नुवाकोट – देख्दा लाग्दैन यी लट्टे ठिटामा सम्बन्धको गारो बलियो छ । बलियो यहाँसम्म कि संसारै जोड्ने आँटले भरिएको ।

जन्मसँगै जोडिएर आउने । समाजले दिने । राष्ट्रले दिने अनि हुर्किँदै गर्दा बनाउने धेरै सम्बन्धहरुको जालोमा बेरिन्छ जिन्दगी । प्रायः नयाँ नाता बन्दै जान्छन्, पुराना धमिरोले खाएको काठ झैँ खिइँदै ।

खुइलिँदै जाने आफन्नोपनको रंग । मक्किँदै जाने सम्बन्धको गारोमा उभिएका मान्छेहरु । भिडमा भिडजस्तै तर एक्लै बन्ने धेरै जिन्दगीहरु । भर ठेगान नभएका जीवनहरु । यस्तोमा नमेटिने तर समेटिने आफ्नाहरु खोज्दै स्वादिला जीवनहरुको यात्रामा दुई युवा । साथमा एक कुकुर ।

सीमाले समेट्ने अनि सीमाले नै छुट्याउने मान्छेहरुको जमात । घेराले अलग्याउने यो खेलमा जोडिएका बेन र प्रशान्तलाई न सीमाले रोक्यो न छालाको रंग न त फरक सँस्कारले । साथमा जोडिएको प्रजाति नै फरक, पशु तर मान्छेजस्तै माया गर्ने गुन भएको बडी (कुकुर) ।

‘कलमी’ सम्बन्धको स्वादिलो फल


उमेर २७ वर्ष । कद, सामान्यतया नेपालीको भडिमा परैबाट देखिने । गोरो छाला, लामो कपाल । मिलाएको जुङ्गा अनि भद्रगोल देखिने दाह्री, आँखामा देखिँदाको बेन रीड होवेल्सको हुलिया ।

आधा क्यानडेली, आधा स्कटीस । एक देशको घेरामा सीमित हुन नचाहने बेनलाई जन्मदै दुई देशको हुने सौभाग्य मिल्यो । क्यानडेली बुवा र स्कटीस आमाको सन्तान ।

सामाजिक सहजकर्ता वा भनौँ शिक्षाकर्मी । आवश्यक परेका समुदायमा गएर स्रोतहरुको खोजी र त्यसको उचित उपयोगको विकल्प देखाउने बेन । घुम्न सारो रुची, हानिए आमाको जन्मभूमि स्कटल्याण्डबाट इन्डिया ।

यात्रामा धेरै भेटिए अनि छुट्टिए पनि । तर कहिले काहीँ अनायासै उस्तै सपना बाँच्नेसँग भेट हुन्छ, त्यस्तै भयो बेनसँग पनि । पुणेमा बेनले भेटे प्रशान्त कुमारलाई ।

आँखामा अटाउने प्रशान्त कुमारको आकृती फरक छ बेनको भन्दा । समानता छ कपालमा, बेनको जस्तै लामो छ उनको पनि तर रंग भने भिन्न ।

अग्ला त छन् तर बेन भन्दा होचा । केही बाटुलो अनुहारमा पुक्क परेका गाला । छालाको रंग गहुँगोरो, होइन केही कलो नै भन्न मिल्ने । उमेर २८ वर्ष ।

पेशाले इन्जिनियर, डिजाइनर । पशुपक्षीका प्रेमी । कला, फोहोर भनेर खेर गएका सामग्रीलाई सुन्दर घर वा अरु यस्तै संरचनामा बदल्न सक्ने ।

काम राम्रो थियो । सहज थियो जिन्दगी । तर मन बसेको थिएन । मन थियो बाँधिएको जिन्दगीलाई छोडेर स्वतन्त्र हुने । आफूमा समेट्ने सबै सपनाहरु । फैलाउने आशहरु ।

बेनसँग मिल्ने प्रशान्तको कुरो यहि हो । यसैले गोरो छाला भएका बेन र झण्डै कालो देखिने प्रशान्तलाई रंगबिहीन बनायो । एक बनायो । जोडियो बडी पनि । उनीहरुको सम्बन्ध कलमी गरेको फलफूलको बोट जस्तै बन्यो, रसिलो, स्वादिलो फल दिने ।

आशको यात्रा, बाटो आफ्नोपनको


सन् २०१५ मा भेटिएका बेन र प्रशान्तलाई सँगै हिँड्ने योजना बनाउन दुई वर्ष लाग्यो । बेनले यात्र सुरु गरिसकेका थिए स्कटल्याण्डबाट ।

