प्रधानमन्त्री ओलीलाई स्वागत गर्न राजनाथ पुगे एयरपोर्ट

इन्दिरागान्धी विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्दै भारतीय क्‍याबिनेटमा दोस्रो वरियताका गृहमन्त्री राजनाथ सिंह। तस्बिर-दीपा दाहाल/देश सञ्‍चार

नयाँ दिल्ली- प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन्।

इन्दिरागान्धी विमानस्थलमा कडा सुरक्षा व्‍यवस्थाबीच प्रधानमन्त्री ओलीलाई भारतीय क्‍याबिनेटमा दोस्रो वरियताका गृहमन्त्री सिंहले स्वागत गरेका हुन्।

साथै प्रधानमन्त्री ओलीको स्वागतमा गृहमन्त्री सिंहसँग, अर्थराज्यमन्त्री शिवप्रताप शुक्ल, विदेश मन्त्रालयका अधिकारीहरु विमानस्थल पुगेका थिए।

साथै भीभीआइपी कक्षमा भारतीय कर्मचारीले स्वागतका क्रममा प्रधानमन्त्री ओलीको हात समतेका थिए।

भारतमा प्रधानमन्त्री ओली के के गर्दैछन् ?

शनिबार बिहान प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले स्वागत गरेपछि भारत सरकारले गार्ड अफ अनर दिने छ उनलाई। र, उनले महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुगेर पुष्पगुच्छा चढाएपछि मात्रै औपचारिक वार्ता सुरु गर्ने छन्।

भारतीय प्रधानमन्त्री मोदीद्वारा दिइने दिवाभोजपछि पनि प्रधानमन्त्री ओलीले मोदीसँग भेट वार्ता गर्ने छन्।

त्यसक्रममा वीरगञ्जको अलौस्थित संयुक्त भन्सार जाँचचौकी (आइसीपी) को उद्घान र ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको ओली र मोदीले संयुक्त रुपमा स्वीच अन गर्ने कार्यक्रम तय भएको छ।

त्यसपछि फेरि प्रधानमन्त्री ओली र भारतीय  प्रधामन्त्रीमोदीबीच छलफल हुने छ। त्यो छलफल नेपाल र भारतबीच यसअघि भएको सम्झौताहरु कार्यान्वयन र सम्बन्धलाई नयाँ ढंगबाट कसरी लैजाने भन्नेमा केन्द्रित हुने छ। उक्त छलफलपछि भारतीय पक्षले नेपाललाई कुनै सहयोगको घोषणा गर्नसक्ने सम्भावना छ।

त्यसलगत्तै प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्रीले दिवाभोज दिने छन्। दिवाभोजपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति बैंकया नायडुलाई क्रमश: भेट गर्नेछन्।

त्यसपछि प्रधानमन्त्री ओलीलाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजलगायत मोदी मन्त्रीमण्डलका सदस्यले भेट गर्ने छन्।

प्रधानमन्त्री ओलीले भारत आउनुपहिले संसदमा विगतका प्रतिवद्धता र सम्झौता छिटो कार्यान्वयमा भ्रमण केन्द्रित हुने बताएका थिए।

तस्बिरहरु-दीपा दाहाल/देश सञ्‍चार

चैत २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्