के बलात्कारका समाचार मनोरञ्‍जनका खुराक हुन्?

तीनदिने यात्रामा थिएँ। शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभुमि लुम्बिनीबाट फर्कँदै थिएँ। हातमा मोबाइल थियो। एउटा म्यासेज आयो, स्याङ्जाको आँधीखोला गाउँपालिकामा आफ्नै सहोदर १७ वर्षीय काकाबाट १२ वर्षीय बालिकामाथि बलात्कार भएको छ।

यात्रामा साथीभाइसँग गीत गाउँदै रमाइलो गरिरहेकी मलाई त्यो म्यासेजले एकाएक मुडअफ बनायो। घटनाको बारेमा सत्यतथ्य बुझ्न सम्बन्धित र सरोकारवालाहरुलाई फोन गरें। जब बुझ्दै गएँ, झनै दुखित भएँ। आमाले नै घटनाको ढाकछोप गरेर बसेको सुन्दा म विह्वल भएँ। छोरीको यौनाङ्गबाट बगेको रगतलाई रजस्वला भएको भन्दै लुकाउन खोजेको कुराले निकै गाह्रो भयो मलाई।

फागुन ४ गते बालिकामाथि घटना भएको रहेछ। बालिकाको रक्तस्राव नरोकिएपछि फागुन ९ गते उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको रहेछ। डा. डेला सिंह जोशीले बालिकाको संवेदनशील अङ्गमा गहिरो चोट देखिएको बलात्कारको शिकार भएको बताएपछि अभिभावकमाथि केही दबाब पर्‍यो। बल्ल जिल्ला प्रहरी कार्यालय कास्कीमा फागुन ११ गते बालिकामाथि बलात्कार भएको उजुरी पर्‍यो। आरोपी काका भने फरार छन्।

घटनाको बारेमा केन्द्रीय बाल कल्याण समितिका बाल अधिकार स्रोत ब्यक्ति बद्री बाग्ले, कास्की प्रहरी प्रमुख अशोक सिंह र पीडित बालिकाका बुबासँग फोन वार्ता गर्दैगर्दा मोबाइलमा चार्ज सकियो, स्विचअफ भयो।

बसको झ्यालतिर थिएँ। आफ्नै गतिमा बगेको नदीसँगै मेरो मन बगिरह्यो। एक महिला हुनुको नाता, छोरीको आमा हुनुको नाता, एक सामाजिक प्राणी हुनुको नाता, हरेक कोणबाट घटनाले सताइरह्यो। पोलिरह्यो। छट्पटी कति भो कति।

एकछिन अघिसम्म खुब रमाइलोमा जुटेकी म एकाएक मौन बसेपछि एकजना साथीले सोध्नुभयो। ‘जमुनाजी, के भयो?’

घटनाको बारे सुनाएँ। उहाँको प्रतिक्रिया, ‘आजकाल कति बढेको हो है, बलात्कार।’

केही समयपहिले सामूहिक रुपमा १३ वर्षीय बालिका बलात्कारमा परेको घटनाले त्यत्तिकै विक्षिप्त बनायो। साथीभाइको जमघटमाझ राखेँ। ‘आजकाल दिनदिन आउँछन् यस्ता समाचार, अरु प्रसंगमा जाऊँ’ भनेर सहज प्रतिक्रिया पाएँ।’ फेरि झस्केँ। के यो सामान्य विषय थियो? यो घटनाले किन कसैलाई संवेदनशील बनाउँदैन?

मनभित्रको द्वन्द्वले सताइरह्यो। फेरि आँधिखोला घटनाबारे सोच्न थालें। आफ्नै अभिभावकबाट बालिका असुरक्षित हुँदै जानु कम्ता चिन्ताको विषय थिएन।

किन आमा छोरीमाथिको त्यत्रो अपराधविरुद्ध मौन बस्न बाध्य भइन्? आमा! यतिसम्म कठोर? कसरी सहन सकेकी होलिन् त्यो छोरी माथिको बर्बरता र मौन बसिन्? कसरी मान्यो उनको मन? आफ्नै आमालाई घटना सुनाएकी बालिका काकाबाट बलात्कारमा परिन्। आफ्नै आमाबाट पाउनुपर्ने साथ र न्याय पनि सही समयमा पाइनन्।

अन्तर्मनमा द्वन्द्वलाई केलाइरहँदा सोंचेँ। समाज र समाजले महिलामाथि गर्ने ब्यवहारले आमाको मौनता तोड्न सकेन।

