२३ औँ सेकेण्डमै गोल, एथ्लेटिको मड्रिड विजयी

युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब एथ्लेटिको मड्रिड विजयी भएको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा एथ्लेटिकोले स्पोटिङ लिस्बोनलाई २–० ले हराएको हो ।

एथ्लेटिकोको जितमा कोके र एन्टोनी ग्रिजम्यानले गोल गरे । दुवै गोल पहिलो हाफमा नै भएको हो । खेल सुरु भएको २३ औँ सेकेण्डमै कोकेले गोल गर्दै एथ्लेटिकोलाई सुरुवाति अग्रता दिलाए ।

लिस्बोनको रक्षात्मक कमजोरीको फाइदा लिँदै डिएगो कोस्टाको पासमा कोकेले गोल गरेका हुन् । ४० औँ मिनेटमा ग्रिजम्यानले गोल गरेपछि पहिलो हाफमा टिमले २–० को अग्रता लियो । दोस्रो हाफमा कोस्टाले गोल गर्ने अवसर बनाएका थिए । तर सफल भने हुन सकेनन् ।

पहिलो हाफकै गोलले जित निकालेको एथ्लेटिको सेमिफाइनलमा पुग्ने बलियो संभावना बनाउन सफल भएको छ । बिहीबार राति नै भएका अरु खेलमा लाजिओले आरबी साल्जबर्गलाई ४–२ तथा आरबी लेइप्जिगले मार्सेइलीलाई १–० ले हराएको छ ।

चैत २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्