महिला ह्याण्डबलमा ऐतिहासिक उपलब्धि- नेपालगञ्जमा सम्मान

नेपालगञ्ज – दक्षिण एशियाली च्याम्पियनसीपमा पहिलो पटक दोस्रो भएको महिला ह्याण्डबल टीमलाई नेपालगञ्जमा स्वागत तथा सम्मान गरिएको छ ।

चैत १७ देखि २० गतेसम्म भारतको लखनऊमा सञ्चालन भएको पाँचौ दक्षिण एशियाली च्याम्पियनशीपमा दोस्रो भएको नेपाली महिला ह्याण्डबल टोली बुधबार नेपाल फर्किने क्रममा नेपालगञ्ज आइपुग्दा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले स्वागत तथा सम्मान गरेको हो ।

नेपाली महिला ह्याण्डबल टीमको दक्षिण एशियाली च्याम्पियनशीलमा दोस्रो स्थान प्राप्त गर्नु अहिलेसम्मकै ठूलो उपलब्धी हो । विगतमा नेपालले यसप्रकारको प्रतियोगितामा तेस्रो स्थानसम्म हासिल गरेको वरिष्ठ प्रशिक्षक अरुणलाल कर्णले बताए ।

विधायक एवं ओलम्पियन सुरेन्द्र हमाल, राखेपका सदस्य विनोद मैनाली, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम वली, उपाध्यक्ष नरेन्द्र थापालगायतले ऐतिहासिक उपलब्धी हासिल गर्ने ह्याण्डबल खेलाडी तथा प्रशिक्षकलाई खादा ओढाएर सम्मान गरे ।

विधायक एवं ओलम्पियन हमालले महिला ह्याण्डबल टीमले नेपालीको शीर उँचो बनाएको बताए । ‘यो जीत ह्याण्डबल खेलाडीको मात्रै होइन, राष्ट्रको हो, भारोत्तोलनका ओलम्पियन हमालले भने, अब नेपाली महिला ह्याण्डबल टीमले अर्जुनले चराको आँखालाई जसरी स्वर्णपदकका लागि निशाना बनाउनुपर्छ ।’

क्षेत्रीय अध्यक्ष वलीले विदेशी भूमिमा गएर नेपाली महिला ह्याण्डबल खेलाडीले नेपाली झण्डा फहराउदा नेपालीको छाती चौडा भएको बताए । ‘खेलाडीले जित्दा सिंगो देशले जित्छ, आज हामीलाई गर्व भएको छ, वलीले भने, पाँच नम्बर प्रदेशमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता लगत्तै हुने १३ औं साफमा नेपाली टोलीले स्वर्ण जित्ने संभावना बढेको छ ।’

पाँचौ दक्षिण एशियाली च्याम्पियनशीपमा नेपाल, भारत, बंगलादेश, भुटान र अफगानिस्तान सहभागी भएका थिए । नेपालले बंगलादेशलाई २६–१७, भुटानलाई २६–३ र अफगानिस्तानलाई २६–३ गोलले पराजित गरेको थियो । फाइनलमा भारतसँग १५–५ गोलले पराजित भएको थियो ।

भारतकै गुहाटीमा भएको १२ औं सार्कमा नेपाली महिला टीम सेमिफाइनलमा बंगलादेशसँग थोरै गोल अन्तरले पराजित भएर मेडलबाट बञ्चित भएको थियो । त्यसको बदला नेपाली टीमले अहिले लिएको छ ।

१२ औं सार्कमा नेपाली महिला ह्याण्डबल टीमले मेडल जित्नेमा नेपाली टोली ढुक्कजस्तै थियो । राखेपले अन्तिम समयमा आएर प्रशिक्षक परिवर्तन गर्दा खेलस्तर खस्केको थियो । जानकारहरु भन्छन्, अहिलेका वरिष्ठ प्रशिक्षक कर्णले नै महिला टीमलाई प्रशिक्षण दिइरहेका बेला अन्तिम समयमा राखेपले उनलाई पुरुष टोलीतिर पठाएका थिए । जसको नतिजा झिनो मतले बंगलादेशसँग सेमिफाइनलमा हारेर पदक बिहीन बन्यो ।

नेपाली ह्याण्डबल टीममा विभागीय खेलाडीको बर्चस्व रहेको छ । ६ जना आर्मी र ६ जना सशस्त्र प्रहरीका छन् । दुई जना पूर्वाञ्चलका खेलाडी छन् ।

विभागीय टीमको बर्चस्व र नियमित अभ्यास भइरहने भएकाले आगामी दिनमा हुने दक्षिण एशियाली खेलकुद प्रतियोगितामा नेपाली टीमले भारतलाई टक्कर दिने प्रशिक्षकहरु बताउँछन् ।

टीम कप्तान उमा राईले तीन देशलाई सहजै पराजित गरेपनि भारतलाई जित्न नसकेको बताइन् । भारतस्तर नेपालको भन्दा माथि छ ।

ऐतिहासिक पदक जितेर फर्किएको टोलीमा नेपाल ह्याण्डबल संघका वरिष्ठ उपाध्यक्ष रामकृष्ण केसी, महासचिव सन्देश रेग्मी, प्रशिक्षक रमेश सापकोटालगायत रहेका छन् ।

चैत २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्