कृषिमा बढ्दै उपकरणको प्रयोग

मेसिनको प्रयोग गरी मकै छर्दै सतवरियाका किसान ।

– दशरथ घिमिरे

दाङ– लमही नगरपालिका वडा नं. ७ फचक्पुरकी रुवी चौधरी मेसिनको प्रयोगले मल, बिउ एकैसाथ छर्छिन् । यसरी मेसिनको प्रयोग गरेर खेती गर्दा आर्थिक रुपमा पनि बचत हुने गरेको उनले सुनाइन् । मेसिनको प्रयोग गर्न थालेपछि हिजोआज उनलाई खेताला नभेटाउने चिन्ता पनि छैन ।

‘थैलामा मल, बिउ राखेर छर्दा लाइनमा पर्ने, हुर्कीदा राम्रो सँग हुर्किन्छ’, रुवीले भनिन्– ‘एक बिगाह खेतमा मकै छरेको छु, मेसीनको प्रयोग गर्दा झार पनि खासै उम्रदैन । उत्पादन पनि बढेको छ ।’

पहिले एक बिगाह खेत जोत्न चार दिन लाग्ने गरेको तर अहिले मेसिनको प्रयोगले दुई घण्टामा सकिने गरेको चौधरीले बताइन् । धान, गहुँ, मकै छर्ने, गोडमेल गर्ने, ओकेरा लगाउने काम मेसिनकै प्रयोगले गर्छन् ।

सतवरियाका किसान देवमनी चौधरीले भने, ‘हाम्रो गाउँका ८० प्रतिशतजति किसानले मकै छर्दा यस्तै प्रविधिको प्रयोग गर्छन् । जसले गर्दा हाम्रो खर्च पनि घटेको छ ।’

शारिरीक रुपमा अपाङ्गता भएपनि सूर्यबहादुर चौधरी सिड्रिल मेसिनको प्रयोग गरेर धान, गहुँ काट्ने र मकै छर्ने काम आफैं गर्छन् ।
‘म प्राविधिक क्षेत्रको विद्यार्थी हुँ, स्नातक पास गरेको छु, पाएको जागिर पनि छाडेर गाउँ पसें । अहिले गाउँ गाउँबाट फोन जोतिदिन भन्दै आउँछ, आम्दानी पनि राम्रै छ’, सूर्यबहादुरले भने ।

परम्परागत हलोले जोतोर खेती गर्दै आएका किसान पछिल्लो समय नयाँ नयाँ प्रविधिको प्रयोग गर्न थालेका छन् । धान, गहुँ, मकै छर्न, गोडमेल गर्न, ओकेरा लगाउन कृषि औजारकै प्रयोग गर्दै खेती गर्ने किसान गाउँ गाउँमा भेटिन थालेका छन् । यस्ता उपकरण खोज्न टाढा जानु पनि पर्दैन । गाउँका पसलमा समेत पाइन्छन् । किसानहरुले ब्यक्तिगत तथा समुहिक रुपमा उपकरण खरिद गरेर प्रयोग गरेको पाइएको छ ।

कृषि यन्त्रको प्रयोग बारे किसानलाई जानकारी दिन जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ । किसानहरुलाई कृषि औजारको प्रयोगबारे जानकारी दिन नमुना प्रदर्शन, भिडियो प्रदर्शन गरेर किसानहरुलाई जानकारी दिने गरिएको सिमिट ईन्टरनेशनल द्धारा सञ्चालीत सिसा परियोजनाका कार्यक्रम संयोजक सालिन आचार्यले जानकारी दिए ।

सिसा परियोजनाको तथ्याँक अनुसार दाङमा रिपर १७, सिड्रिल ८ थान र ज्याकप्लान्ट ५० जना किसानले खरिद गरेका छन् । यस्ता उपकरणको मुल्य बढि पर्ने भएकाले कतिपय किसानले भने चाहेर पनि खरिद गर्न सकेका छैनन् । सरकारले यस्ता उपकरणमा सहुलियत दिनु पर्ने कृषकको माग छ ।

 

चैत १८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्