महाशाखाका एसएसपी लोहनीलाई हेडक्वाटर तान्न पत्राचार

काठमाडौं- गृह मन्त्रालयले महानगरिय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीलाई जिम्मेवारीबाट हटाउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ। बिहीबार गरिएको पत्राचार अनुसार लोहनीलाई हेडक्वाटर तान्न भनिएको छ।

विराटनगरमा सुन कारोबारी सनम शाक्यको हत्या प्रकरणको अनुसन्धानमा सजिलो बनाउन भन्दै लोहनीलाई जिम्मेवारी मुक्त गर्न निर्देशन दिईएको हो। गृहमन्त्रालयले सहसचिव इश्वरराज पौडेलको संयोजकत्वमा छानबिन समिती गठन भएको थियो।

महाशाखाको टोलीले गत महिना सुन तस्कर भनिएका सनम शाक्यलाई डिकीमा राखेर लैजाँदै‌ गरेको अवस्थामा विराटनगरमा फेला परेको थियो। तस्कर गरि ल्याईएको  ३३ केजी सुन बेपत्ता बनाएको आरोपमा शाक्यको हत्या भएको प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो।

तर क्षेत्राधिकार भन्दा बाहिर गएर विराटनगर पुगेर अप्रेसन गरेको र सुन बेपत्तामा समेत प्रहरीको भुमिका संकास्पद रहेको भन्दै प्रहरी प्रधान कार्यालयले छानबिन समिती गठन गरेको थियो।

यसपछि गृह मन्त्रालयले पनि समिती गठन गरेको थियो। घटनामा मुछिएका महाशाखाका डीएसपी प्रजित केसी र सई बालकृष्ण सन्जेललाई पनि हेडक्वाटर तान्न निर्देशन दिईएको छ।

यता प्रहरी प्रधान कार्यालयले गृहको पत्र प्राप्त भएपनि जिम्मेवारीबाट फिर्ता बोलाउने विषयमा कुनै निर्णय गरेको छैन। स्रोतका अनुसार तीनै जनालाई फिर्ता हुन निर्देशन दिईएको छैन।

गृहले लोहनीलाई फिर्ता बोलाउन निर्देशन दिएपनि उनको स्थानमा कसलाई पठाउने भन्ने विषयमा कुनै निर्णय गरेको छैन।

चैत २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्