टन्न ब्याज दिन्छु भन्दै लाखौँ लिएर महिला बेपत्ता भएपछि…

ठगीमा परेका महिलाहरु। तस्बिर: देशसञ्चार

नेपालगञ्ज – नेपालगञ्जकी सुशीला पौडेल यतिबेला अति नै तनावमा छिन्। घरबार बिग्रिने संघारमा पुगेको छ। श्रीमानले ‘डिभोर्स’ दे भन्न थालेका छन्।

कहाँ जाने, कसो गर्ने अन्यौलमा रहेकी सुशीलाको घरबार नै उठीबास लगाउने अवस्था भने नेपालगञ्ज–४, गणेशपुरकी मिनादेवी सिजापतिले गरेकी हुन्। ‘ब्याज’ को लोभ देखाउँदै ५५ लाख रुपैया लिएर मिनादेवी फरार भएपछि सुशीला तनावमा परेकी हुन्। ‘आफूसँग भएको पैसा गरगरहना र केही अरुसँग सापट मागेर श्रीमानलाई थाहै नदिई पैसा दिएको थिएँ’, सुशीलाले भनिन्, ‘मिनादेवी र उनकी छोरी शर्मिलाले मलाई डुबाए। पैसा खाएर भागे।’

सुशीलाका श्रीमानले चार वर्षपछि घटना थाहा पाएका छन्। आफूलाई थाहै नदिएर यत्रो रकम डुबाएको भन्दै श्रीमानले किचकिचमात्रै होइन, सुशीलालाई डिभोर्स दे भन्न थालेका छन्। सुशीला प्रहरी कार्यालयमा पुगिसकेकी छन्। प्रहरीले बेवास्ता गरेको उनको भनाइ छ।

सुशीलासँग पैसा दिएको केही प्रमाणहरु छन्। मिनादेवीले दिएको ‘बाउन्स चेक’ छ। उनको ५५ लाखको कहानी भने डेढ लाखबाट शुरु भएको थियो। सुशीलाले शुरुमा मिनादेवीलाई डेढ लाख रुपैया दिएकी थिइन्। एक लाख रुपैयाँ मिनादेवीले फिर्ता गरिन्। ५० हजार फिर्ता नहुँदै अरु रकम दिइयो। ‘समस्या छ भनेर रोएर बसिखान नदिएपछि मैले पटक–पटक पैसा दिए,’ सुशीलाले भनिन्, ‘बिरामी भएर अस्पतालको बेडमा रहँदासम्म आमाछोरी आएर रोएपछि पैसा दिए। २/३ दिन र बढीमा एक महिनाको भाका राख्थे। पछि भागे।’

दाङ घोराहीका ईश्वरीप्रसाद पौडेल मिनादेवीका आफन्ती नै हुन्। मिनादेवी पौडेलकी छोरी रचनाकी सासु पर्छिन्। ५/१० लाख रुपैयाँ बेला–बेलामा दिने–लिने भइरहन्थ्यो । ‘छोरा विदेश पठाउन’ भनेर मिनादेवीले पौडेलसँग ३८ लाख रुपैया मागिन् । आफन्ती अनि तीन प्रतिशत ब्याज दिन्छु भनेकाले पौडेलले बैंकमा घर लोनमा राखेर पैसा झिकेर दिए । मिनादेवीले त्यही समस्या बताएर पौडेलकी छोरी रचनासँग १५ लाख र छोरा धिरजसँग २० लाख लगिन् ।

रचनाले श्रीमानलाई थाहै नदिई पैसा दिएकी थिइन् । पछि श्रीमानले थाहा पाएपछि खटपट भइरहेको छ । खटपट बढेर डिभोर्सको चरणमा पुगेको छ । ‘तीन वर्षदेखि रगतको आँशु रोइरहेकी छु,’ रचनाले भनिन् ।

छोरीको पीडा एकातिर छ, उता बुवाकै ठूलो रकम फसेको छ । ईश्वरीप्रसाद मिनादेवी काठमाडौंमा रहेको थाहा पाएपछि तीन पटक काठमाडौं पुगिसकेका छन् । जिप्रका बाँकेमा उजुरी दिएका छन् । अदालती प्रक्रिया अघि बढाएका छन् । ‘धेरै जनासँग पैसा लिएर ठग्ने धन्दा नै चलाएका रहेछन्, हामीलाई थाहा थिएन, ईश्वरीप्रसादले भने ।

