सहज वातावरण तयार गरेको छ । यसले नेपालको पर्यटन प्रवर्द्धनमा समेत वृद्धि गर्दछ ।’
नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलियाले पदमार्गमा ह्वीलचीयर प्रयोगकर्ता, वृद्ध नागरिक, कृत्रिम हात खुट्टा भएका जस्ता पदयात्रीको सुविधालाई ध्यान दिएर निर्माण गरिएको बताए ।
उनले भने ‘यो नमुना पदमार्गको रुपमार्ग हामीले निर्माण गरेका हौँ, आगामी दिनमा यो पद मार्गको दूरी बढाएर ४ किलोमिटर बनाइने छ ।’ उनले अपांगता भएकाहरुकालागी नयाँ व्यवसायको संचालनलाई समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
स्वाबलम्वन जीवन पद्धति केन्द्र पोखराका अध्यक्ष हेमबहादुर गुरुङ्गले अपांगता भएकालाई लक्षित गरी पदमार्ग निर्माण भएकोमा खुशी व्यक्त गरे ।
उनले भने ‘यो मार्ग निर्माणले हामीजस्ता शारीरिक अपागंता भएकालाई पनि पदमार्गमा सहज हिँड्डुल गरेर प्राकृतिक मनोरमको आनन्द लिने वातावरण बनेको छ । यसको अझ विस्तार होस् ।’ अपांगमैत्री संरचनामा ध्यान दिएकोमा उनले पर्यटनबोर्डलाई धन्यवाद दिए ।
पैदल मार्गको ट्रेल निर्माणमा मात्र साढे १९ लाख खर्च भएको पर्यटन बोर्डले जनाएको छ । विश्वमा करिब १ अर्ब शारीरिक रुपमा अशक्त भएका व्यक्ति रहेका छन् भने सन् २०११ को तथ्यांक बमोजिम नेपालमा मात्र ५ लाख १३ हजार शारीरिक रुपमा अशक्त भएका व्यक्ति रहेका छन् ।