भारतमा थपिए प्रशान्त । सन् २०१७ को जनवरीमा बेन, प्रशान्त अनि बडीले सुरु गरे मोटरसाइकल यात्रा । नाम दिए ‘वसुधैब कुटुम्बकम्’ अर्थात एक विश्व, एक परिवार ।

विचलित हुँदै गएको मानवीयता र भत्किँदै गरेको भाइचाराको घरमा टेको लगाउने मात्रै होइन बलियो गारो लगाउने, आफ्नोपनको कमेरोले लिप्ने सपनालिएर सुरु भयो उनीहरुको यात्रा ।

सटकटमा भि–राइड नाम दिएका छन् । तर उनीहरुले मानिसमा बाँड्न खोजेको आशको सञ्चार भने सटकट छैन ।

बेनले घर छोडिसकेका थिए । प्रशान्तले उनकै बाटो पछ्याए । छोडे जीवन सजिलोसँग चलाउने जागिर । अनि छोडे घरको बास, रोजे घामपानीसँग जुध्ने दैनिकी ।

यात्राको सुरुमा उनीहरुले मुम्बईमा स्कुल बनाए । त्यसका लागि प्रयोग गरे काम नलाग्ने खेर फालिएका सामग्री । पैसा थिएन, तर थियो आँट । केही सहयोग जुटाए । भोलेन्टियरसँग जोडिए । बनाए फोहोरबाट शिक्षाको मन्दिर ।

बिहारका प्रशान्तलाई भारतमा पछाडि परेको आफ्नो गाउँ फर्किने मन थियो । चाहेको भए प्रायः बिहारीजस्तै पैसा कमाएर गाउँ नफर्किने सपना उनले पनि देख्न सक्थे । तर उनलाई आफ्नै माटोमा फर्किने मन थियो । यसैले डोर्‍यायो बेनसँगै पटना तिर ।

त्यहाँ स्कूल बनाए, घर बनाए । त्यो पनि फोहोरबाट । सुरुमा नपत्याएका गाउँलेले मैलाबाट सुकिलो घर बनेको देखेपछि अपनाए सम्पूर्ण रुपमा उनीहरुलाई । वर्षैँदेखि हराएको. छोरा घर आएजस्तै गरे उनीहरुलाई गाउँलेले ।

मोडिए नेपाल तिर


बिहारमा आशको नमूना देखाएपछि बेन र प्रशान्तले रोजे नेपाल । यसअघि दुई/तीन पटक नेपाल आइसकेका बेन अनि छिमेकमा हुर्केका प्रशान्त नेपाली भूमिका आए ।

यहि अप्रिलमा आएका उनीहरुले नेपालमा गर्न सकिने कामको खोजी र त्यसको तयारी पहिलेदेखि नै गरेका थिए । उनीहरुले भेटे गतिलो गाउँ, कागती गाउँ ।

काठमाडौं उपत्यकाको फोहोर जाने राधानीबाट नजिकै रहेर पनि आझेलमा परेको नुवाकोट ककनीको कागती गाउँ । अधिकांश बलामी समुदायको बसोबास । अवसरबाट वञ्चित भएका गाउँले र त्यस्तै अप्ठ्यारोमा बालबालिका ।

बेन र प्रशान्तले त्यहिँ काम गर्दैै आएको एक एनजिओसँग सहकार्य गरेर कागती गाउँको भवानी माविलाई रोजे । ककनी गाउँपालिका–१ मा रहेको भवानी मावि विसं २०१८ सालमा स्थापित भएको हो । बुढो भएको विद्यालयले कलिला बालबालिकाको भविष्य बनाउन आफूलाई घिसारिरहेको छ । यसमा साथी बने बेन, प्रशान्त अनि अरुहरु ।

सानो प्रयासले फूलाएको ठूलो मुस्कान


भवानी माविमा बालबालिकालाई खेल्ने ठाउँ थिएन । बेन र प्रशान्तलाई लाग्यो, राम्रो खेल्न पाउने अवसर पैसा भएका वा बहन गर्न सक्ने अभिभावक भएकाले मात्रै होइन कागती गाउँका ‘अनिल बलामीहरु’ लाई पनि पाउनु पर्छ ।

