२८ वर्षपछि चेल्सीमाथि टोटनह्यामको पहिलो जित

टोटनह्यामले २८ वर्षको प्रशिक्षापछि पहिलोपटक चेल्सीलाई हराएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामले एन्टोनी कोन्टेको टिम साबिक विजेता चेल्सीलाई ३–१ ले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा ३० औँ मिनेटमा अल्भारो मोराटाको गोलबाट चेल्सीले अग्रता दिएको थियो । तर पहिलो हाफको इन्जुरी समयमा क्रिष्टियन एरिक्सनले टोटनह्यामका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा दोस्रो हाफ भने टोटनह्यामको पक्षमा रह्यो । २१ वर्षे डेल अलीले ६२ औँ मिनेटमा गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए । त्यसको चार मिनेटपछि अलीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–१ को जित दिलाए ।

यो जित चेल्सीमाथि टोटनह्यामले २८ वर्षपछि दर्ता गरेको हो । अलीले सन् २०१७ को जनवरीपछि पहिलोपटक लिगमा दुई गोल गरेका हुन् ।

त्यसबेला पनि अलीले चेल्सीमाथि नै दुई गोल गरेका थिए । जितपछि टोटनह्यामको ३१ खेलबाट ६४ अंक भएको छ । पाँचौँ स्थानमा रहेको चेल्सीको ३१ खेलबाट ५६ अंक भएको छ ।

चैत १९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्