टाइब्रेकरमा मोरङ्ग ११ स्तब्ध, झापा ११ सेमिफाइनलमा

विराटनगर – मोरङ्ग ११ लाई पेनाल्टी सुटआउटमा ५–३ ले स्तब्ध बनाउँदै डार्बी क्लब झापा ११ विराटगनरमा जारी विराट गोल्डकपको पाँचौँ संस्करणको अन्तिम चारमा प्रवेश गरेको छ ।

विराटनगरको शहीद रंगशालामा जारी दिवारात्री प्रतियोगिता अन्र्तगत सोमबार बेलुका भएको क्वाटरफाइनलमा पराजित हुँदै आयोजक मोरङ्ग ११ को यात्रा टुंगिएको छ । विराट गोल्डकपको तेश्रो संस्करण विजेता झापा ११ लाई, सुरुवातमा घरेलु टोली मोरङ्ग ११ ले दबाबमा राखेको थियो ।

खेलको २१ औँ मिनेटमा मोरङ्ग ११ का कप्तान दिपक राईले करिब २५ यार्डको दूरीबाट प्रहार गरेको फ्रि–किक गोलमा परिणत भएको थियो । उक्त फ्रि–किकले सन् २०११ मा नेपालका कप्तान सागर थापाले बंगलादेशविरुद्ध अन्तिम समयमा गरेको फ्रि–किक गोलको झल्को दिएको थियो ।

त्यसैगरी घरेलु दर्शकको राम्रो साथ पाएको मोरङ्ग ११ का लागि खेलको २८ औँ मिनेटमा निरोज बस्नेतले हेडबाट गोल गर्दै टोलीलाई २–० अवस्थामा लगे । उक्त गोल निशान लिम्बूको एसिस्टमा भएको थियो । यद्धपि, उक्त गोल भएको ३ मिनेट नबित्तै ३१ औँ मिनेटमा झापाका लागि कर्ण लिम्बूले गोल गरे ।

रोमाञ्चक बनेको खेलको पहिलो हाफमा अग्रता बनाउन सफल मोरङ्ग ११ दोश्रो हाफमा पनि आक्रमक शैली प्रस्तुत भयो । यसैक्रममा खेलको ५० औँ मिनेटमा झापाका मुफ्ता लावलले आत्मघाती गोल गर्दै मोरङ्ग ११ लाई ३–१ गोलको अवस्थामा लगिदिए ।

झापा त्यसपछि मैदानमा आक्रमक बन्यो । ५८ औँ मिनेटमा झापाका लागि विश्वास श्रेष्ठको फ्रि–किकमा माइकल लाइजेलले हेड गर्दै उत्कृष्ट गोल गरे । ३–२ को अवस्थापछि मैदानमा झापाको समर्थकपनि उत्साहमा देखिए ।

डिफेन्स क्षेत्रमा देखिएको कमजोरीसंगै खेलको अन्तिम २ मिनेट सम्हालिन नसक्दा मोरङ्ग ११ को टोलीले बराबरी गोल आत्मसाथ गर्न पुग्यो ।

खेलको ८८ औँ मिनेटमा झापा ११ का लागि छिरिङ गुरुङले एसिस्ट गरेको लंग सुटमा डिबक्स भित्र रहेका अबु बकार याकुबुले हेडमार्फत सुन्दर गोल गर्दै खेल बराबरीको अवस्थामा पुराए । सो गोलसँगै मोरङ्ग ११ का लागि अर्को दुर्भाग्य थपियो । डिफेन्सको मोर्चा सम्हाल्दै आएका निरोज बस्नेत रेड कार्ड पाउँदै मैदान बाहिर भए ।

उनी बाहिर भएपछि, १० जनामा सीमित मोरङ्ग ११ का खेलाडीले झापाविरुद्ध अन्तिम समयसम्म प्रतिस्पर्धा गरिरहे । निर्धारित ९० मिनेटपछि थप गरिएको कुल ३० मिनेटको समयमा दुवै टोली गोल गर्न असफल भए ।

यसपछि, खेल पेनाल्टीतर्फ धकेलिएको थियो । जहाँ झापाका लागि कप्तान योगेश गुरुङ, विश्वास श्रेष्ठ, छिरिङ गुरुङ, देवेन्द्र तामाङ र माइकल लाइजेलले गोल गरे ।

पेनाल्टीका क्रममा मोरङ्ग ११ को तर्फबाट कप्तान दिपक राई, अशोक खवास र बुद्धिमान राईको प्रहारले मात्रै जाली चुम्यो । साईमान लिम्बूको प्रहार बाहिरिँदा मोरङ्ग ११ झापासँग ५–३ को गोलअन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

खेलसकिएपछि, मोरङका प्रशिक्षक पारस चौधरीले लाइन्समेनको गलत निर्णयका कारण हार भएको गुनासो गरे । ‘अन्तिम समयमा सम्हालिन नसक्दा हार भयो,’ चौधरीले भने, ‘हारको अर्को मुख्य कारण लाइन्समेनको गलत निर्णय पनि हो ।’

त्यसैगरी झापाका प्रशिक्षक प्रवेश कट्वालले पहिलो पटक फ्लडलाइटस्मा रात्रिकालीन खेल खेल्नु पर्दा खेलाडीलाई समस्या भएको बताए । ‘हाम्र खेलाडीलाई मैदान नौलो भएकाले पनि समस्या हुन गयो,’ उनले भने, ‘त्यही भएर नतिजा हात पार्न निक्कै संघर्ष गर्नुपर्‍यो ।’ खेलको म्यानअफ दी म्याच झापाका अवुवकर याकुव घोषित भए ।

सेमीफाइनलमा प्रवेश गरेको झापाले, अब विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबकबिचको विजेता टोलीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । दिवारात्री प्रतियोगिता अन्तर्गत मंगलबार विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफले पूर्वविजेता संकटा क्लबको सामना गर्नेछ ।

चैत २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्