श्रीमानको मृत्युपछि घरबाटै लखेटिएकी रोशनको कथा

१४ वर्षमा बिहे, १५ वर्षमा विधवा : न नागरिकता बन्यो, न पाइन् आर्थिक सहायता

ससुराले शवीरका कागजात नदिएपछि आर्थिक सहायता नपाएकी रोशन खातुन । केहीदिन पहिले तेश्रो पटक उनी आर्थिक सहायताको प्रक्रियाका लागि काठमाडौं आएकी थिइन् । तर पाइनन् । तस्बिर : उजिर कार्की/देश सञ्चार

काठमाडौं – ‘छोरो बित्यो, अब तिम्रो यहाँ बसेर काम छैन, जाउ आफ्नै माइती ।’ धनुुषाको महेन्द्रनगर नगरपालिका–७ कि रोशन खातुनलाई श्रीमान शवीर राइनको मृत्युपछि ससुराले दिएको सुझाव कम निदेर्शन हो यो ।

यति भनेर सुसुरा ल्याकत मियाले रोशन खातुनलाई घरबाट निकाले । २०७३ सालको साउन ६ गते आत्माहत्या गरेका शवीरको शव साउदीको मुहायल अस्पतालमा राखियो । त्यसको ठीक एक वर्ष पहिले साउन २१ गते उनको रोशनसँग विवाह भएको थियो ।

आत्माहत्या गरेको खबर आएकै दिन त्यहिदिन रोशनका लागि शवीरको घर बन्द भयो । उनी १४ वर्षको उमेरमा छाडेको माइती एक वर्षपछि नै फर्किन बाध्य भइन् । कमाउनका लागि श्रीमान साउदीतिर गएपछि उनै सासुससुराको स्याहर सुसार गर्दै बसेकी थिइन् ।

यो परिवारसँग सम्पत्ति थिएन । तर शवीरले कमाउने आश थियो । तर उनले आत्महत्या गरेसँगै त्यो पनि टुट्यो । तर रोशनका लागि आश मात्रै टुटेन भइरहेको बास पनि उढ्यो ।

हुन त ससुरा ल्याकत मिया पनि छोराको मृत्युपछि शोकमै थिए । तर शोकमै हुँदा पनि बुहारीका लागि दया देखाएनन् उनले । झनै कठोर बने ।

‘तिमी राम्रोसँग बस्नु, बुबाआमाको ख्याल गर्नु’, २०७२ सालको भदौमा शवीरले घर छाड्दा रोशनलाई भनेका थिए । विवाह गरेको एक महिनामै रोशन श्रीमानसँग छुट्दै थिइन् ।

बालखै उमेर तर व्यवहारले थिचिइन् रोशन । आफैलाई सहारा चाहिने बेलामा रोशन सासु ससुराको सहारा बन्नु पर्ने बाध्यता रह्यो । उमेरले भर्खर १५ वर्ष मात्रै भएकी थिइन् ।

अरु यहि उमेरका बालबालिका बुवाआमाको संरक्षणमा बस्छन् । तर उनलाई माइतीले पनि १४ वर्ष भन्दा बढी राखेनन् । शवीरसँग बालविवाह गरिदिएका थिए । आफूभन्दा १४ वर्ष जेठा शवीरसँग उनको विवाह भएको थियो । तर रोशनले पछि शव समेत देख्न पाइनन् ।

यसरी लुकाइयो शव


रोशनलाई झपारेर माइती पठाएपछि ल्याकत छोराको शव झिकाउने प्रक्रिया बुझ्न काठमाडौं आए । तर छोरो विवाहित भएकाले शव बुझे पनि उनलाई आर्थिक सहायता दिन नमिल्ने बताएपछि ल्याकत शव बुझ्ने प्रक्रिया समेत नमिलाई फर्किए ।

लामो समयसम्म ल्याकतले वास्तै गरेनन् । साउदीबाट ताकेता आइरहेको थियो । ६ महिनापछि फेरि काठमाडौं आए । बुहारी हुँदाहुँदै आफूले बितेको छोराको आर्थिक सहायता नपाउने भएपछि उनले प्रपञ्च रचे ।

प्रवर्द्धन बोर्डमा भने, ‘बुहारीले दोश्रो विवाह गरी, अब मलाई नै दिनुस् आर्थिक सहायता, शव पनि मै बुझ्छु ।’

तर प्रवर्द्धन बोर्डका कर्मचारीले वास्तविकता थाहा पाए । अहिलेलाई आर्थिक सहायताको प्रक्रिया नगर्न र पहिले शव झिकाउन तिर लाग्न सुझाएर ल्याकतलाई पठाए ।

ल्याकतले नै कागजात बुझाएपछि शवीरको शव २०७३ सालको चैत १५ गते नेपाल ल्याइयो । ल्याकतले यी प्रक्रिया गरेको रोशन र उनका माइतीलाई भने थाहा थिएन ।

उनका ससुरासँग सम्बन्ध बिग्रिएको थियो । ल्याकत यी सबै कुरा बुहारीलाई लुकाउन चाहन्थे । अघिल्लो वर्ष चैतमा शवीरको दाहसंस्कार गरियो । तर रोशनलाई भने थाहै दिइएन । बरु दाहसंस्कार सकेर ल्याकत छोराका अविवाहित प्रमाण पत्र लिएर काठमाडौं आए ।

श्रम सम्झौता अवधिभित्रै विदेशमा ज्यान गुमाउनेलाई वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले आर्थिक सहायता दिन्छ । बीमा गरिएको कम्पनीले पनि बीमा रकम दिन्छ । तर घर भित्रको लफडाले यो सबै रोकिएको थियो ।