‘खेल्न र जीवनलाई रमाइलोसँग बाँच्न पाउने अधिकार सबैसँग हुन्छ’ आफ्नो समूहले बनाएको चिप्लेटिमा रमाइरहेका ८ वर्षे अनिलतिर हेर्दै प्रशान्तले भने, ‘अनिल अनि अरु बच्चाको अनुहारमा फूलेको मुस्कान देख्दा जीवनको आश लागेर आउँछ । रहर जीवित बनिदिन्छ ।’

प्रशान्तको जस्तै अनुभव छ बेनको पनि । ‘बच्चाहरु खेलेको देख्नु र त्यसमा रमाएको हेर्नु सारै आनन्द आउने रहेछ’ जुँगा मिलाउँदै बेनले भने, ‘आफै खेलेजस्तो भएको छ ।’

बेन र प्रशान्तले खेर गएका सामान प्रयोग गरेर भवानी माविको परिसरमा बच्चाका लागि खेल्ने ठाउँ बनाएका छन् ।

पाखो पखेरो, माटो ढुंगा अनि झार–रुखमा बाध्यताले रमाएका कागती गाउँका ‘चिचिला’ हरु आधुनिक चिप्लेटि, रेल गाडी, पिङ्ग अनि सुरुङ्गमा रमाएको हेर्दै गर्दा बेन र प्रशान्तको अनुहारमा भएको खुशीको सञ्चार खेल्दै गरेका बालबालिका भन्दा कम थिएन ।

प्रशान्तलाई साँस्कृतिक समानताले होला आफ्नै गाउँजस्तो लाग्यो नेपाली गाउँ पनि । ‘अझ वेलकमिङ रहेछन् यहाँका बासिन्दा ।’ बेन र प्रशान्तको टिमले कागती गाउँमा फालिएका टायर, फलामका टुक्रा अनि टीनका ड्रम प्रयोग गरेर सुन्दर खेल्ने ठाउँ बनाएका छन् ।

बेन र प्रशान्तको यो अभियानसँग जोडिएको बलियो पक्ष के भनेर सोध्दा आउने एउटै उत्तर,

‘फोहोरलाई काम नलाग्ने बस्तु होइन नयाँ सम्भावनाको कच्चा पदार्थको रुपमा हेर्न सक्नु पर्छ । आइडिया त आइहाल्छ । अनि बन्छन् यस्ता धेरै खेल मैदानहरु ।’

१५ दिन समय, फालिएका सामग्री अनि स्कूलले दिएको २५ हजार रुपैयाँको लागतमा बेन, प्रशान्त र उनीहरुसँग जोडिएकाहरुले तौलिन नमिल्ने, नापमा नअटाउने खुशीको माध्यम बनाएका छन् कागती गाउँमा ।

उनीहरुले कागती गाउँमा आशको सञ्चार गरे, खुशीको बाटो बनाए । यसको रंग शिक्षकमा पनि चढेको छ, अभिभावकमा पनि । तर डर भने बाँकी नै छ, टिक्दैन कि भन्ने ।

‘पर्खाल छैन । दिनरात गाउँका बच्चा आएर झुम्मिन्छन् । चाँडै भत्किन्छ कि’

तीनजना खेल्न मिल्ने पिङ्गमा झुण्डिएका पाँच सात विद्यार्थीतरि हेर्दै विद्यालयका प्रअ खडानन्द बलामीले भने,

‘खेलेको देख्दा रमाइलो लागेको छ । त्यो पनि सबै काम लाग्दैन भनेको चिजबाट बनाउनुभयो । तर टिक्दैन कि भन्ने डर छ ।’

भत्किन त एक दिन सबै भत्किन्छ । जतन गरे आयु लामो बनाउने मात्रै हो । तर बेन र प्रशान्तले फोहोरबाट खेलको खुशी छर्न सकिने जुन आश कागती गाउँमा छोडेका छन्, त्यो न भत्किन्छ, न तोडिन्छ । यो त फैलिँदै जान्छ ।

यहि फैलिँदै जाने आश र आफ्नोपनको डोरीको एक टुप्पो छोडेर निस्किँदै गर्दा प्रशान्तको मोटरसाइकलमा कागती गाउँका बालिबालिका झुण्डिए जस्तै झुण्डिएका छन् धेरै रहरहरु अनि सपनाहरु ।

बेन र प्रशान्त अब कागती गाउँलाई छोडेर छिमेकी देश चीन जाँदैछन्, उनीहरुलाई यहाँ मात्रै होइन विश्वका २२ देशमा आशको सञ्चार गर्नु छ । जाँदै गरेका उनीहरुसँग आउने वा फर्किने मन छ, स्वागत गर्ने मन कागती गाउँको भए जस्तै … ।

चैत १९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्