के सलमान खान जेल जालान्?

काठमाडौं- भारत राजस्थानको जोधपुर अदालतले कालो हरिण मारेको आरोप प्रमाणित गर्दै बलिउड सुपरस्टार सलमान खानलाई ५ वर्षको जेल सजाय सुनाएको छ।

सलमान जेल जान्छन् वा जाँदैनन्, त्यो भने अहिले नै भन्‍न नसकने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। उनले उक्त मुद्दा पुनरावेदन गर्ने पाउने भारतीय सञ्‍चारमाध्‍यमहरुले बताएका छन्।

सलमान जेल गएमा भारतीय फिल्म उद्योगलाई करोडौँको नोक्सान हुनेछ। बलिउडका दवंग सलमान खानमाथि बलिउडको करिब ४ सय करोडको लगानी छ। यदि सलमान खान ५ वर्षको लागि जेल गएमा बलिउडलले उक्त नोक्सानी झेल्नुपर्ने छ।

सलमान खान यतिबेला फिल्म ‘रेस-३’ को सुटिङमा व्‍यस्त छन्। सलमानको प्रमुख भूमिका रहेको यो फिल्मको बजेट १५० करोड रुपैयाँ छ। फिल्मको सुटिङ सकिएको छैन। सलमान खान जेल गएमा यो फिल्म बिचमा नै रोकिने छ।

२०१० मा आएको फिल्म ‘दबंग’को तेस्रो श्रृङखला ‘दबंग–३’ पनि छिटै सुरु हुने बताइएको छ। यसमा पनि सलमानको प्रमुख भुमिका छ  जसको बजेट १०० करोड बताइएको छ।

‘रेस–३’ बाहेक उनका बाँकी फिल्म किक-२, दवंग–३ र भारतको सुटिङ सुरु भएकै छैन। ती फिल्मको सुटिङ सुरु नभए पनि प्रि-प्रोडक्शनको काम सुरु भएको छ। त्यसमा कम्तीमा १ सय करोड लगानी भएको छ। सलमान खान जेल गएमा फिल्ममा मात्र होइन, टेलिभिजन रियालिटी कार्यक्रममा पनि असर पर्ने छ।

उनी १० बर्षछि ‘दस का दम’ लिएर आउँदै छन्। उक्त ‘गेम शो’को प्रोमो आइसकेको छ। यो चाँडै सुरु हुँदैछ जसमा सलमान कार्यक्रम प्रस्तोता थिए। यसमा च्यानलले धेरै खर्च गरेको छ। त्यस्तै कलर्स च्यानलमा प्रसारण हुने ‘बिग बोस’ पनि सलमानले नै होस्ट गर्दै आएका छन्। तर, अझैसम्म ‘बिग बोस’ सीजन १२ को घोषणा भने भएको छैन।

सलमान खान ती सुपरस्टार हुन जसमाथि बलिउड फिल्म उद्योग धेरै हदसम्म निर्भर छ। उनी जेल गएमा बलिउड फिल्म उद्योगले धेरै हदसम्म नोक्सानी व्‍यहोर्नु पर्ने छ। यसबाट सलमान पनि टाढा रहने छैनन्, सलमानको करियरमा पनि ठुलो धक्का लाग्ने छ ।

 घटना के हो ?

फिल्म ‘हम साथ साथ है’ को सुटिङका लागि राजस्थानको जोधपुर गएको बेला २६ सेप्टेम्बर १९९६ मा उनले प्रतिबन्धित कालो हरिणको सिकार गरेको आरोप लागेको थियो। तर, त्यसको दुई दिनपछि घोडा फारममा अर्को कालो हरिण मारेको आरोप उनीमाथि नै लगाइएको छ।

त्यही वर्ष २ अक्टोबरमा स्थानीय समुदायले सलमानविरुद्ध मुद्दा दर्ता गराएका थिए। दश दिनपछि उनलाई त्‍यहीँबाट पक्राउ गरिएको थियो भने उनी तुरुन्तै धरौटीमा रिहा भएका थिए। तर, उनको मुद्दा भने चलि नै रहेको थियो। बिहीबार उनलाई जोधपुर अदालतले दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनायो।

त्यति बेला सलमानसँगै ‘हाम साथ साथ है’ को कालाकारहरु सैफअली खान, सोनाली बेन्द्रे, तब्बु, निलम र दुष्यन्तमाथि पनि मुद्दा चलेको थियो। तर, यसअघि नै सलमान खानबाहेक अन्यलाई निर्दोष रहेको फैसला सुनाइएको थियो।

सलमानले यसअघि यहि मुद्दामा जोधपुर सेन्ट्रल जेलमा आठ दिन जेल बसेका छन्। र, उनले आफूलाइ निर्दोष बताउँदै आएका छन्।

के हो कालो हरिण?

यो मृग प्रजातिको दुर्लभ प्राणी हो। यसको सिकार पूर्ण रुपमा प्रतिबन्ध छ। यो प्रजाति नेपाल, भारत र पाकिस्तानमा पाइन्छ। यसको तौल करिव ३५ देखि ४५ केजी र उचाइ ७४ देखि ८८ सेन्टिमिटरसम्म हुन्छ। यो खुला चौर भएको इलाकामा बस्न मन पराउँछ।

आफ्नो रंग बदल्ने र निकै फूर्तिलो यो प्रजाति नेपालमा बर्दियाको गुलरियामा पाइन्छ। र यहाँ यसको संख्या हाल २०० को हाराहारीमा छ।

चैत २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्