एन्टीबायोटिक औषधिले काम गर्न किन छोड्दै छ ?

डा. समीरमणि दीक्षित

एन्टी भनेको बिरोधी र बायोटिक भनेको जिवाणु (ब्याक्टेरिया) । ब्याक्टेरिया बिरुद्धको एन्टीबायोटिक र त्यसको प्रतिरोधक क्षमतामा आएको ह्रास अहिले विश्वमा चुनौतीपूर्ण विषय बनेको छ ।

विभिन्न कारणले गर्दा एन्टीबायोटिक खाए पनि ९० प्रतिशत मात्रै ब्याक्टेरिया मर्छन् । १० प्रतिशतले विशेष गुण आर्जन गर्ने हुँदा पुनः त्यहि एन्टिबायोटिकले काम गर्दैन ।

डा. समीरमणि दीक्षित

अहिले विश्वव्यापी रुपमा हेर्ने हो भने एन्टीबायोटिक रेसिस्टेन्ट एकदमै डरलाग्दो अवस्थामा पुगेको छ । नेपालमा पनि यस्तो अवस्था आउन थालेको विभिन्न तथ्याङ्कले जनाएको छ । केही ब्याक्टेरिया जसले गम्भीर रोग निम्त्याउँछन् ।

तिनिहरुमा पनि एन्टीबायोटिक रेसिस्टेन्ट आइसकेको छ । जस्तै क्षयरोग, यौनजन्य रोग, फोक्सोमा लाग्ने रोग टाइफाइड लगायतका रोगमा पनि रेसिस्टेन्ट देखिन थालिसकेको छ ।

कुनै पनि रोगको ब्याक्टेरियालाई मार्न र संक्रमण हुन नदिनका लागि एन्टीबायोटिक औषधिको प्रयोग गरिन्छ । तर चिकित्सकको सल्लाह बिना नै एन्टीबायोटिक प्रयोग गर्ने, यदि सल्लाह अनुसार हो भने सही मात्रामा र सही समयमा औषधिको सेवन नगर्ने कारणले गर्दा एन्टीबायोटिले ब्याक्टेरिया मार्न सक्दैन ।

एन्टीबायोटिकले ब्याक्टेरियालाई पूर्णरुपमा मार्न नसक्ने अवस्था त्यतिबेला हुन्छ, जतिबेला बिरामीलाई डाक्टरले रोगको प्रकृति हेरेर पाँच दिनको औषधि दिन्छन् । तर बिरामीले लगातार तीन दिनसम्म खाएर निको भएको महसुस गर्छन् र औषधिको मात्रा पूरा नगरी बिचमै छोडिदिन्छन् ।

दुई दिनको औषधिको मात्रा पूरा नगर्दा उक्त रोगको जिवाणु पूर्णरुपमा मर्दैनन् र शरीरमा फेरि संक्रमण जमाउँछ । जसका कारण पुरानो एन्टीबायोटिकले काम गर्दैन । यसरी एन्टीबायोटिकले ब्याक्टेररिया बिरुद्ध काम नगर्ने अवस्थालाई एन्टीबायोटिक रेसिस्टेन्ट भनिन्छ ।

अहिले कृषि क्षेत्रमा अत्याधिक उत्पादन तथा वृद्धिका कारण भनेकै बालीनालीमा एन्टीबायोटिकको प्रयोगका साथै पोल्ट्री र्फम लगायत विभिन्न पशुपक्षीको उपचार र वृद्धिका लागि पनि एन्टीबायोटिक दिइन्छ । जसका कारण एन्टिबायोटिक प्रवेशपछि पशुपक्षीमा तथा बालीनालीमा औषधि प्रतिरोध ड्रग्स रेसिस्टेन्ट जिवाणु उत्पादन हुन्छन् ।

यस्तो हनु भनेको बिरामी हुँदा खान पर्ने औैषधि धेरै अगाडिबाट खाए जस्तो हो । औषधि प्रतिरोधक ब्याक्टेरिया मानव शरीरमा प्रवेश गरेपछि हाई डोज एन्टीबायोेटिकले पनि काम नगर्ने हुन्छ ।

कतिपय मानिस विभिन्न रोगले ग्रसित हुन्छन् । जुन रोग एन्टीबायोटिकले ठीक पार्ने हुन सक्छ । यस्तो रोग लागेको अवस्थामा औषधि उपचारको क्रममा यदि मानिस मरिहाल्यो भने एन्टीबायोटिकले काम नगरेर हो भन्ने भ्रम रहेको पाइन्छ ।

जसका कारण औषधिले काम नगरेर होइन रोगले मरेको हो भन्ने सोच देखिन्छ । मानिसहरु यो बुझ्दैनन् कि कुनै बेला पशुपक्षी वा बालीनालीमा पहिलेदेखि नै वृद्धि विकासका लागि दिइने गरेको एन्टीबायोटिक र एन्टीबायोटिकयुक्त मासु होस् वा खाद्य पदार्थ खाँदा बिरामी भएको र एन्टीबायोटिकले छुन नसकेको हो भन्ने धेरैले नबुझको अवस्था छ ।

जसका कारण पनि मानव शरीरमा एन्टीबायोटिक रेसिस्टेन्टको बढ्दो क्रममा रहन्छ र रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । यस्तो अवस्थामा एन्टीबायोटिक खाए पनि असर देखिँदैन ।

यसैगरी एन्टीबायोटिक रेसिस्टेन्ट बढ्दै जाने हो भने केही वर्षमा एन्टीबायोटिक कारण मानिसको मृत्यु हुन सक्छ । अहिले प्रयोगशालामा विभिन्न रोगका बिरामीको रगत वा अन्य नमुनामा ब्याक्टेरियामा एन्टिबायोटिक रेसिस्टेन्ट छ कि छैन भनि जाँच गर्ने सुविधा रहेको हुँदा शरीरमा एन्टीबायोटिक रेसिस्टेन्टको कस्तो अवस्थामा छ हेर्न सकिन्छ ।

हाम्रो जस्तो विकासोन्मुख देशमा स्वास्थ्य शिक्षामा सबै नागरिकमा पहुँच नहुँदा र औषधिको समुचित प्रयोग गर्न नजान्दा ब्याक्टेरिया मार्ने एन्टीबायोटिकले हामीलाई मारिरहेको अवस्था छ । जथाभावी एन्टीबायोटिकको प्रयोगले ब्याक्टेरिया बलियो बन्दै गएको छ तसर्थ औषधिको प्रभावकारितामा पनि उतिकै ह्रास आएको देखिन्छ ।

यस्तै धेरै कारणले ब्याक्टेरियाले एन्टीबायोटिकबिरुद्ध क्षमताको बिकास गर्दा समग्र स्वास्थ्य क्षेत्रमा ठूलो समस्याका रुपमा देखा परेको छ । यसलाई न्यूिनकरण गर्नका लागि सफा सुग्घर रहने, अस्पतालमा हुन सक्ने संक्रमण व्यवस्थापन गर्ने, जभाभावी एन्टीबायोटिक बिक्री वितरण साथै समग्रमा स्वास्थ्य पेशाकर्मी कृषक र प्रत्येक नागरिक सचेत हुन जरुरी छ ।

(डा. समीरमणि दीक्षितसँग बिन्दु शर्माले गरेको कुराकानीमा आधारित)

चैत २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्