रुपन्देही ६१ रनमा सिमित, अत्तरिया ९ विकेटले विजयी

रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको पहिलो खेलमा आइतबार सिवाइसी अत्तरिया र रुपन्देही च्यालेन्जर्स भिड्दै। तस्बिर- रासस

काठमाडौं- धनगढी प्रिमियर लिग क्रिकेटअन्तर्गत आइतबार भएको पहिलो खेलमा सीवाईसी अत्तरिएयाले रुपन्देही च्यालेन्जर्सलाई नौ विकेटले पराजित गर्दै शानदार जीतको सुरुवात गरेको छ। अत्तरियाले कसिलो बलिङ गर्‍यो।

पहिला ब्याटिङ गरेको रुपन्देही १५ ओभर दुई बलमा ६१ रनमा समेटिएको थियो। रुपन्देहीलाई सस्तोमा समेट्न कमल एेरीले चार तथा शुभांकर उरावले तीन विकेट हात पारे। रुपन्देहीका सुफयान महमुदले सर्वाधिक २० रन बनाए। ओपनरद्धय प्रदिप एेरी र सागर पुनले खाता खोल्न सकेनन्।

कमलले चार ओभरमा १५ र उरावले २ ओभर दुई बलमा एक मेडन राखेर सात रन खर्चिएका थिए।

अत्तरियाले ७ ओभर तीन बलमा एक विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। अत्तरियाका ओपनर सुबास खकुरेलले १९ रन बनाए। गौरव चितकाराले अविजित ३० र प्रेम तामाङले अविजित १९ रन बनाए। अत्तरियाका बलर कमल प्लेयर अफ दी म्याच घोषित भए।

आइतबार हुने अर्काे खेलमा महेन्द्रनगर युनाइटेड र विराटनगर किङ्स भिड्दैछन्।

चैत १८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्