सुन कान्डमा आइजी अर्यालको रहस्यमय मौनता

काठमाडौं-  साढे ३३ केजी सुन बेपत्ता र भरियाको हत्या कान्डमा प्रहरीकाे भूमिका श‌ंकास्पद रहेको दाबी गर्दै गृह मन्त्रालयले महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीलाई हेडक्वाटर तान्न प्रहरी प्रधान कार्यालयलाई दिएको निर्देशन २४ घन्टा बित्दा पनि कार्यान्वयन भएको छैन।

घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिव ईश्वरचन्द्र पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले बिहीबार प्रहरी प्रधान कार्यालयलाई अप्रेसनमा गएका डीएसपी प्रजित केसी र नायब निरिक्षक बालकृष्ण सन्जेलसहित महाशाखा प्रमुख लोहनीलाई हेडक्वाटर तानी छानबिनलाई सहज बनाउन निर्देशन  दिएको थियो।

तर, शुक्रबार साँझसम्म हेडक्वाटरबाट महाशाखामा त्यस्तो कुनै पत्राचार नभएको स्रोतले जनाएको छ। डीएसपी शुक्रबार केही बेर अफिस आएपनि एसएसपी लोहनी र सई सन्जेल भने नआएको जनाइएको छ।

लोहनीले आफू व्यक्तिगत काममा रहेको अफिसमा जानकारी गराएका थिए। लोहनीले आफूले आइजी प्रकाश अर्याललाई घटनाबारे सेकेन्ड सेकेन्डको अपडेट गराएर अप्रेसनमा गएको आफू निकटसँग बताउँने गरेका छन्।

महाशाखाको टोलीले केही साताअघि विराटनगरमा हत्या गरिएका सुन तस्करीका भरिया सनम शाक्यलाई डिकीमा हालेर लैजाँदै गरेको अवस्थामा फेला पारेको थियो। तस्करी गरिएको साढे ३३ केजी सुन बेपत्ता भएपछि तस्करले शाक्यको हत्या गरेको महाशाखाको प्रारम्भिक रिपोर्ट थियो। तर,  शाक्यको हत्या भएपछि लास आफुले ब्यवस्थापन गरिदिने आश्वासनमा प्रहरीले मुख्य तस्करलाई भगाएको आरोप महाशाखाका प्रहरी अधिकारीमाथि लागेको छ।

‘हामी किन,  के प्रयोजनका लागि  विराटनगर जाँदैं छौं भन्ने सम्पूर्ण जानकारी अाईजी सापलाई थियो। हामीले अप्रेसनको योजना बनाएदेखि नै आइजीसापलाई जानकारी गराएका थियौं। यदि मेरो नियतमा खोट छ र प्रमाणित हुन्छ भने म जस्तो सुकै सजायका लागि पनि तयार छु। किनभने मेरो टिमले मैले परिचालन गरेको हो’, लोहनीले आफू निकटका प्रहरी अधिकारीसँग भन्ने गरेका छन्। यता तत्कालै मन्त्रालयबाट  लोहनीलाई फिर्ता बोलाउन निर्देशन हुने विषय अपेक्षा नै नगरेको हेडक्वाटर स्रोतले बतायो।

‘आईजी सापसँग छलफल भएर मात्र निर्णय होला भन्ने लागेको थियो। तर हचुवाका भरमा एक्कासी पत्र प्राप्त भयो। अब बल आईजी  सापको कोर्टमा छ। लोहनी संगठनका ब्यावसायिक प्रहरी अधिकृत भएकाले आईजी सापले के निर्णय गर्छन्, त्यो अब हेर्न बाँकी छ’, प्रहरी प्रधान कार्यालयका एक एसएसपीले भनेँ। आईजी अर्यालले चैत २८ गते अनिवार्य अवकाश पाउँदै छन्। लोहनी महाशाखा प्रमुख भएर आएको महिना दिन पनि बित्न नपाउँदै महाशाखाले ठमेलबाट ८८ केजी अबैध सुन बरामद गरेको थियो।

चैत २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्