मिनादेवीको ठगी काण्ड यतिमै सीमित छैन । घर लोनमा राखेर पैसा दिएको मात्रै होइन, घर नै पास गरिदिएका पीडितहरु भेटिएका छन् ।
नेपालगञ्जकी गीता पौडेल मिनादेवीको भुलभुलाइयामा यसरी फसिन् कि आफू बसेको चार कोठे घर नै पास गरेर दिइन् । ‘शुरुमा थोरै–थोरै आदान प्रदान भए । पछि दिने काम भयो, फिर्ता लिने काम रोकिदै गयो, गीताले भनिन्, मेरो, आमा र बुवाको गरेर उसले एक करोड खाएकी छे ।’ घर मेरो नाम पास गरिदेउ, म बैंकमा राखेर पैसा निकाल्छु र तिम्रो पैसा तिरिदिन्छु भनेर मिनादेवीले गीताको घर आफ्नो नाममा पास गराएकी थिइन् ।

ठगी भएको कागजात देखाउँदै महिला। तस्बिर: देशसञ्चार

गणेशपुरकै लक्ष्मी कार्कीले छिमेकीलाई अप्ठेरो पर्‍यो भनेर घर बैंकमा राखेर मिनादेवीलाई ६३ लाख रुपैया दिइन् । मिनादेवीकी छोरी शर्मिलाले पछि रोइकराई गरेर साढे आठ लाख रुपैया लगिन् । मिनादेवीसँगै हिड्ने भारतीय नागरिक रञ्जन टण्डनले साढे पाँच लाख रुपैया ब्याजमा लिए । लक्ष्मीसँग पैसा दिएको प्रमाणसमेत छैन । कागज त गर्नुपर्‍यो भन्दा मिनादेवीले ‘कागजले पैसा आउने हो र बैनी’ भनेर कागज नै नगराएको लक्ष्मीले बताइन् ।

मिनादेवीले नेपालगञ्ज–१०, आदर्शनगरकी सुमन श्रेष्ठसँग ४० लाख, नेपालगञ्ज–१० कैं गंगा श्रेष्ठसँग तीन लाख, गोसाईगाउँकी उर्मिला श्रेष्ठसँग १५ लाख लिएको पीडितहरुले बताए । ‘पैसा माग्दा मिनादेवीले सबैसँग छोरा प्रशान्तसिंह सिजापतिलाई विदेश पठाउन’ भनेकी थिइन् ।

मिनादेवी नेपालगञ्जबाट भागेपछि र प्रहरीमा उजुरी गर्दा कुनै सुनुवाई नगरेपछि एक दर्जन पीडितहरु पत्रकार खोज्दै आएका हुन् । उनीहरुका अनुसार, यस्ता पीडित अझै धेरै छन् । मिनादेवीले एक दशकदेखि नै यस्तो ठगी धन्दा चलाएको पाइएको छ । ‘श्रीमानलाई थाहा नदिई’ मिनादेवीलाई ब्याजमा पैसा दिने धेरै महिला भेटिएका हुन् । जसको अहिले घरपरिवारमा सम्बन्ध बिग्रिरहेको छ । पैसा लिदा मिनादेवीले श्रीमानलाई थाहा नदिए अनुरोध गर्ने गरेकी थिइन् ।

पहिला दिएको पैसा फिर्ता नहुँदै थप रकम किन दिएको त भन्ने प्रश्नमा रचनाले भनिन्, कसैलाई नभन्नु काम बन्न अलिकति पैसा पुगेको छैन । यति रकम दिनुस्, काम बन्ने बित्तिकै आफ्नो पुरै रकम लिनुस् भनेर मिनादेवीले थप रकम माग्ने गर्थिन् ।’ मिनादेवीले यो कुरा सबैसँग भन्ने गरेको पाइएको छ । ‘धेरै रकम फसिसकेको छ । थप अलिकति दिंदा सबै उठ्छ भने भनेर थप रकम दिइयो, झन् ठगीमा परियो, सुशीलाले भनिन् । ठगीकी आरोपी मिनादेवीसँग सम्पर्क गर्ने प्रयास सफल भएन।

 

चैत २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्