संकटा क्लब विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर – पूर्वविजेता संकटा क्लब जारी विराट गोल्डकपको पाँचौँ संस्करणको अन्तिम चारमा स्थान पक्का गर्न सफल भएको छ ।

राटनगरस्थित शहीद रंगशालामा मंगलबार राति भएको खेलमा विभागीय टोली एपिएफलाई १–० ले स्तब्ध बनाउँदै संकटाले अन्तिम चारको टिकट काटेको हो । रोमाञ्चक बनेको खेलमा जित हात पारेको संकटाका लागि अफ्रिकीमुलका जिब्रेल टओरे नायक बने ।

उनले खेलको ६१ औँ मिनेटमा डिबक्स बाहिरबाट गरेको सशक्त प्रहार गोलमा परिणत भएको थियो । जसमा एपिएफका गोलकिपर राजु नगरकोटी गोल बचाउन असफल भए ।

यसअघि दुवै टोली पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएका थिए । त्यसपछि दोश्रोमा हाफमा मैदानमा पूर्वविजेता संकटा थप आक्रमक बनेको थियो । सोही क्रममा म्यान अफ दि म्याच घोषित जिब्रेलले गोल गरेका थिए ।

त्यसपछि गोलका लागि राम्रो अवसर बनाए पनि नतिजा निकाल्न नसक्दा पराजित एपिएफ प्रतियोगिताबाट बाहिरिएको छ । खेल समाप्तिपछि संकटाका प्रशिक्षक सल्यान खड्गीले दोस्रो दर्जाका खेलाडी लिएर मैदानमा उत्रदा पनि राम्रो नतिजा निकाल्न सकिएको बताए ।

प्रशिक्षक खड्गी, २०७० सालमा संकटाले विराट गोल्डकपको उपाधि उचाल्दा टोलीको कप्तान थिए । अर्कोतर्फ पहिलो खेलबाटै प्रतियोगिताबाट बाहिरिएको एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले नया खेलाडी भएका कारण जित हात पार्न नसकिएको प्रतिक्रिया दिए ।

जित हात पारेको संकटा क्लबले अब, मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबिचको विजेतासँग सेमिफाइनलमा स्पर्धा गर्नेछ ।

मनाङ्ग मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबको भिडन्त बिहीबार हुँदैछ । त्यसैगरी प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

चैत २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्