छोरी एकचोटि बलात्कारमा परिन् तर बाँचुञ्जेल ऊमाथि हुने मानसिक र शाब्दिक बलात्कारले उत्पन्न अवस्थासँग सायद अामा नलड्दै हार स्विकार गरेर बसिन्। त्यसैले अठोट गरिन्, नचाहँदा नचाहँदै, यौनाङ्गबाट रक्तस्राव हुँदा छोरी रजस्वला भएको भन्दै घटना लुकाएर मौन बस्न।

यो समाजमा अझै पनि जो हिंसामा पर्‍यो, ऊ घरबाट निकालिन्छे र सडकमा आउँछे। पीडक घरमै सुरक्षित हुन्छ। यो समाज, जहाँ पुरुषलाई मर्द भनेको जेलनेल भोगेको हुनुपर्छ भनेर साहसीको भिल्ला भिराइदिन्छ र अपराध उन्मुख बनाइ दिन्छ। महिला भनेको सहनशील र चरित्रवान हुनुपर्छ, कहिँ दाग लागेको हुनुहुँदैन भनेर सेतो वस्त्रको रुपमा चित्रित गरिदिन्छ। त्यही सेतो वस्त्रमाथि जबरजस्ती रंग पोत्ने पुरुषलाई दोषी देख्दैन, फगत निर्दोष त्यो सेतो वस्त्रलाई दोषी देख्छ र सामाजिक रुपमा मिल्काउने धुनमा हुन्छ।

केही अघिसम्म जसले बलात्कार गर्‍यो, उसैसँग जबरजस्ती विवाह गराएर सामाजिक धर्म पूरा गरेको भन्दै रमाउँथे मान्छेहरु। आज केही फेरिएको छ। किताबी कानुनले अपराधीलाई दोषी देखेको छ, तर समाजको ब्यवहारिक कानुनले निर्दोष महिला र बालिका जोमाथि बलात्कार भएको छ, उसैलाई दोषी देख्छ।

बलात्कारको शिकार भएका महिला एवं बालिकाप्रति अझै पनि सकारात्मक दृष्टिले हेर्न सकेको पाइदैँन समाजले। पीडितको मानव अधिकारको पक्षमा आवाज उठाएर उसलाई न्याय दिलाएर मनोबल उच्च बनाउनेतर्फ किन सबैको एकमत हुँदैन? बलात्कारमा परेकी हो भनेर अगाडि सहानुभूति राख्ने र पछाडि त्यही बालिकालाई दोषी र घृणित नजरले हेर्ने परिपाटीको अन्त्य कहिले? महिला धरती हो , सहनशीला सुशिला हुनुपर्छ, ३२ गुणले सम्पन्न भएकी हुनुपर्छ भनेर खोज्ने समाजले फेरि एक निर्दोष महिला र बालिकामाथिको बर्बरता र दमनमाथि किन मौनता साधिरहन्छ?

के बलात्कारका समाचार मनोरञ्जनका खुराक हुन्? जुन पढेर आनन्द लिने ? होइन भने, दिनदिन बढ्दो बलात्कारका घटनाविरुद्ध किन पुरुष आवाजको ध्वनि चर्कन सक्दैन? आज मनोरञ्जनका खुराक जस्तै बनाएर पढेका बलात्कारका समाचार भोलि आफ्नै घरको ‘हेड लाइन’ बन्न सक्दैन भन्ने के ग्यारेन्टी छ? बलात्कार जस्तो जघन्य अपराधको विरुद्ध महिला मात्रै बोल्नु पर्ने हो र? के बलात्कार महिलाको मात्रै विषय हो?

दिनदिन बढ्दो बलात्कारले समाजलाई अपराध उन्मुख बनाइरहेको छ। तसर्थ यसको असर जो पीडित छ, उसलाई मात्रै पर्ने होइन। यो सामाजिक विषय हो। मानवअधिकारको विषय हो। मान्छेको सम्मानजनक बाँच्न पाउने अधिकार माथिको हस्तक्षेप बन्द गर्न अब आवाज उठाउँ। बलात्कारविरुद्ध एक जुट होऔँ। महिला एवम् बालिकाको सुरक्षित रुपमा हिँडडुल र बाँच्न पाउने अधिकारको ग्यारेन्टी गरौँ।

चैत २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्