पशुपतिनाथ क्षेत्र अब बन्यो ‘मगन्ते निषेधित क्षेत्र’

पशुपतिनाथ क्षेत्रलाई मगन्ते निषेधित क्षेत्र घोषणा गर्दै पर्यटनमन्त्री रवीन्द्र अधिकारी। तस्बिरहरु: बर्षा शाह

काठमाडौं- औपचारिक रुपमा पशुपति परिसरलाई ‘मगन्ते निषेधित क्षेत्र’ घोषणा गरिएको छ।

सोमबार पशुपति परिसरमा आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीले पशुपतिलाई मगन्ते निषेधित क्षेत्र घोषणा गरेका हुन्। ‘मगन्ते’ झर्रा शब्द छ, अधिकारीले भने, अब पशुपति सहयोगापेक्षी हुने छैनन्।

उनले ‘मगन्ते निषेधित क्षेत्र’ घोषणा गर्नु महत्त्वाकांक्षी कार्यक्रम भएको भन्दै सरोकारवालाको सक्रियतामा देश भरमै सहयोगापेक्षी नहुने बातावरण बनाउन लाग्नु पर्ने बताए।

पशुपति धार्मिकस्थल मात्रै होईन, यो प्रयाप्त सम्भावना भएको पर्यटकीय स्थल पनि हो त्यसैले पशुपति परिसरलाई जाउँ जाउँ भन्ने नभएर आउँ आउँ भन्ने बनाउनु पर्छ।

मगन्ते निषेधित क्षेत्र बनाउने अभियान सुरु भए पछि बिगत २८ वर्ष देखि पशुपति परिसरमा बस्दै आएकाहरु स्थानान्तरण भएका छन्।

काठमाडौं महानगरपालिका मेयर विद्या सुन्दर शाक्यले पशुपति जस्तो पवित्र स्थलमा पवित्र काम भएकाले अभियानलाई सफल बनाउन महानगरपालिका पुर्व सहयोग गर्न तयार रहेको बताए। पशुपति क्षेत्र मगन्ते निषेधित क्षेत्र घोषणा भइरहँदा त्यस क्षेत्रमा मगन्ते देखिएका थिएनन्।

उनले काठमाडौं उपत्यकाका अन्य धार्मिक स्थल पनि मगन्ते मुक्त क्षेत्र बनाउनु पर्नेमा जोड दिए।

पशुपति क्षेत्र विकास कोषले बिगत ६ महिना देखि पशुपतिलाई मगन्ते निषेधित क्षेत्र अभियान बनाउन सुरु गरेको थियो।

मानव सेवा आश्रम, रक्षा नेपाल लगायतका संघ संस्थाहरु सहयोग पछि कोषलाई पशुपतिलाई मगन्ते निषेधित क्षेत्र घोषणा गर्ने अवस्थामा पुगेको हो।

पशुपतिमा धार्मिक र आध्यात्मिक बातावरण बनाउन मगन्ते निषेधित क्षेत्र घोषणा गरिएको कोषका सदस्य सचिव डा प्रदिप ढकालले जानकारी दिए।

उनले भने, ‘हामीले बल प्रयोग गरेर कसैलाई हटाएका छैनौं, बिकल्प दिएका छौं।’ ढकाल बाच्नकै लागि कसैले पनि माग्नु नपरोस् भन्ने आफुहरुको चाहना भएको बताउँछन्।

पशुपति परिसरमा माग्ने निषेधित क्षेत्रको अभियान चले पछि मानव सेवा आश्रमले ६१ जनालाई उद्धार गर्दै आश्रममा राखेको छ। मानव सेवा आश्रमका अध्यक्ष राम जी रेग्मीले भने, ‘नाथै नाथको देशमा अनाथ भएर कसैले अनाथ हुने अवस्थाको अन्त्य हुनु पर्ने बताए। मानव सेवा आश्रमले २०८२ सम्ममा सहयोगापेक्षी रहित नेपाल निर्माण गर्ने लक्ष्य लिएको छ। मानव सेवाले शारीरिक र मानसिक रुपमा अशक्त र असाहय ब्यक्तिहरुलाई सहयोग गर्दै आईरहेको छ।

मन्त्री अधिकारीले आश्रममा लैजानुको मुख्य उदेश्य व्यक्तिको सुधार गर्नु भएको बताए। शारीरिक र मानसिक रुपमा अशक्तलाई आश्रममा राख्नु पर्छ अधिकारीले भने, तर  काम गर्न सक्ने क्षमता भएका र सक्षम व्यक्तिहरुलाई  सुधार गर्दै समाजमा नै पुनर्स्थापना गरिनु पर्छ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारी।
मगन्तेरहित पशुपतिनाथ क्षेत्र।
पशुपतिनाथ क्षेत्र।
पशुपतिनाथ क्षेत्र।
चैत २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्