जापानी पहरोमा ६५ फिटको वुद्धको मूर्ति खोप्दै रामचन्द्र

सुखिलाल चौधरी

गाईघाट- नेपाली इतिहासको पानामा मूर्तिकृतिका चर्चित कलाकार अरनीको स्वर्णअक्षरमा नाम अंकित छ। त्यसपछिका समयहरुमा त्यस्ता नामहरु त्यतिधेरै नसुनिए पनि यतिबेला उदयपुरका एक युवाको काम चर्चा गर्न लायक छ।

यतिबेला २१ सौं सताब्दीकै सबैभन्दा ठूलो बुद्धको मुर्ती अन्य तीन नेपाली कलाकारहरुका साथ जापानको एक पहरामा खोप्दै गरेका त्रियुगा नगरपालिका ६ का ३४ वर्षिय रामचन्द्र पण्डीतको मुर्तीकथा घतलाग्दो छ। डेडबर्ष अघिदेखि ६५ फिट अग्लो र २ सय फिट फराकिलो, बुद्धमुर्ती निर्माण गर्दै गरेका यी कलाकारहरुको कला, काम र साधना भोलीका दिनमा इतिहासमा अंकित लायक छ।

माटोको भाडाकुडा बनाउने, भगवानका मुर्तीहरु निर्माण गर्ने पुर्खौली पेशा भएको कुम्भकार पण्डित परिवारमा जन्मिएका पण्डित, सानैदेखि माटोमै रमाउने गर्दथे। सानैदेखि पढाईमा भन्दा मुर्तीकृति र चित्रकला, हस्तकलामा धेरै चासो दिन्थे। “बल्याकबोर्डमा चित्र बनाउनु पर्यो भने सबैभन्दा पहिलो अगाडी सर्थे” बाल्यकालको पढाईको स्मरण गर्दै उनले भने “विद्यालयमा पढाई भईरहदा म गाउँघर, बजारमा कहाँ, कस्तो मुर्ती बन्दैछ, त्यसको खोजी गरिहिड्थे र त्यसैमा टोलाउदै कल्पनामा डुब्थे र रमाउने गर्दथे। ”

बुवा, आमा, बाजेले घरमै माटोको भगवानका मुर्तीहरु बनाउने भएकाले उनीहरुबाटै बनाउने सिकेका उनलाई बनाइएका मुर्तीहरु खोलामा सेलाउनु (फाल्नु) पर्दा मन खिन्न हुन्थ्यो। “कत्ति धेरै मेहनतले बनाइएको मुर्तीकला फालेर नष्ट गर्नुपर्दा साह्रै मन दुख्थ्यो। ” उनले भने। माटोबाट बनाइएकाले नटिक्ने भएकाले फाल्नै पर्ने हुन्थ्यो।

किशोराबस्था पार गर्दैताका उनको मनमा माटोको मुर्तीलाई कसरी ढुंगा, सिमेन्ट, फाईबरमा परिणत गर्न सकिन्छ भन्नेतर्फ लागे। त्यसै सिलसिलामा उनले विभिन्न अग्रजहरुको कार्यकक्षमै धाएर ज्ञान, सीप ग्रहण गर्न पुगे। देविदेवताको मुर्ती घरको परम्परागत वातावरणबाटै दक्ष भएका पण्डितले चितवनका सूर्य केसी, सिलगुडीकाबंगाली मुर्तीकारहरु, काठमाडौंमा थाईल्याण्डका मुर्तीकारहरुसंग सिकेका थिए।

५९ सालमा हस्तकलामा उदयपुर जिल्ला प्रथम भएका पण्डितले ललितकला सम्बन्धी औपचारिक शिक्षा लिन नपाएपनि दक्षता अस्वभाविक छ। श्रष्टादेखि शहीदसम्मका सयौं मुर्तीकृर्ति बनाईसकेका पण्डितमा कसैको अनुहार प्रत्यक्ष वा फोटोमा हेरिसकेपछि जस्ताको तस्तै मुर्तीमा उतार्न सक्ने विशेष प्रतिभा र क्षमता छ।

