पर्यटक तान्‍न निकालियो हात्तीको झाँकी

नेपालगञ्ज-गएको माघमा नेपालगञ्जमा प्रादेशिक व्यापार महोत्सव आयोजना गरियो। उद्घाटनका दिन नेपालगञ्ज बजारमा विभिन्न जातजातीका आकर्षक झाँकी निकालियो। सबै झाँकीको अगाडि हात्तीलाई हिडाइयो।

लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ को राष्ट्रिय अधिवेशन भयो। त्यसमा नारायणी वारीका लायन्सहरुको ठूलो जमझट थियो। उद्घाटन अघि शनिबार विभिन्न जातजातीको झाँकी निकालियो। त्यो झाँकीको अगाडि पनि ब्यानर झुण्ड्याइएका दुई वटा हात्ती हिडाइयो।

विभिन्न जातजातीका आकर्षक झाँकीसँगै बजारमा हिडाइएको हात्ती हेर्नेको भीड बेग्लै थियो। हात्तीलाई मोबाइल क्यामेराको फ्रेममा पारेर सेल्फी लिनेहरुले धोको नै पुर्‍याए।

निकुञ्जमा पर्यटनलाई सफारी गर्ने हात्ती नेपालगञ्ज बजारमा किन हिडाइएको छ ? बाँके राष्ट्रिय निकुञ्जका सहायक वार्डेन लालबहादुर भण्डारी भन्छन्, पर्यटन प्रवद्र्धन र बाँके राष्ट्रिय निकुञ्जमा हात्ती छ भनेर देखाउन यसरी प्रदर्शन गरिएको हो।’

यीबाहेक निकुञ्जले गर्ने कार्यक्रमहरुमा त हात्तीको प्रदर्शन हुने नै भयो। चोरी शिकारविरुद्ध लागेका देशभरका युवाहरु कोहलपुरमा भेला हुँदाको प्रभातफेरि पनि हात्तीको मार्चपास नै थियो।

बाघ संरक्षण गर्नका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जले पर्यटन तान्न बजारका झाँकीहरुमा हात्तीलाई प्रदर्शन गरिरहेको हो। पर्यटन प्रवद्र्धन गर्न भनेपनि निकुञ्जले हात्तीलाई निशुल्क भने प्रदर्शन गरेको छैन।

उसले ६ घण्टाका लागि भ्याटबाहेकको पाँच हजार रुपैया लिने गर्दछ। ‘झाँकीहरुमा हात्ती पठाउदा पर्यटन प्रवर्द्धनसँगै आर्थिक सहयोग मिलेको छ, सहायक वार्डेन भण्डारी भन्छन्।

बाँके राष्ट्रिय निकुञ्जमा दश वटा हात्तीको दरबन्दी रहेको छ। अहिले त्यहाँ चार वटा हात्ती छन्। निकुञ्ज प्रशासनले ६ वटा हात्ती पठाइदिन माग गरिरहेको छ।
निकुञ्जले हात्ती सफारी शुरु गरिसकेको छ।

चार वटा हात्ती भएकाले माग पूरा हुन सकेको छैन। निकुञ्जमा हात्ती सफारी गर्दा एक घण्टाको पाँच सय रुपैया तिर्नुपर्ने भण्डारी बताउँछन्। ‘अहिलेसम्म निकुञ्जमा आन्तरिक पर्यटनले धेरै हात्ती सफारी गरेका छन्, भण्डारीले भने।

हात्तीमा बसेर जंगल सफारी गर्ने र बाघ देख्न पाइने भएपछि निकुञ्जमा पर्यटनको आकर्षण बढ्दै गएको छ। बाँके राष्ट्रिय निकुञ्जमा १३ वटा पाटे बाघ छन्। पछिल्लो गणनाको तथ्यांक बाहिर आइसकेको छैन।

नेपालगञ्ज भन्दा बाहिर भने निकुञ्जले हात्ती प्रदर्शनमा पठाएको छैन। हात्तीलाई टाढा लैजादा व्यवस्थापन गर्न गाह्रो हुने निकुञ्जको भनाई छ। निकुञ्जदेखि १६ किलोमिटरको दुरीमा रहेको नेपालगञ्जमा हात्ती ल्याई प्रभातफेरिमा सहभागी गराएर लैजादा दिनभरी नै लाग्छ।

प्रत्यक्ष हात्ती नदेखेकाहरु झाँकीमा सहभागी गराइएको हात्ती देखेर अचम्मित भएका छन्। लायन्सको झाँकी केही ढिलाई भएर धम्बोझीमा हात्ती रोकिदा होस् या वीपीचोकसम्म आइपुग्दा हात्ती हेर्नेको भीड नै थियो।

चैत १८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्