पहिलो हाफमै सम्हालिन सकेन म्यानचेस्टर सिटी, हार्‍यो नराम्रोसँग

यो सिजन प्रायः सबै प्रतियोगितामा निकै राम्रो प्रदर्शन गर्दै आएको इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा नराम्रोसँग पराजित भएको छ ।

अवे मैदानमा बुधबार राति भएको पहिलो लेगमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटी जर्गेन क्लोप्पको अर्को इंग्लिस क्लब लिभरपुलसँग ३–० ले पराजित भएको हो ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जिताउन यो सिजन निकै राम्रो लयमा देखिएका मोहमद सालह, एलेक्स ओक्स्लेड चेम्बरलेन र साडिओ मानेले गोल गरे ।

लिभरपुलले तीनै गोल पहिलो हाफमा नै त्यो पनि ३१ मिनेटभित्र गरेको हो । गार्डिवलाको टिम अवे मैदानमा सुरुको ३१ मिनेट सम्हालिन नसक्दा महत्वपूर्ण खेलमा पराजित भयो ।

सालहले १२ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए । त्यसको ८ मिनेटपछि चेम्बरलेनले अग्रता दोब्बर पारे । ३१ औँ मिनेटमा मानेले गोल गरेपछि लिभरपुलले पहिलो हाफमा ३–० को अग्रता लियो । सालहले यो सिजन अहिलेसम्म लिभरपुलका लागि ३८ गोल गरिसकेका छन् ।

म्यानचेस्टर सिटीले खेलमा फर्किने प्रयास गरेको हो तर सफल हुन सकेन ।

अब आउँदो हप्ता घरेलु मैदानमा हुने दोस्रो लेगमा पहिलो लेगको नजिता उल्ट्याउने गरी जित निकाल्न नसके प्रिमियर लिगको उपाधि नजिक पुगेको म्यानचेस्टर सिटीको च्याम्पियन्स लिगको उपाधि यात्रा क्वाटरफाइनलमै टुंगिनेछ ।

चैत २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्