उपाधिमा ह्याट्रिक गर्ने सम्भावना

बार्सिलोनाले जित्यो, पायो दुई उपहार गोल

च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस ला लिगा क्लब बार्सिलोनाले प्रभावशाली जित दर्ता गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा बार्सिलोनाले इटालियन सिरी ए क्लब रोमालाई ४–१ ले हराएको हो ।

तर यो जितमा बार्सिलोनाले मात्रै दुई गोल गरेको हो । उसले थप दुई गोल उपहारमा पायो अर्थात रोमाका खेलाडीले आत्मघाती गोल गरे । ३८ औँ मिनेटमा रोमाका डानिएले डी रोसीले आत्मघाती गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा १–० को अग्रता लियो ।

बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीको प्रहार जोगाउने क्रममा डी रोसीले आफ्नै पोस्टमा गोल प्रहार गरेका हुन् । दोस्रो हाफको सुरुमा पनि रोमाले आत्मघाती गोल गर्‍यो ।

५५ औँ मिनेटमा कोस्टास मानोलासले आत्मघाती गोल गरेपछि बार्सिलोनाको अग्रता २–० मा पुग्यो । त्यसको चार मिनेटपछि बार्सिलोनाका लागि जेरार्ड पिकेले गोल गरे । लगातार दुई पटक आफ्नै पोस्टमा गोल प्रहार गरेको रोमाले ८० औँ मिनेटमा मात्रै बार्सिलोनाको पोस्टमा गोल गर्‍यो ।

उसका लागि ८० औँ मिनेटमा इडेन डिजेकोले गोल गरेर आश जगाए । तर ८७ औँ मिनेटमा लुइस स्वारेजले बार्सिलोनाका लागि गोल गरेपछि रोमाको बराबरी वा जितको सपना टुट्यो ।

स्वारेजले एक वर्षभन्दा बढी समयपछि पहिलो पटक च्याम्पियन्स लिगमा गोल गरेका हुन् । उनले सन् २०१७ को मार्च यता भएका च्याम्पियन्स लिगका १० खेलमा गोल गर्न सकेका थिएनन् । यो जितले बार्सिलोनालाई यो सिजन उपाधिमा ह्याट्रिक गर्ने सम्भावना कायम राखेको छ ।

बार्सिलोना घरेलु लिग ला लिगामा शीर्ष स्थानमा छ । कोपा डेल रेको फाइनलमा पुगेको छ भने च्याम्पियन्स लिगको सेमिफाइनल यात्रा पनि अब प्रायः निश्चितजस्तै भएको छ ।

चैत २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्