श्वेतपत्रबारे सरकारको जवाफ: सत्य तीतो हुन्छ

काठमाडौं- सरकारले शुक्रबार संसदमा पेश गरको अर्थतन्त्रको श्वेतपत्रको बचाउ गरेको छ।

श्वेतपत्रमा अर्थतन्त्रलाई आवश्यकताभन्दा बढी नकारात्मक ढंगले प्रस्तुत गरेको भन्दै आलोचना भइरहेका बेला सरकारले सत्यतथ्य प्रस्तुत गरेको दाबी गरेको हो।

संसदमा विपक्षी कांग्रेस तथा सत्ता पक्षकै सांसदले अर्थतन्त्रलाई गलत ढंगले प्रस्तुत गरेको भन्दै सरकारको आलोचना गरेका छन्। मंगलबारको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री युवराज खतिवडाले श्वेतपत्र अर्थतन्त्रको यथार्थ चित्रण भएको बताएका हुन्।

श्वेतपत्रमा अर्थतन्त्रको समग्र परिसुचक नकारात्मक रहेको, ढुकुटी लगभग रित्तो अवस्थामा रहेको, लगानीको अधिकांश हिस्सा गैर उत्पादनमूखी क्षेत्रमा खेर गएको, व्यापार घाटा थेग्न नसक्ने अवस्थामा पुगेको उल्लेख थियो।

मंगलबारको संसद बैठकमा विपक्षी कांग्रेसका मीनेन्द्र रिजाल, एमालेका विरोध खतिवडा, माओवादी केन्द्रकी पम्फा भुसाल, राजपाका अनिल झा, संघीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठलगातयले श्वेतपत्रले नकारात्मक सन्देश दिएको भन्दै विरोध गरेका थिए।

सत्ता पक्षकै सांसद श्वेतपत्रको विरोधमा उत्रेपछि प्रधानमन्त्री ओलीले निराशापत्र नभएको जवाफ दिए। उनले भने, ‘श्वेतपत्र निराशापत्र होइन, यथार्थपत्र मात्र हो । अब उप्रान्त यस्तो श्वेतपत्र जारी गर्नु नपरोस् ।’

त्यस्तै विशेष समय लिएर अर्थमन्त्री खतिवडाले पनि श्वेतपत्रको बचाउ गरे। ‘मैंले सत्य कुरा राखेको हुँ। सत्य तीतो हुन्छ। तर, पनि यसबाट टाढा जाने अवस्था छैन, खतिवडाले संसदमा भने।

उनले सबल र आत्म निर्भर अर्थतन्त्र बनाउन आर्थिकस्थितिबारे जानकारी गराएको उल्लेख गरे । श्वेतपत्रले कुनै पार्टीलाई लक्षित नगरेको जिकिर गरे।

चैत २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्