२० वर्षअघिको घटनामा सलमान खान दोषी ठहर, ६ वर्षको जेल सजाय हुन सक्ने

झण्डै २० वर्ष पहिलो कालो हरिण मारेको आरोपमा बलिवुड अभिनेता सलमान खान दोषी पाइएका छन् । सन् १९९८ मा जोधपुरको ग्रामिण क्षेत्रमा कालो हरिण मारेको आरोपमा अभिनेता खानसहित अरु पाँचजनामाथि मुद्दा दायर भएको थियो ।

सलमान खानसँगै अभिनेता सैफ अली खान, अभिनेत्री सोनाली बेन्द्रे, तब्बू र नीलमको नाम पनि यो घटनामा जोडिएको छ । भारतीय अदालतले सलमानलाई दोषी ठहर गरेको छ ।

अरु सबैलाई आरोप मुक्त गरिएको छ । सलमानका वकिलले उनका लागि तीन वर्ष भनदा कम जेल सजायको माग गरिरहेका छन् ।

जोधपुरमा चलचित्र हम साथ साथ हैं को सुटिङ्गको क्रममा यो घटना भएको आरोप छ । भारतको वन्यजन्तु कानुन अनुसार यो मुद्दा दायर भएको हो । यो कानुन अनुसार दोषी ठहर हुनेले ६ वर्षसम्म जेल सजाय हुने प्रावधान छ ।

सलमान खानसँगै सबैले आफूहरुमाथि लागेको आरोप आधारहिन रहेको बताए । सलमानका वकिल हस्तीमाल सारस्वतले उनलाई झुटो मुद्दामा फसाइएको बताएका छन् ।

चैत २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्