पहिलोपटक उदयपुरको पुरानो श्रष्टा कवि गम्भिरबहादुर थापाको मुर्ती जस्ताको तस्तै उतारेका पण्डितले, दाङका पहिलो जनआन्दोलनका सहिद उमेशचन्द्र थापा, बिपी कोइराला, गणेशमान सिंह, भुपिशेरचन, मनमोहन अधिकारी, पारिजात जस्ता नेपालका ऐतिहासिक व्यक्तिहरुको मुर्ती बनाइसकेका छन्। भुटानको पहिलो राजाको मेटलमा मोडलसमेत सफलरुपमा उतारेका पण्डितको यिनै प्रतिभा र क्षमताका कारण जापानमा बुद्धमृर्ति बनाउने काम पाएका थिए।

ललितकला क्याम्पसका प्राध्यापकसमेत रहनुभएका मुर्तीकार सूर्य केसीको नेतृत्वमा जापान पुगेका थिए। केही समयपछि स्वास्थ्य स्थितिका कारण केसी फर्किनु भएपछि पण्डित लगायत मोरङको मञ्जुल मितेरी, काभ्रेका सानुभाइ विश्वकर्मा लगायत जापानमा काम गरिरहनु भएको छ।

विदामा घर आएको बखत भेटिएका कलाकार पण्डितले कला, प्रतिभाको माध्यमबाट अन्तराष्ट्रियमा गएर नेपाल र नेपालीको नाम राख्न पाउदाको खुसी मात्र हैन, नेपालमा जन्मिएका शान्तिदुत बुद्धको मूर्ती, त्यो पनि उन्नाईसौ, बिसौं, एक्काइसौं सताब्दीकै सबैभन्दा ठूलो निर्माण गर्ने अवसर पाउदाको गौरबले छाति फुलेको बताए। पहाराको ढुंगा फुटाएर बुद्ध आकृति निकाल्नु आफैमा कठीन र चूनौतीपूर्ण रहेपनि देशको गौरबका लागि एउटा गतिलो अवसरको रुपमा ग्रहण गरेर काम गरिरहेको पण्डितले बताए।

“सुरुमै काम र ठामको बारेमा सुन्दा निकै कठीन र चुनौतीपूर्ण छ भन्ने बुझेका थियौं, तर यसलाई नै राष्ट्रिय गौरबको अवसरको रुपमा लिएर काम थाल्यौं” जापानमा मुर्ती बनाउदाको अनुभव सुनाउदै उनले वर्णन गरे, “त्यो हिउ परिराख्ने ठाउँ हो, स्काफोल्डिङमा बसेर काम गर्नुपर्छ। कठिन भएपनि जाँगर मर्दैन। ” पाँचवर्षमा पुरा गर्ने लक्ष लिएको टिमले मुख्य बुद्धमुर्ती वाहेक अन्य दुईओटा ४० फुटको र अन्य साना ४ वटा गरी सात वटा मुर्ती निर्माण गरिरहेको उनले बताए।

आफू कलाकार हुनुमा गौरब गर्नुहुने उनले आफ्‍नो कलाबाट नै देशलाई चिनाउने र योगदान दिने बताउँछन्। कलाकार बाचुन्जेल ठिकै भएपनि, जिवनपरन्त नाम निसाना मेटिने भएकाले त्यसलाई युगयुगसम्म जीवन्त राख्न उनीहरुको सालिक राज्यले स–सम्मान संरक्षण गर्नुपर्नेमा उनको जोड छ। त्यसका लागि उनले आफ्‍नो जीवनकालमा केही महत्वपूर्ण मुर्तीकृतिहरु उपहार स्वरुप राज्यलाई प्रदान गर्ने बताए।

‘राज्यले वातावरण बनाईदिए जापानकै जस्तो नेपाली पहरामा पनि देशका लागि महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वहरुको मुर्ती बनाएर राज्यलाई उपहार प्रदान गर्ने धोको छ। ” पण्डितले भने।

सीप सिकेर कहिल्यै पुरा नहुने बताउनु हुने पण्डितले श्रमलाई सम्मान गर्ने जापानमा आफुहरुलाई सिपालु र प्रशिक्षणयुक्त कलाकार भनेर काममा लगाएको भएपनि त्यहाँको प्रविधि, जुन नेपालमा नरहेकाहरु बारे जान्ने मौका मिलेको बताए।

जापनबाट फर्केपछि आआफ्‍नै देशका डाँडाकाडा, पहराहरुमा पनि त्यसखालको प्रविधि अपनाएर सजिलै राम्राराम्रा मुर्तीकृति निर्माण गर्न सकिने उनले बताए। त्यसका लागि राज्यले वातावरण सिर्जना गरिदिनुपर्ने उनको भनाई छ।

चैत २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्