ठूलो मात्रामा कोरेक्ससहित भारतीय पक्राउ

नेपालगञ्‍ज-ठूलो मात्राको कोरेक्ससहित भारतीय नागरिक पक्राउ परेका छन्। आलुको बोराभित्र राखेर नेपाल भित्र्याउदै गरेको दुई हजार पाँच सय एमएल कोरेक्ससहित भारत रुपैडिहाका रामसागर सुनार पक्राउ परेका हुन्। उनको साथबाट कोरेक्ससँगै ६० पिस नाइट्रोभ्याट बरामद भएको छ।

कोरेक्स नेपालमा प्रतिबन्ध रहेको छ । लागु औषध प्रयोगकर्ताले यसको कारोबार गर्ने गरेका छन्। पछिल्ला दिनमा भारतमा पनि कोरेक्सको कारोबारमा कडाई गरिएको छ।

सीमावर्ती नेपाली अधिकारीहरुले भारतीय बजारमा कोरेक्सको कारोबार सहज हुँदा अप्ठेरो परेको गुनासो गरेपछि केही दिन दिन रुपैडिहामा प्रहरीले छापा मारेर ठूलो मात्रामा कोरेक्स बरामद गरेको थियो।

भारतीय प्रहरीलेसमेत निगरानी बढाएपछि कोरेक्सको मूल्य आकाशिएको छ। सय एमएलको एक सय ७० रुपैया पर्ने कोरेक्स अहिले पाँच सय रुपैयासम्म पुगेको कारोबारीहरु बताउँछन् । नेपालमा अझ महंगोमा बिक्री हुने गर्दछ।

नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाले जाँच गर्दा सुनारको ल्याएको आलुको बोराभित्र कोरेक्स बरामद भएको हो।सुनारले रुपैडिहामा सुर्खेतका एकजनाले नेपालगञ्जको वीपीचोकसम्म पुर्‍याइदिन भनेपछि बोकेको बताए। उनले त्यो व्यक्तिलाई आफूले नचिन्ने बताए।

सीमावर्ती भारतीय बजारमा कोरेक्समा कडाई भएकाले सुनारले नानपाराबाट (अलि टाढाको बजार) ल्याएको आकलन गरिएको छ। खोकीको अचुक औषधी मानिने कोरेक्स अलिकति बढी खादा लागु औषधको कामको गर्ने सम्बद्धहरु बताउँछन्।

पछिल्ला दिनमा भारतबाट नेपाल प्रवेश गर्ने हरेक व्यक्तिलाई नाकामा प्रहरीले सुक्ष्म तरिकाले खानतलासी गर्ने गरेको छ। नेपालबाट जानेलाई पनि निगरानी राख्ने गरेको जमुनाहा प्रहरीले बताएको छ । नेपालबाट जानेले चरेश बोक्ने र भारतबाट आउनेले ब्राउनसुगर, कोरेक्सलगायत बोक्ने गरेको प्रहरी बताउँछ।

चैत १८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्