राजपाले सांसदबाट दश हजार लेवी उठाउने

काठमाडौं- राष्ट्रिय जनता पार्टीले आफ्ना सांसदबाट प्रत्येक महिना दश हजार लेवी उठाउने निर्णय गरेको छ।

चुनावपछि पहिलोपटक बसेको राजपाको संसदीय दलको बैठकले संघीय संसदका सदस्यबाट मासिक दश हजारका दरले पार्टीको खातामा जम्मा गर्ने निर्णय भएको अध्यक्ष मण्डलका सदस्य अनिल झाले जानकारी दिए।

राजपाका प्रतिनिधिसभामा १७ र राष्ट्रियसभामा दुई जना सांसद छन्।

यस्तै राजपाले संसदीय दलको नेता चयनका लागि प्रक्रिया अघि बढाएको छ।बैठकले संसदीय दलको विधान तयार पार्नका लागि सांसद लक्ष्मणलाल कर्णलाई जिम्मा दिएको छ।

वरिष्ठ अधिवक्तासमेत रहेका कर्णले दलको विधान मस्यौदा गरी बैठकमा पेश गरेपछि संसदीय दलको नेता चयनको प्रक्रिया अघि बढ्नेछ।

राजपामा अध्यक्ष महन्थ ठाकुर, अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो दलको नेताका लागि मुख्य आकांक्षीका रुपमा देखिएका छन्।

चैत २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्