अदालतको आदेशले बघौडावासी खुशी

नेपालगञ्‍ज-अदालतले स्वास्थ्य केन्द्रमा विशेषज्ञसहितको चिकित्सक पठाउन आदेश गरेपछि नरैनापुरवासी खुशी भएका छन्।

बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र, लक्ष्मणपुरमा दरबन्दी अनुसारको चिकित्सक पठाउन उच्च अदालत तुलसीपुर इजसाल, नेपालगञ्जले आदेश गरेको हो।

२०५० सालमा स्थापना भएको स्वास्थ्य चौकीमा अहिलेसम्म दरबन्दी अनुसारका चिकित्सक नगएपछि स्थानीय अरुणकुमार तिवारीले गत मंसीरमा अदालतमा रिट दायर गरेका थिए।

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीशद्वय सारंगा सुवेदी र खुशीप्रसाद थारुको संयुक्त इजलासले ‘रोग नियन्त्रण र रोकथामका लागि आवश्यक व्यवस्था मिलाउनु, आकस्मिक स्वास्थ्य सेवा, महिलाको प्रजनन् स्वास्थ्य उपचारको व्यवस्था गर्नु गराउनु,’ भन्ने आदेश दिएपछि बघौडावासी खुशी भएका हुन्।

नरैनापुर गाउँपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद साहले अदालतको आदे स्वागतयोग्य भएको बताए।‘सिंगो नरैनापुरवासीको हितमा भएको यो आदेशलाई म उच्च सम्मान गर्छु, अध्यक्ष साहले भने, ‘सरकारले व्यवस्था गरेको स्वास्थ्य सेवा पाउने बाटो अदालतले खोलिदिएको छ। विशेषज्ञसहितको चिकित्सक नहुँदा जोखिम मोलिरहेका बघौडावासीले अब राहत पाउँछन्।’

स्वास्थ्य केन्द्रमा विशेषज्ञसहितको चिकित्सक नहुँदा बघौडावासी बिरामी हुँदा भारतीय शहरमा उपचार गराउन जान बाध्य छन्।भारतीय सीमासँग जोडिएका घौडावासीलाई सदरमुकाम नेपालगञ्ज आउनु भन्दा हरेक प्रकारका कारोबार गर्न भारतीय शहर सहज हुने गर्दछ।

हुन त, बघौडा नेपालगञ्जदेखि बढीमा ४४ किलोमिटर टाढा छ। राम्रो बाटो नहुँदा बघौडावासीलाई सदरमुकाम विरानो हुने गर्दछ।सरकारले दरबन्दी नै सिर्जना गरेर व्यवस्था गरेका चिकित्सक दुर्गम ठाउँ भनेर जान नमान्दा सर्वसाधारण अत्यावश्यक स्वास्थ्य सेवाबाट बञ्चित हुँदै आएका छन्।

अदालतले आवश्यक कित्सक,उपकरण,स्वास्थ्यकर्मी र औषधिसमेतको प्रबन्ध गरी प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न निर्देशनात्मक आदेश दिएको हो।

चैत १९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्