के छ बाम एकताको ४१ पृष्ठ लामो प्रतिवेदनमा?

काठमाडौँ- बाम गठबन्धनले राष्ट्रियताको रक्षा र सम्वर्द्धन, अन्तर्राष्ट्रिय जगतमा नेपालको सम्मानजनक उपस्थिति तथा समाजवादजस्ता लक्ष्य हासिल गर्न नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरण अनिवार्य रहेको निष्कर्श निकालेको छ।

पूर्व प्रधानमन्त्री तथा एमालेका प्रभावशाली नेता माधवकुमार नेपालको संयोजकत्वको एमाले माओवादी संयुक्त कार्यदलले झण्डै डेढ महिनापछि तयार गरेको ‘अन्तरिम राजनीतिक प्रतिवेदन’ले त्यस्तो निश्कर्ष निकालेको हो। यो संयुक्त प्रतिवेदन ४१ पृष्ठको छ।

उक्त प्रतिवेदन वाम एकता संयोजन समितिको अनुमोदनको प्रतिक्षामा छ।

राष्ट्रियताका लागि पार्टी एकता अनिवार्य भएको भन्दै राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर छिमेकी लगायत सबै मित्र राष्ट्रहरुसँग समानतामा आधारित सम्बन्ध विकसित गर्न, पारस्परिक लाभ र आर्थिक विकासलाई केन्द्रबिन्द्रमा राखेर बाह्रय सम्बन्धलाई विकसित गर्न पार्टी एकताको आवश्यकता रहेको प्रतिवेदनको निश्कर्ष छ।प्रतिवेदन अनुसार एकीकृत पाटीले समाजवादको स्थापना गर्ने दीर्घकालिन लक्ष्य लिएको छ। तर त्यसको साधन शान्तिपूर्ण संघर्ष र बहुदलिय प्रतिस्पर्धा हुने छ।

प्रतिवेदनले अहिलेको जनादेशलाई आर्थिक क्रान्तिको ढोका खोल्ने अवसर प्रदान गरेको बताएको छ।

प्रतिवेदनमा भनिएको छ, ‘नेपाली कांग्रेसलाई राष्ट्रको नेतृत्व गर्न र देशको आजको कार्यभार पुरा गर्न नसक्ने शक्तिकारुपमा धकेलिदिएको छ। कांग्रेस चुनावबाट पराजित भएपछि लोकतान्त्रिक मूल्यमान्यतामा आधारित जिम्मेवारी निर्वाह गर्न नसकेको भनिएको छ।’

त्यस्तै राजतन्त्र र हिन्दू राज्यको पक्षमा रहेको राप्रपाका विभिन्न चिराहरु सबै निर्वाचनमा जनताद्धारा बढारिएको प्रतिवेदनको निश्कर्ष छ।
प्रतिवेदनले विभिन्न अन्तर्राष्ट्रिय शक्तिबारे आफ्नो धारणा समेत स्पष्ट पारेको छ। उसले पश्चिमा शक्तिको विश्वव्यापी प्रभुत्वलाई खतरनाक भएको तर चीनको उदयलाई, नयाँ अवसर र चुनौतिको रुपमा लिएको छ।

प्रतिवेदनले केही आन्तरिक राजनीतिक विषयमा आफ्नो धारणा पनि व्यक्त गरेको छ।

अतितका सबै संघर्षले कम्युनिष्ट नेतृत्व स्थापनामा सहयोग पुर्‍याएको प्रतिवेदनको निश्कर्ष छ।

त्यस्तै धर्म निरपेक्षता लोकतन्त्रको मान्यता अनरुप रहेको पनि उसको ठहर छ।

उसले एकीकृत पार्टीले लोकतन्त्रको अभ्यासको सुनिश्चितता गर्ने तथा सर्वहारा श्रमजीवी वर्गको सुनिश्चित गर्ने लक्ष्य राखेको बताएको छ भने वर्तमान संविधान विश्वकै लागि नमूना भएको दावी पनि गरेको छ।

