पोखरा विश्‍वविद्यालयमा अनेरास्ववियू विजयी

पोखरा- पोखरा विश्वविद्यालयको स्थापनाको २१ वर्ष पछि विश्वविद्यालयले स्ववियू नेता पाएको छ। बुधबार सम्पन्‍न चुनावको मतपरिणामबाट अनेरास्ववियूको सुनिल तिमिल्सिना अध्यक्षमा निर्वाचित भएका हुन्।

उनले निकटतम प्रतिद्धन्दी नेविसंघका डिफान भुजेललाई २२६ मतले पछि पार्दै विजयी भए।सुनिल तिमिल्सिना ८४५ मत प्राप्त गरे भने नेबिसंघ उम्मेदवार डिफान भुजेल ६१९ मत प्राप्त गरे। त्यसै गरी क्रान्तिकारी उम्मेदवार सुधन पन्त ४९, स्वतन्त्र अनेरास्ववियुको बागी कुसुमसिला भट्ट १४८, स्वतन्त्र नयाँ शक्ति सुभाष पौडेल ७५ प्राप्त गरे।

त्यसै गरी सचिबमा अनेरास्ववियुका सुरज परियार, कोषाध्यक्षमा प्रकृति दवाडी विजयी भए।नौ जना सदस्यमा ७ जना अनेरास्ववियुका र २ जना नेविसंघले जितेको छ। झण्डै २१ सय मतदाता रहेको विश्वविद्यालयमा १ हजार ७ सय ६९ जना विद्यार्थीले मतदानमा भाग लिएको निर्वाचन कमिटि संयोजक राजेश कुमार ठकुराठिले बताए।

सन् १९९७ मा स्थापित पोखरा विश्‍वविद्यालयमा तत्कालिन समयमा विश्वविद्यालयलाई राजनीतिक अखडा बनाउन नहुने भन्दै विद्यार्थी संगठनको चुनावलाई प्राथमिकता दिएको थिएन भने विद्यार्थीहरुमा पनि उत्ति क्रियाशिलता देखिएको थिएन।

पछिल्लो क्रममा भने विद्यार्थीहरु संगठित भई चुनावको माग गर्न थालेपछि र सबै दलका विद्यार्थी संगठित रुपमा चुनावको पक्षमा देखिएपछि विश्वविद्यालय प्रशासन पनि तयार भएको हो।

चैत २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्