नेपाली भनेर कमसल भारतीय सुनको बिक्री

चैत – महोत्तरी जिल्लाको विभिन्न शहर बजारमा भारतबाट तस्करी गरी ल्याइएको कमसल सुन नेपाली भनेर बिक्री भइरहेको रहस्य खुलेको छ ।

महोत्तरीको विभिन्न बजारबाट २२ र २४ क्यारेटका सुन भारत तस्करी हुने गरे पनि अहिले भारतबाटै १८ र २० क्यारेटको सुन महोत्तरीको विभिन्न बजारका सुनचाँदी पसलेले मगाएर २२ र २४ क्यारेटको मूल्यमा बिक्री गरिरहेको नाम नछाप्ने शर्तमा एक सुन व्यापारीले बताएका छन् ।

महोत्तरीको सीमा नाकासँग जोडिएको सदरमुकाम जलेश्वरसहित सम्सी, मटिहानी, खैरबन्नी, रघुनाथपुरलगायतका बजारमा भारतीय १८ र २० क्यारेटका सुन २२ र २४ क्यारेट भन्दै उपभोक्तालाई बेच्ने काम भइआएको छ ।

यसका अलावा सुन तस्करले जिल्लाको गौशाला, बर्दिबास, औरही, बलवा, पिपरा र भ्रमरपुरा बजारमा पनि भारतीय सुन पुर्‍याउने गरेको उनले बताए ।

साधारणतया उपभोक्तालाई सुनको गुणस्तरबारे थाहा नहुने भएका कारण पसलेले सोझासाझा नेपाली ग्राहकलाई भारतीय सुन नै नेपाली मूल्यमा बिक्री गरिरहेको बताइन्छ ।

सुनचाँदी पसलेले ग्राहकको बिलमा सुनको क्यारेट उल्लेख नगरी केवल परिमाण मात्र उल्लेख गर्ने गर्दछन् । नेपाली सुनको मूल्यमा भारतीय सुन बिक्री गर्दा मूल्यमा ठूलो अन्तर रहने र धेरै मुनाफा हुने नाम उल्लेख नगर्ने शर्तमा अर्का एक व्यापारीले बताए ।

जिल्लाको ग्रामीण भेगमा त झन् बढी ग्राहक ठगीमा पर्ने गरेको छ । अहिले नयाँ सुनचाँदी पसलले मात्रै नभएर जिल्लाको विभिन्न बजारमा ख्याति कमाएर बसेका पुराना सुनचाँदी पसल समेत यस अवैध धन्धामा संलग्न रहेको दाबी ती व्यापारी गरेका छन् ।

महोत्तरीको विभिन्न बजारमा गरी दैनिक १० किलोग्रामभन्दा बढी सुन बिक्री हुने गरेको छ ।

चैत २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्