नेपाली कांग्रेसलाई नेपाली पुँजीपति वर्गको व्रतिनिधि पार्टीका रुपमा घोषित गर्दै त्यसलाई सम्झौतापरस्त र दलाल प्रवृतिबाट निर्देशित भएको आरोप लगाएको छ ।

कांग्रेसले राष्ट्रिय स्वाधीनता र हितका सन्दर्भमा दृढतापूर्वक उभिन नसकेको भन्दै उसले विगतमा सरकारको नेतृत्व गर्दा ‘राष्ट्रिय हित विपरीत सन्धि सम्झौता र राष्ट्रियतामाथि आघात पु¥याउने निर्णय’ गरेको आरोप पनि प्रतिवेदनले लगाएको छ।

आगामी समिकरणलाई ध्यानमा राख्दै प्रतिवेदनले संसदभित्रका दलहरु मध्ये केवल संघीय समाजवादी फोरमलाई राष्ट्रिय एकता र स्वाधिनताको पक्षधरकारुपमा चिनाएको छ।

प्रतिवेदनमा भनिएको छ,’ फोरमले समाजवाद उन्मुख समावेशी लोकतन्त्रलाई पनि सकारात्मकरुपमा आत्मसात् गरेको छ ।
तर मधेसमा उपस्थिती जनाउन सफल अर्को शक्ति अर्थात राष्ट्रिय जनता पाटी (राजपा)लाई आत्मसमर्पणवादी भएको प्रतिवेदनले आरोप लगाएको छ।

‘राजपाले नेपालमा जातीय, भाषिक र संघीयताको विषयमा अतिवादको पक्षपेषण गर्ने आरोप समेत लगाएको छ,’ प्रतिवेदनले भनेको छ ।
राजपालाई किसान, गरीब लगायत समुदायमा पछि परेका विरुद्धमा उभिएको आरोप लगाएको छ।

प्रतिवेदन माओवादी सशस्त्र विद्रोका बेला भएका मानवअधिकार उलंल्घनका मुद्धामा मौन छ ।

त्यस्तै त्यो बेला माओवादी र एमालेबीचको सत्रुवत सम्बन्धबारे खासै चर्चा नगरी उनीहरुको नेतृत्व तहमा वीचबीचमा भएका सम्पर्कलाई राजनीतिक महत्वका साथ प्रस्तुत गरेको छ।

‘जनवादी क्रान्ति सम्पन्न गर्न बल प्रयोग अनिवार्य रहेको निष्कर्षका साथ नेकपा (माओवादी)ले २०५२ फागुन १ गतेदेखि सशस्त्र संघर्ष सुरु गर्‍यो। लामो समयसम्म एक आपसमा प्रतिष्पर्धा, वैचारिक संघर्ष र तिक्ततापूर्ण सम्बन्ध समेत रहेपनि आन्दोलनका यी दुई धारबीच निरन्तर संवाद र सम्पर्क पनि रहँदै आएको छ’, प्रतिवेदनमा भनिएको छ ।

राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि दुबै धार एकै ठाउँमा उभिनै पर्ने वातावरण बनेको पनि प्रतिवेदनको ठहर छ।

राजाको प्रत्यक्ष शासनको विरुद्धको संघर्षमा पनि मुख्य संवाह शक्ति नेपाली कांग्रेस वामपन्थीहरु नै भएको प्रतिवेदनको दावी छ ।
यस्तै प्रतिवेदनले मेलमिलाप आयोग तथा बेपत्ता छानबिन आयोगको कार्यसमापन र आवश्यक कारवाहीलाई प्राथमिकतामा राखेको छ। एकीकृत पार्टीले शिक्षा र सञ्चारको कायदिशा समेत निर्धाण गर्ने बताएको छ।

नेपालको संयोजकत्वको कार्यदलको सदस्यमा भीम रावल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ, रघुजी पन्त, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुषाल, देवेन्द्र पौडेल छन्।

चैत १९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्