आफूले नपाएपछि बुहारीलाई पनि दिएनन्

ल्याकतले आर्थिक सहायता लिन यी लफडा गरिरहँदा काठमाडौंका केही कार्यालयले थाहा पाइसकेका थिए । प्रवासी नेपाली समन्वय समितिमा उनले कागजात मिलाउन जाँदा त्यहाँका कर्मचारीले थाहा पाएर र प्रवर्द्धन बोर्डमा समेत खबर गरे । त्यसपछि ल्याकतले लैजान लागेको आर्थिक सहायता रोकिएको थियो ।

प्रवासी नेपाली समन्वय समितिका कर्मचारीले नै रोशनलाई खोजे । रोशन आर्थिक सहायता पाइने आशमा काठमाडौं आइन् । तर आर्थिक सहायताका लागि आवश्यक पर्ने सबै कागज उनका ससुरा ल्याकत मियासँग थियो ।

रोशनलाई घरबाट निकाल्ने ल्याकत मिया । उनी बुहारीलाई थाहै नदिई आर्थिक सहायता लिन काठमाडौं आएका थिए ।

शवीरको शव आउँदा त्यससँगै गरहेका कागजात ल्याकतले लिएका हुन् । श्रीमानको शव आएको समेत थाहा नपाएकी रोशनलाई यो कुरा थाहा हुने कुरै भएन ।

ससुराले आफूले रकम पाउने हो भने मात्रै कागजात दिने नभए नदिने बताए । सबै पैसा नपाउने भएपछि ल्याकतले रोशनलाई छोराको मृत्युको प्रमाण पत्र, राहदानी लगायतका कागजात थिएन । आर्थिक सहायता लिनको लागि ती कागजात आवश्यक पर्छ ।

कागजात जुटाउने र आर्थिक सहायताका लागि रोशनले दुई पटक काठमाडौं धाइन तर उनी आफैसँग भने न विवाहको प्रमाण पत्र थियो न त नागरिकता नै ।

प्रशासनले नागरिकता दिएन, पत्र बनाइदियो


गणेशमान चारनाथ नगरपालिकाले रोशनको शवीरसँग विवाह भएको प्रमाण पत्र दियो । विवाह दर्ता र नाता प्रमाणित प्रमाण पत्र श्रीमानको मृत्युपछि तयार भए । तीने कागजात लिएर उनी नागरिकताका लागि आमासँग जिल्ला प्रशासन कार्यालय गइन् ।

पटक पटक धाएपछि प्रशासनले भनेका कागजात त जुटाइन् तर अन्तिममा जिल्ला प्रशासन कार्यालयले नागरिकता दिन नमिल्ने बतायो ।

जन्मका आधारमा नागरिकता वितरण गर्न गृह मन्त्रालयले नै रोक लगाएको भन्दै जिल्ला प्रशासन कार्यालयले उनलाई आर्थिक सहायता लिनका लागि बाटो भने खोलिदिएको थियो ।

जिल्ला प्रशासन कार्यालयले प्रवर्द्धन बोर्डलाई आर्थिक सहायता दिने व्यवस्था गरिदिनु भन्दै लेखेको पत्र लिएर उनी फेरि काठमाडौं आइन् । आर्थिक सहायताका लागि काठमाठौं धाएको तेश्रो पटक थियो यो ।

बोर्डले फेरि अड्को थाप्यो


काठमाडौं आउने जाने क्रममा गत पुसमा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले भनेका थिए, ‘तपाईंलाई अप्ठेरो अवस्था रहेछ, सबै अवस्थामा कागजात मात्रै हेरेर हुन्न, नागरिकता बनाउनुस् र खाता खोल्नुस् तपाईंलाई आर्थिक सहायता दिउँला ।’

पीडाले घेरिएको रोशनका आमा–छोरीको अनुहारमा त्यसले थोरै भए पनि आशाको खुशी भरेको थियो । त्यसको भोलिपल्ट उनीहरु नेशनल लाइफ इन्सुरेन्स कम्पनीमा गए । बीमा कम्पनीले पनि प्रवर्द्धन बोर्डले आर्थिक सहायता दियो भने त्यसैलाई आधार मानेर आफूले पनि बीमा रकम दिने बतायो ।

रोशनले सोचिन्, ‘अब नागरिकता बनाउन सकें भने आर्थिक सहायता पाउने भएँ ।’ जिल्ला फर्किएपछि प्रशासनले दिएका कागजातका आधारमा उनले बैंकमा खाता खोलिन् । तर पछि तिनै कागजात लिएर आउँदा प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशकले बोली फेरे ।

मृत्यु भएको विदेशको कागाजात र सक्कली नै राहदानी ल्याउनु भने । हैन भने पासपोर्ट जफत गरिएको अथवा हराएको प्रमाण खोजे ।
विदेशको कागजात ल्याउन रोशनलाई प्रवासी नेपाली समन्वय समितिका कर्मचारीले सघाए ।

अध्यागमन विभागले त्यो प्रमाण पत्र उपलब्ध गरायो । तर राहदानी उनकै ससुरा ल्याकत मियासँग छ, उनले दिन चाहँदैनन् । जिल्ला प्रहरी कार्यालय धनुषाले पासपोर्ट हराएको वा जफत गरेको भनेर पत्र नबनाइदिएकाले रोशनको आर्थिक सहायता रोकियो ।

चैत २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्