फेरिँदै उत्तर–दक्षिण कोरिया सम्बन्ध

गाउँदै दक्षिण कोरियाली कलाकार, ताली बजाउँदै उत्तर कोरियाली नेता किम

उत्तर कोरियाका लागि यो आइतबार खास बन्यो ।

उत्तर कोरियाका नेता किम जोङ–उन राजधानी प्योङयाङमा भएको एक सांगीतिक कार्यक्रममा सहाभागी मात्रै भएननन्, ताली बजाएर कलाकारको हौसला पनि बढाए ।

किमले ताली बजाएर हौसला बढाएका कलाकार उत्तरका भने होइनन्, सीमा पारी दक्षिण कोरियाका थिए ।

पछिल्लो समय फेरिँदै गरेको र सुमधुर बन्दै गरेको देखिने दुई कोरियाबिचको सम्बन्धको तस्बिर देखाउने यो कार्यक्रममा किम श्रीमतीसहित सहभागी भएका थिए ।

दक्षिण कोरियाली पप कलाकार अहिले सांगीतिक कार्यक्रमका लागि उत्तर कोरियामा छन् । किम तिनै पप कलाकारको कार्यक्रममा सहभागी भएका हुन् ।

उनले कार्यक्रम हेर्दै गर्दा ताली बजाएको तथा सकिएपछि स्टेजको पछाडि गएर कलाकारसँग कुराकानी पनि गरेको खबरमा उल्लेख गरिएको छ । उनले कलाकारसँग तस्बिर पनि खिचाएको बताइएको छ ।

पछिल्लो एक दशकमा पहिलोपटक दुई देशका शीर्ष नेता भेटवार्ताका लागि तयार भएका छन् । प्रस्तावित भेट मार्च २७ मा हुनेछ । यो भेटअघि दक्षिण कोरियाली कलाकार माहौल बनाउनका लागि अहिले उत्तर कोरियामा छन् ।

दक्षिण कोरियाली कलाकारले प्योङयाङमा दुई कार्यक्रम गर्ने छन् । यसमा ११ जना दक्षिण कोरियाली कलाकारले प्रस्तुति दिनेछन् ।

फेरिँदै गरेको अनि न्यानो बन्दै गरेको कोरियाली सम्बन्धको सुरुवात यो वर्षको सुरुमा भएको थियो । यसको ठूलो श्रेय गएको फेब्रुअरीमा दक्षिण कोरियामा भएको विन्टर (शीतकालीन) ओलम्पिकलाई जान्छ, जहाँ दुवै कोरिया साझा झण्डामा प्रस्तुत भएका थिए ।

त्यसपछि दुई कोरियाका उच्चस्तरीय नेताबिच भेटवार्ता भएका छन् । यी भेटले दुई देशका सर्वोच्च नेताबिचको भेटको वातावारण बनाएका छन् भने अमेरिकी राष्ट्रपति पनि किमलाई भेट्न तयार भएका छन् ।

उत्तर कोरियाको परमाणु कार्यक्रमका कारण चिसिँदै गएको कोरियाली सम्बन्धमा पछिल्लो समय ओभानो वा न्यानोपन देखिन थालेको छ ।

प्रस्तुति दिँदै दक्षिण कोरियाली कलाकार । तस्बिर : एएफपी

आइतबार बेलुका १५०० सिट रहेको प्योङयाङ ग्रेण्ड थिएटरमा भएको सांगीतिक कार्यक्रमको नाम ‘स्प्रिङ्ग इज कमिङ्ग’ राखिएको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् । अब मंगलबार अर्को कार्यक्रम हुनेछ ।

दक्षिण कोरियाली समाचार संस्था योनहापका अनुसार नेता किम पहिलो उत्तर कोरियाली नेता हुन्, जसले दक्षिण कोरियाली कलाकारको प्रस्तुति हेरेका छन् । यो कार्यक्रममा किमकी बहिनी किम यो–जोङ्ग पनि सहभागी भएकी थिइन् ।

स्रोत : बिबिसी

चैत १९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्