बलात्कारीलाई यसकारण फासी नै दिनुपर्छ

म आफैँ पनि हिंसा, हत्यामा विश्वास नगर्ने मान्छे! अहिंसा, न्याय र समानतालाई शिरमा राखेर अगाडि बढिरहेको छु । बच्चैदेखि शाकाहारी म विभिन्न चाडपर्वमा निर्दोष पशुपन्छीको हत्या भएको देखेर बाल्यकालमा ती पशुपन्छीलाई अंगालो हालेर धेरैपटक रोएको छु। म सानो छँदा कुखरा, बाख्रालाई नमार्नुस् भनेर कति बिन्ति गर्थें तर मेरा अभिभावकहरु – ‘मार’ हानेको देखेर म डराएँ रे भनेर मलाई सिरकभित्र लुकाउनुहुन्थ्यो।

१०, १२ वर्षको भएपछि घुर्की देखाएर, झगडा गरेरै भए पनि मेरो घरमा दशैंमा ‘मार’ हान्ने चलन रोकेँ। दशैंमा मार हान्ने प्रचलन रोक्न सकेको दिन म यति उफ्रिएँ कि- भर्खरै जन्मिएको बाख्राको पाठो र मेरो उफ्राइ उस्तै- उस्तै थियो! मेरो सानो साथी बाख्राको पाठो खुसीले उफ्रिएको देखेर मलाई अहिले पनि मज्जा लाग्छ त्यो क्षण सम्झँदा! कुनै पनि पशुपन्छीमा अगाध प्रेम थिएन तर पनि खै किन हो  कुन्नि, उनीहरुको शरीर र मेरो शरीर एउटै त हो नि भन्ने लाग्थ्यो!

पहाडमा वर्षा याममा बिद्यालय जाँदाआउँदा बाटोमा जुकाले टोक्थ्यो, गर्मी याममा भातको थालभरि झिंगा भन्किन्थ्यो, पहाडमा चिसो भएर महिनौँ दिन ननुहाएर कपालभरि जुम्रालिखा हुन्थ्यो तर पनि सबैलाई टिप्दै फाल्दै गर्थेँ, मार्ने आँट कहिल्यै आएन।

बाल्यकालमा झिंगासम्म नमारेको व्यक्ति किशोर अवस्थादेखि ( २०६० साल)  देखि आजसम्म मानव अधिकारको पक्षपोषक भएर तथा सबै व्यक्तिहरू जन्मजात स्वतन्त्र हुन्, ती सबैको समान अधिकार र महत्व छ भन्ने प्रस्ट बुझाइलाई आत्मसात गर्दै अगाडि बढिरहेको मैले कुनै जीव तथा प्राणीलाई चिमोट्नु समेत असम्भव नै हो!  तर, एक दिन अचानक मेरो आँखाले ४ वर्षीय बालिकालाई आफ्नै मामाले बलात्कार गरेर फालिदिएको दर्दनाक अवस्था देख्यो, आफ्नै बाबुले बर्षौँदेखि बन्धक बनाएर बलात्कार गरेर मरेतुल्य बनाएको ९ वर्षीय  छोरीलाई भेट्यो, होस्टेलमा पढ्न भनी बसेकी बालिकालाई उनकै शिक्षकले हरेक दिन बलात्कार गर्ने भिडियो बनाउने र कतै भनिस् भने तेरो नै बेइज्जत गर्छु भनी बलात्कार गरिरहेको बालिकाको रोदन सुनेँ, आफूले खाइनखाई हुर्काएकी फूलजस्तै छोरी सामूहिक बलात्कारको शिकार भएपछि, त्यो पीडा खप्न नसकी आमाबाबुले नै आत्महत्या गरेको घटना देखें।

यस्तो दर्दनाक छटपटी, पिडा देखेपछि मलाई बलात्कारी मानव हैनन् – मानवले यस्तो घृणित काम सोच्न पनि सक्दैनन् भन्ने लाग्यो।  यिनीहरु मानवको भेषधारी दानव हुन्, दानवलाई कुनै अधिकार हैन सिधै सजाय हुनुपर्छ त्यो पनि मृत्यदण्ड भन्ने लाग्यो। त्यसैले २०६० सालदेखि अनवरत रुपमा बलात्कारीलाई फासी भनेर चिच्याइरहेकी छु।

बलात्कारीलाई फासीको सन्दर्भमा केहीले मलाई मानव अधिकारबादी भएर फाँसी भन्नु मानव अधिकारको धज्जी उडाउनु हो भन्दै मुर्खको संज्ञा दिन्छन् – हो म मुर्ख हुँ! त्यस्तो मुर्ख जसको कुनै ‘वाद’ छैन। अनि म अनपढ गवार नै हुँ, त्यसैले त म मानव भएर मानवका रुपमा बाँच्न चाहन्छु र पीडित मानव हुन्, उनीहरुलाई मानव अधिकारको विश्वव्यापी घोषणापत्रको धारा – ५ अनुसार  बाँच्न पाउनुपर्छ भन्छु तर पीडक दानव हुन्, बलात्कारी भनेको रामको पालाको ”रावण’ अनि कृष्णको पालाको कंसभन्दा पनि निच हुन्। उनीहरु यो ‘कलियुगका राक्षस’ हुन् तसर्थ उनीहरुको ‘वध’ गरिनुपर्छ, यिनीहरुलाई कुनै ‘वाद’ को पगरीमा गुथ्नु भनेको ‘सज्जन पुरुष’ माथिको बलात्कार हो भन्ने मेरो ठम्याइ छ। ी

