एअाईजीकी श्रीमती भन्दै ठगी, जागिर लगाइदिने नाटक
काठमाडौं- राष्ट्रिय अनुसन्धान विभागको एआइजीकी श्रीमती हुँ भन्दै जागिर लगाइदिने बहानामा ठगी गर्ने महिला पक्राउ परेकी छिन्। काठमाडौं प्रहरीले तनहुँको ब्यास-११ बस्ने ४० वर्षीया यमुना खड्कालाई पक्राउ गरेको हो।
खड्कासहितको संगठित समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यो समूहले अार्मी र अनुसन्धानमा जागिर लगाइदिने शान्ती मिसन पठाइदिने र युरोपका विभिन्न देशमा पठाइदिने भन्दै ठगेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व पोखरेलले जानकारी दिए।
समूहका अन्य सदस्यमा मोहन दुरा , पशुपति अधिकारी र रमेश कुमाल छन्।
प्रहरीका अनुसार यो गिरोहले सिपाहीमा भर्ना गरेबापत प्रतिव्यक्ति २ लाख, सेनाको सेकेन्ड लेफ्टिनेन्टका लागि ७ लाख, शान्ति सेनामा पठाइदिनका लागि २ लाख रुपैयाँ लिने गरेको थियो।
दुराले आफूलाई नेपाली सेनाको जमदार तथा बहालवाला जर्नेलको पिएका रुपमा चिनाएर ठगीको जालोमा पार्ने गरेका थिए।