विदेश जान एजेन्टलाई बुझाएको जग्गा १३ वर्षपछि फिर्ता

एजेन्टले खाएको जग्गा १३ वर्ष पछि फिर्ता लिएकी मनवीरकी आमा उजेली दर्जी। तस्बिर सौजन्‍य: रञ्‍जना लम्साल

काठमाडौं-नवलपरासीको गैंडाकोट नगरपालिका २ का लक्ष्मण दर्जीले छोरो विदेश पठाउन एजेन्टलाई बुझाएको जग्गा १३ वर्षपछि फिर्ता पाएका छन्।

छोरो मनवीरलाई वैदेशिक रोजगारीमा पठाउन खर्च नभएपछि एजेन्ट दशरथ गिरीलाई पास गरिदिएको जग्गा सूचना तथा परामर्श केन्द्रको पहलमा फिर्ता गरिएको हो। सूचना केन्द्रले गैडाकोट नगरपालिका, जिल्ला प्रशासन कार्यालय कावासोती र जिल्ला समन्वय समिति कावासोतीको सहयोगमा लक्ष्मण दर्जीकी श्रीमती उजेली दर्जीको नाममा फिर्ता गराएको सूचना केन्द्रकी परामर्शकर्ता रन्जना लम्सालले जानकारी दिइन्।

छोरोलाई विदेश पठाउन ८५ हजार रुपैयाँ जुटाउन नसक्दा यो परिवारले कित्ता नम्बर १२६० को दुई कठ्ठा जग्गा पास गरिदिएका थिए। दशरथ पनि गैंडाकोट ५ कै हुन्। बुझाएको थियो। कतार जान ८५ हजार रुपैयाँ बुझाउनुपर्ने थियो। तर मनवीरलाई दशरथले कतार पठाउनुको सट्टा आफैं बेखबर भएका थिए। पारिवारिक तनावका कारण मनवीरका बुवा लक्ष्मणले भने आत्माहत्या गरेका थिए।

एजेन्ट सम्पर्कमा नभएपछि मनबिर रोजगारीका लागि भारत गएका थिए। यसअघि इलाका प्रहरी र गाविसको कार्यालयमा भन्दा समेत उनले जग्गा फिर्ता गराउन सकेका थिएनन्।

२०७२ सालमा सूचना तथा परामर्श केन्द्रको सम्पर्कमा आएर उनले जग्गा फिर्ताका लागि पहल गरिदिन अनुरोध गरेका थिए। सुचना केन्द्रले दर्जी परिवारको समस्या बारे पत्रकार सम्मेलन गरेरै जानकारी समेत गराएको थियो। त्यसपछि सरकारी निकायले समेत चासो दिएका हुन्।

चैत २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्