विश्वव्यापी घोषणापत्रको धारा- ५ र ७  मा कुनै पनि व्यक्तिलाई शारीरिक यातना दिइने छैन अथवा निर्दयी अमानुषिक वा अपमानजनक व्यवहार वा सजाय गरिने छैन र सबै व्यक्तिहरु कानुनको दृष्टिमा समान छन् र बिना भेदमाव कानुनको समान संरक्षणको हकदार हुनेछन् भन्ने लेखिएको छ-  आफूलाई मानव अधिकारवादी ठान्नेहरुलाई मेरो प्रश्न छ-  के बलात्कृत छोरी चाहिँ व्यक्ति (मानव) हैनन्?

उनीहरुलाई बलात्कार गरेर शारीरिक र मानसिक रुपमा विक्षिप्त पार्नु कुन वाद अन्तर्गत पर्छ? बलात्कारीले छिन्नभिन्न बनाई समाजमा मुख देखाउन नहुने गर शोषण, ज्यादती र पूरै परिवारको अपमान तथा उनीहरुको आत्मसम्मानको चोट कुन संविधानको कुन धारा अन्तर्गत पर्छ?

१८ वर्षभन्दा कम उमेरको केटा बलात्कारी भएमा उसलाई जेल नलाने सुधारगृह लाने अनि १८ वर्षभन्दा कम उमेरकी केटी बलात्कृत भएमा चाहिँ उसको घरपरिवारबाटै विस्थापित हुनुपर्ने, उसको सिंगो जीवन उसैका लागि बोझ हुने गरी बाँच्नुपर्ने, यो कहाँको समानता हो? खै पीडितको लागि व्यवहारिक संरक्षण? अनि ससाना छोरीहरुको जीवन लुटिरहँदा टुलुटुलु हेरी मात्रै रहने बलात्कृत छोरीको तर्फबाट एक शब्द निकाल्न नसक्ने तिमी चाहिँ कसरी मानव हौ?

कि बलात्कृत छोरीलाई पशु हुन्, मानव हैनन् भनेर घोषणा गर यदि उनीहरु मानव हुन् भने दानवको सत्यानाश गर! नत्र  कुनै दिन तिम्रै छोरी बलात्कृत हुन्छिन्, त्यो दिन पछुताउनु सिवाय अर्को विकल्प छैन।

अन्त्यमा- बलात्कारको पीडा सबैलाई यौटै हुने भए पनि मैले सबै खाले बलात्कारलाई मृत्युदण्ड हुनुपर्छ भनेको हैन, तर हाडनाता करणी (आफ्नै परिवारबाट भएको), बृद्ध आमामाथिको करणी, सामूहिक करणी, बालिकामाथिको करणी र अपांगता भएका व्यक्तिमाथिको करणीमा कुनै पनि कम्प्रोमाइज गरिनुहुन्न अविलम्व कानुन संशोधन गरेर फाँसीको सजाय त्यो पनि पीडित छोरीको हातबाट गरिनुपर्छ।

ऐनमा ‘कसैले’ जबर्जस्ती करणी गरेमा भन्ने शब्दावली भएको हुँदा ‘कसै’ भनेपछि महिला पनि हुन सक्छन् र  केही महिलाले पनि यौन तृष्णा मेटाउन ससाना बालकहरुलाई जबर्जस्ती गरेका घटना पनि आएका छन् अदालतमा। यदि म आफैँले पनि भोलिको दिनमा त्यस्तो कुकृत्य गरेछु भने पनि म झुन्डिन तयार भएरै बलात्कारीलाई  मैले मृत्युदण्डको सजाय माग गरेकी हुँ।

मान्छे जन्मिँदै सामाजिक प्राणी हो र संसारमा एउटै मात्रै प्राणी मान्छे हो जसको जन्मजातै चेतना छ, यो गर्न हुने नहुने प्रस्ट थाहा छ, मानवीय दायित्व छ।

यो सब भुलेर कुकृत्य गर्ने जोसुकै होस्, उसलाई मानव स्वीकार्न हामी बाध्य छैनौँ। मानवको भेष धारण गरेको दानवलाई सुलीमा नचढाएसम्म हाम्रो निँद हरण भइरहनेछ, हाम्रै आँखा अगाडि गिद्ध सिनो लुछेजसरी हाम्रा कलिला छोरीहरु दानवले लुछिरहने छन्, तसर्थ हामी सबैले बुझौँ- आफ्नी छोरी चेलीको अस्मिताको पहरेदार आफैँ बनौँ- बलात्कारीलाई फासी नै चाहिन्छ भनौँ।

चैत २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्