संकटा क्लब विराट गोल्डकपको अन्तिम आठमा

विराटनगर-  पूर्वविजेता संकटा फुटबल क्लबले विराटनगरमा जारी विराट गोल्डकपको अन्तिम आठको यात्रा तय गरेको छ।

विराटनगरस्थित सहिद रंगशालामा आइतबार सम्पन्न खेलमा संकटाले भारतको कोलाकतास्थित मोहम्मडेन स्पोर्टिंग क्लबलाई एक शून्यले स्तब्ध बनाउदै अन्तिम आठमा प्रवेश गरेको हो। रोमाञ्चक बनेको खेलको निर्धारित ९० मिनेटमा दुवै पक्षबाट गोल हुन नसकेपछि थप गरिएको अतिरिक्त समयबाट खेल निर्णयमा पुगेको थियो। सो क्रममा खेलको १ सय ३ मिनेटमा संकटाका लागि अफ्रिकीमुलका डिब्रेल नायक बने।

डि बक्सबाहिरबाट प्रहार गरेको सशक्त भलीमा पाहुना टोली मोहम्मडेन क्लबका गोलकिपर अभिजित सरदार गोल बचाउन असफल भएका थिए। डिब्रेलले लक्ष्मण रुचालको क्रस पासमा उक्त गोल गरेका थिए।

सोही गोलसंगै जित हात पारेको संकटाले अन्तिम आठमा सशस्त्र प्रहरी बलको टोली एपीएफको सामना गर्नेछ। जितहात पारेको संकटाका लागि कप्तान सरोज दाहाल म्यान अफ दि म्याच घोषित भए। संकटा क्लबले यसअघि २०७० सालमा यस प्रतियोगिताको उपाधि जितेको थियो।

त्यसैगरी प्रतियोगिता अन्तर्गत सोमबार हुने प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा डार्बी क्लब रमपम झापा ११ ले घरेलु टोली रिजालको मोरंग ११ को सामना गर्नेछ।

चैत १८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्